भक्तपुरमा घट्यो तरकारी उत्पादन
बढ्दो सहरीकरण, दक्ष जनशत्तिाmको अभाव, खेतीयोग्य जमिनमा जथाभावी प्लटिङ आदिका कारणले तरकारी उत्पादनमा कमी
भक्तपुर : खेतीका लागि उर्वर भूमि मानिने भक्तपुरमा तरकारी उत्पादन घटेको छ। बढ्दो सहरीकरण, दक्ष जनशक्तिको कमी, खेतीयोग्य जमिनमा जथाभावी प्लटिङ आदिका कारणले तरकारी उत्पादनमा कमी आएको हो। किसानहरू तरकारी खेतीमा जाँगर घटेको बताउँछन्। तरकारीको उत्पादन नै कम हुनु, बजारको समस्या, भण्डारणको अभावले किसानहरू तरकारी खेतीमा उत्साहित नभएका हुन्।
भक्तपुरमा विशेषगरी बन्दागोभी, गोलभेँडा, साग, फर्सी तथा मुला, गाँजर, काँक्रो, प्याज, लसुन, च्याउ, लौका, सिमी आदि उत्पादन हुने गर्छ। भक्तपुर इताछेंका ४७ वर्षीय कृषक पुण्यराम श्रेष्ठ ‘देशेमरु’ युवा विदेश पलायनका कारण कृषि उत्पादन घटेको बताउँछन्। उनले काम गर्ने जनशक्ति विदेश पलाउन भएपछि तरकारीको उत्पादनमा ह्रास आएको बताए।
तरकारी खेतीमै २६ वर्ष बिताएका देशेमरु भन्छन्, ‘किरा र रोगले सताउनेजस्ता कारणले हामीले उत्पादन गर्ने तरकारीको परिमाण घटेको छ। विगतमा तरकारी खेती गरेरै जीविकोपार्जन हुने भए पनि अहिले आम्दानी घटेको छ।’ वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने
उनको अनुभव छ। उनले काउलीको डाँठमा ‘गाँठो’ परेको उदाहरण दिँदै अन्य तरकारीमा पनि यस्तै समस्या रहेको बताए। उनले गोलभेँडा खेती र मल बनाउने तीनदिने तालिम लिएको सुनाए। भक्तपुरमा उत्पादन हुने तरकारीका लागि राम्रो भाउ पाउन चुनौती छ। तरकारीमा हाल्ने मल चाहिने बेलामा पाइँदैन। ‘१० किलो मल पाउन मध्यरातदेखि लाइन बस्नुपर्छ, कहिलेकाहीँ राति १ बजेदेखि लाइन बस्दा पनि मल पाइँदैन,’ उनले भने, ‘स्थानीय र केन्द्रीय सरकार मिलेर मल कारखाना खोल्नुपर्छ र उत्पादनलाई बजारको व्यवस्था गरिदिनुपर्छ।’ वास्तविक किसानलाई परिचयपत्र वितरण गरेर सहुलियत दिनुपर्ने उनको भनाइ छ।
तपलाछीका जयराम खर्बुजा तरकारीको उचित भण्डारण नहुदाँ यस पेसाप्रति कृषकको आकर्षण घटेको बताउँछन्। कृषिमा विगत १० वर्षदेखि लागेका खर्बुजा भन्छन्, ‘तरकारी बेचेरै घर खर्च टर्छ र बिक्री बढी भए बचत पनि हुन्छ।’
दूधपाटीकी बुद्धलक्ष्मी ज्याखोले तरकारी खेती गर्न थालेको १५ वर्ष भयो। उनको अनुभवमा पहिले भन्दा अहिले तरकारी कम मात्रामा उत्पादन हुन्छ। ‘तरकारीमा मल अभाव वा आवश्यकताअनुसार पानीको आपूर्ति भएन भने उत्पादन कम हुन्छ,’ उनले भनिन् ‘वर्षामा पानी बढी हुनु, हिउँदमा अभाव हुनु, किरा लाग्नु आदि समस्याले बाली नास हुने गरेको छ। उनले तरकारीले राम्रो बजार पाए वार्षिक ५० हजार रुपैयाँसम्म बचत हुने बताइन्। व्यापारीले बढी नाफा खाँदा किसानले दुःख गरेअनुसार मूल्य नपाउने उनको तर्क छ। स्थानीय तरकारीले आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेको उनको अनुभव छ। ‘इन्डियन तरकारी हेर्दैमा राम्रो हुन्छ र हाम्रो तरकारीले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भनिन्, ‘हामीले उत्पादन गरेको तरकारी बजारसम्म पुग्नै पनि समस्या छ,।’
भक्तपुर नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर सुवालका अनुसार भक्तपुर नगरभित्र कृषि योग्य जमिन धेरै बाँकी छैन। चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर नगरपालिकामा मात्र कृषि योग्य जमिन बाँकी रहेको उनले बताए।
‘भक्तपुरमा अहिले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर व्यावसायिक तरकारी खेती, अफ सिजन र टनेल तरकारी खेतीले पहिलेको तुलनामा
अहिले बढेको पनि देखिन्छ,’ उनले भने, ‘गोलभेँडा खेती र च्याऊ खेतीमा राम्रो उत्पादन भइरहेका छन्।’ प्रत्येक वर्ष नगरपालिकाले बिउ वितरण गर्नुका साथै कृषकलाई आवश्यक तालिमको व्यवस्था गर्दै आएको उनले जनाए। (प्रतिक्षार्थी )