दुई दिने कार्यक्रम तीन घण्टामै सकियो
रामेछाप : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको दुई दिने कार्यक्रम ३ घण्टामा सकेको पाइएको छ।
जिल्ला समन्वय समिति रामेछापको सभाहलमा आयोजना गरिएको स्थानीय तहहरूको बेरुजु व्यवस्थापन सम्बन्धी २ दिने क्षमता अभिवृद्धि कार्यक्रम तीन घण्टामा नै समापन गरिएको एक सहभागीले जानकारी दिए।
रामेछाप जिल्लाका आठ वटा स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत, लेका अधिकृत, बेरुजु फर्छ्योट सम्बन्धी काम गर्ने कर्मचारी, जिल्ला समन्वय प्रमुख र उपप्रमुख लगायत झन्डै ३५ जना सहभागी रहेको उक्त कार्यक्रम बिहान १०: १५ बाट सुरु भएर १ बजे समापन गरिएको थियो।
तर सहभागीलाई दुवै दिनको हाजिर गराइएको थियो भने २ हजार पाँच सयको दरले दुई दिनको भत्ता समेत दिइएको थियो। यस बारेमा आयोजक संस्थाका प्रतिनिधि समेत रहेका दिनेश लम्साल संघ बुझ्दा कार्यक्रम एक दिनको मात्र भएको र एक दिनको मात्र हाजिर गराइएको बताए।
बिहीबार पोषण सम्बन्धी कार्यक्रम र शुक्रबार बेरुजु व्यवस्थापन सम्बन्धि कार्यक्रम दुई दिन चलेको भए पनि सहभागीले तीन दिनको भत्ता बुझेका छन्।
एक सहभागीले भने, 'मैले आज दुई दिनको भत्ता बुझेको हुँ। तर मन्त्रालयका प्रतिनिधि लम्सालले यस्तो प्रतिक्रिया दिँदै गर्दा सहभागीहरू भने दुई दिनको कार्यक्रम भनेर बोलाएर तीन घण्टामा सक्नुको कुनै अर्थ नरहेको र पालिकादेखि आउँदा इन्धनको मात्र खर्च भएको बताउँछन्।
सहभागीलाई दुई दिनको कार्यक्रम भन्दै सहभागी गराएको आयोजकले दुई दिनको भत्ता समेत दिएको छ भने कार्यक्रमको ब्यानरमा भने केही खुलाएको छैन।