अर्थात् देवलोक
विश्व सम्पदा सूचीको प्रतीक्षा सूचीको ‘क’ नम्बरमा नारायण नगरपालिका– ६ भुर्तीका २२ देवल छन्। जसलाई सन् २००८ मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा राखिएको थियो। पञ्चदेवल, ज्वाला देवलसहित तीन प्रकृतिका देवल दैलेख क्षेत्रमा छन्। नारायण नगरको भुर्तीको २२ देवलको सय मिटर तल, जाहरकोट, किमुगाउँ, कुइकानालगायतका स्थानमा देवल छन्। दुल्लु नगरको पटांगिनी, लम्सु, दह, भुकाहाँलगायतका गाउँमा देवल छन्। भैरवी गाउँपालिकाको रावतकोट, गैरागाउँ, छड्ने, लम्जीसहितको क्षेत्रमा ऐतिहासिक देवल छन्। जिल्लाको ११ मध्ये अधिकांश स्थानीय तहमा देवलहरू अस्तित्वमा छन्।
देवलहरू कसले, कहिले, कसरी र कुन प्रयोजनका लागि निर्माण गरेको हो भन्नेबारे खोज, अध्ययन, अनुसन्धान हुन बाँकी छ। कतै देवलै देवल भएर दैलेख भएको हो कि ? देवलोक देवल भएको हो कि भन्ने पनि छ। पाण्डव वनबास गएको बेला निर्माण गरिएको हो भन्ने किंवदन्ती सुन्न पाइन्छ। देवलहरूमा लिपि भेटिँदैन। लिपिको रूपमा देवलमा लिखित छैन तर देवलहरूमा अध्ययन गर्दै जाँदा देवलभित्र छिरेर हेर्दै जाँदा माथि चक्रजस्तो देखिन्छ। केही देवलमा गणेशको आकृति देखिन्छ। गणेश आकृति देखिएकाले हिन्दू धर्मसँग देवलको कुनै न कुनै सम्बन्ध छ भन्ने देखिन्छ। यो सबै प्राचीनकालको वास्तुकला हो। वास्तुकलाको नमुनाको रूपमा देवलहरू छन्।
देवलहरूको गहन अध्ययन, अनुसन्धान हुन बाँकी छ। यस्ता देवलहरू कालीकोट, अछाम, डोटीमा पनि छन्। समग्रमा देवलोक, देवल र दैलेखको विषयमा अध्ययन गर्न आवश्यक छ। कुमाउ गडुवालदेखि पहाडी भाग डोटीसम्म देवलहरू भेटिन्छन्। हिजो डोटी, सिंजा, दुल्लु, बेलासपुर राज्य हुँदादेखि नै देवलहरूको विषयमा सबैको चासो पुगेको हो। सबैले फोटो खिच्न भ्याएको तर ठोस अध्ययन हुन सकेको छैन। पुरातात्विक र वस्तुकलाको रूपमा यसको अध्ययन गरिनु आवश्यक छ। पुरातत्त्व विभागले यसतर्फ विशेष ध्यान दिनुपर्छ।
स्थानीय तहहरूले देवलहरूको संरक्षणका लागि विशेष योजना बनाउनु पर्छ। अर्कोतर्फ अधिकांश देवलहरू व्यक्ति जग्गा छन्। जग्गा नापनक्सा हुँदा सार्वजनिक सम्पदाहरूलाई सरकारी तहमा राखिनु पथ्र्यो। लोभले गर्दा प्राचीन स्मारकहरू व्यक्तिको नामको जग्गामा परेका छन्। देवल रहेको जग्गालाई सरकारी तहमा लिन सरकारको ध्यान केन्द्रित हुनुपर्छ।
- लेखक घनश्याम भण्डारी दुल्लु नगरको पूर्वप्रमुख तथा हाल कर्णाली प्रदेश सांसद हुन्।