सम्पदा

देवल जिल्ला

सम्पदा

देवल जिल्ला

नेपालमा सबैभन्दा बढी कलात्मक देवल दैलेखमै छन्। एकै स्थानमा एकदेखि २२ वटासम्म देवल छन्। एकै ठाउँमा २२ वटा देवल रहेको ठाउँ हो, भुर्ती गाउँ।

सदरमुकाम नजिकै सुन्दर गाउँ छ। दैलेखको यो गाउँ भुर्ती नामले परिचित छ। नारायण नगरपालिका– ६ मा पर्ने यो गाउँ भुर्तेल थरको आदिभूमि हो। भुर्तेल थर भएकाहरू यही गाउँमा बसोबास गर्थे। अधिकांश यहाँबाट बसाइँ सरेर अन्यत्र गइसकेका छन्। केहीको बसोबास यही गाउँमा छ। यो गाउँलाई भुर्तेल थरको आदिभूमि भनिँदै आएको छ। यही गाउँ छिचालेको कच्ची सडक, सडकसँगै छ, ऐतिहासिक देवल। कलात्मक देवलमा विभिन्न किसिमका तस्बिर र आकृति कुँदिएका छन्। यसलाई पञ्चदेवल नामले परिचित छ।

भुर्ती गाउँमा छुट्टाछुट्टै दुई स्थानमा साना तथा ठूला २७ देवल छन्। अहिले एक ठाउँमा २२ र अर्को स्थानमा पाँच देवल देख्न सकिन्छ। शिखर शैलीमा निर्माण भएका देवल ६ देखि १५ फिटसम्म अग्ला छन्। यी देवल पाण्डवले निर्माण गरेको हुन सक्ने जनविश्वास छ। भुर्तीका पदमप्रसाद भट्टराई ढुंगाबाट कलात्मक आकृति कुँदेर देवलहरू बनाइएको बताउँछन्। धेरैजसो देवलका ढोकामाथिको स–साना गणेश मूर्ति कुँदिएकाले धार्मिक र पुरातात्विक महत्त्व रहेको छ। देवलहरूको संरक्षण नहुँदा अस्तित्व मेटिनेमा उनी चिन्तित छन्। ‘ऐतिहासिक देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्, भुर्र्तीको तीनवटा देवल लोप भइसके, कतिपय देवलको शीर्षभाग निकालेर स्थानीयले घरमा लगे’, उनी भन्छन्।

भुर्ती गाउँको २२ वटा देवललाई सन् २००८ जनवरी ३० मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा राखिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत गर्न ‘क’ वर्गमा प्रस्ताव गरेको डेढ दशक पुगिसकेको छ। तीनै तहका सरकारको सम्पदालाई हेर्न दृष्टिकोण र पुरातत्त्व विभागको बेवास्ताका कारण देवल संरक्षणमा ठोस काम हुन सकेको छैन। देशको महत्त्वपूर्ण र पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेका यी देवल बेवारिसेजस्तै बनेका छन्। देवलको मूलगेट नै लथालिंग छ। सुरक्षित तारबार छैन। वर्षायाममा देवल क्षेत्र झारपातले झाँगिएको हुन्छ। देवलमा मदिराका बोतलसमेत भेटिन्छन्। देवल क्षेत्रमा स्थानीयका लागि गाईबस्तु चराउने थलो बनेको छ। जानेबुझेकै कतिपय व्यक्तिहरू मनलाग्दी देवलको शीर्षभाग चढ्नसमेत भ्याउँछन्। यो गतिविधिले यहाँ पुग्ने आन्तरिक पर्यटक मन खिन्न बनाएर फर्किन्छन्।

अधिकांश देवलको शीर्षभागमा राखिएका चक्राकार शिलापट्ट र शिलाहरू लोप भइसकेका छन्। देवलमा लगाइएका कलात्मक ढुंगाहरू खस्दै गएका छन्। त्यहाँ पुरातत्त्व विभागको सूचना लेखिएको एउटा बोर्ड छ। बोर्ड खुइलिएको छ। स्थानीय सरकार भने संरक्षण पर्खिइरहेको देवललाई टुलुटुलु हेरिबसेको छ। स्थानीयलाई ऐतिहासिक सम्पदाको मूल्य नभएको आभास हुन्छ, जसलाई थाहा छ र जसको जिम्मेवारी पनि हो, ऊ (सरकार) भने अन्देखा बनेर बसेको छ। संरक्षणको दायित्व बोकेको स्थानयी सरकारलाई बहाना बनाउनै ठिक्क छ। नारायण नगरपालिका– ६ का वडाध्यक्ष जनकप्रसाद न्यौपाने पञ्चदेवल क्षेत्रमा पार्क बनाउने योजना बनाएको बताउँछन्। ‘२२ देवल भएको स्थानमा पार्क बनाउने योजना छ, पाँचवटा देवल भएको क्षेत्र व्यक्तिको जग्गामा छ, उक्त जग्गा अधिग्रहण गरेर संरक्षणको काम गर्छौं’, उनी भन्छन्। व्यक्तिको जग्गामा भएको देवल क्षेत्र र अन्य देवललाई पुरातत्त्व विभागको समन्वयमा संरक्षणसँगै विकास गरिने वडाध्यक्षको भनाइ छ।

पञ्चदेवल संरक्षणका लागि भन्दै तीन वर्षअघि कर्णाली प्रदेश सरकारले झन्डै २३ लाख बजेट खर्चियो। डिभिजन वन कार्यालयमार्फत पञ्चदेवल संरक्षणका लागि २२ लाख रुपैयाँ खर्च भएको थियो। उक्त रकमले देवलको सडकपट्टिको भागमा पक्की पर्खालसहित घेराबारा गरिएको थियो। तथ्यांकले भुर्ती गाउँको २७ सहित नारायण नगरभित्र ५३ देवल भएको बताउँछ। कुइकानामा ६, जाहरकोटमा दुई, देवलकाँडामा ६, किमुगाउँमा १०, तर्ताङ र विन्ध्यवासिनी गाउँमा एक÷एक गरी ५३ वटा देवल नगरभित्र छन्। ती देवल लथालिंग र बेवारिसे छन्।

मेयर लोमन शर्मा देवल संरक्षणका लागि पुरातत्त्व विभाग र पर्यटन मन्त्रालयसँग बजेटको माग गरेको बताउँछन्। ‘देवललाई संरक्षण र विकास गर्ने, व्यक्तिको जग्गामा भएको देवललाई जग्गा अधिग्रहण गरेर थप संरक्षणका काम गर्छौं’, उनले भने। यस वर्ष पञ्चदेवलसम्म पुग्ने सडक स्तरोन्नति गरिने उनको भनाइ छ। दुल्लु नगरपालिका–१२ दह गाउँमा रहेका देवल पनि बेवारिसे छ। यी देवलको संरक्षणमा पनि कसैले चासो दिएका छैनन्। दुल्लु नगरमा पुरातात्विक महत्त्वका स्तम्भ तथा वीरखम्बाबाहेक १२ देवल छन्। दुल्लुका मेयर भरतप्रसाद रिजाल नगर क्षेत्रका देवल, मठ–मन्दिर, स्तम्भ तथा वीरखम्बाहरू विवरण राखिएको बताउँछन्। पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण प्रवद्र्धन र विकासमा निरन्तर प्रयास गरिरहेको दाबी उनको छ।

नुवाकोट पश्चिम र कुमाउ–गढवालसम्म देवल

नेपालमा सबैभन्दा बढी कलात्मक देवल दैलेखमै छन्। एकै स्थानमा एकदेखि २२ वटासम्म देवल छन्। एकै ठाउँमा २२ वटा देवल रहेको ठाउँ हो, भुर्ती गाउँ। नुवाकोटदेखि पश्चिम र उत्तर भारतको कुमाउ–गढवालदेखि पूर्वको भू–भागमा मात्र देवल पाइन्छ। त्यसमा पनि सबैभन्दा बढी र कलात्मक देवल दैलेखमै छन्। सिन्जा साम्राज्यको स्थापना, विकास र अन्त्यसँगै दैलेखमा देवलहरू निर्माण गरिएको मान्यता पनि छ।

देवलहरूमा बौद्ध र हिन्दू धर्मलाई समान रूपमा लिइएको छ। जसले धार्मिक सहिष्णुता झल्काएको छ। देवलको ऐतिहासिक तथ्य र विवरण भेटिँदैन। यो देवल कसले, कसरी र कहिले बनाएको भन्नेबारे स्पष्ट अभिलेख भेटिँदैन। दैलेखका दर्जनौं स्थानमा सयौंको संख्यामा देवल भेटिनु र पश्चिम नेपालका अन्य जिल्लामा समेत महाभारतकालीन स्मारक भएको जनश्रुति हुनुलाई यस क्षेत्र प्राचीन समयमा मानव सभ्यता विकासको ‘मिओ’ भएको दाबी गर्न सकिने आधार पर्याप्त छन्। देवलहरू कही एकल रूपमा, कही मण्डप जोडेर जोडा देवलको रूपमा त कहीँ समूह रूपमा छन्।

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुंगाहरूबाट निर्माण गरिएका छन्। एकल तथा सामूहिक संख्यामा रहेका अग्ला मन्दिर आकारका देवल ऐतिहासिक सभ्यतालाई दर्शाउने अवशेष हुन्। सबै देवल कडा प्रकारको कालो ढुंगाद्वारा शिखरशैलीमा समान प्रकारले निर्माण गरिएका छन्। देवल निर्माणमा प्रयोग भएका ढुंगाको बाहिरी भाग विभिन्न कलात्मक आकारमा कुँदिएका छन्। सबै देवलहरू गाह्रो अथवा कुनै पनि रसायनको प्रयोग गरिएको पाइँदैन। दैलेखका देवलहरू सबै स्थानमा समान संख्यामा निर्माण नभए पनि आकारप्रकार वा शैली भने सबै ठाउँमा समान छन्।

दैलेखको आफ्नै पहिचान छ। पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट ‘दधिलेक’ नाम रहन गएको र पछि अपभ्रंस हुँदै दधिलेकबाट दैलेख नाम रहन गएको किंवदन्ती छ।

इतिहासविद् डा. श्रीहरि थापाले सामग्री विशेषमा कुँदिएका कलाहरू सबैभन्दा महत्त्वपूर्ण हुने बताउँछन्। दैलेखका प्रस्तरमा कुदिएका कलाकृतिहरू एउटा समयको सम्भ्रान्त कलाकृतिको नमुना प्रस्तुत गरेको उनको भनाइ छ।

बेवारिसे छन् दैलेखका देवल

स्थानीय बासिन्दा र जानकारहरूबाट संकलन गरिएको तथ्यांकअनुसार दैलेख जिल्लाभर एक सय चारवटा देवल छन्। इलाका प्रशासन कार्यालय दुल्लुले वेभसाइटमा राखेको छ, दैलेखमा रहेका सम्पदाहरूको सूचीमा जिल्लाभर देवलको संख्या १ सय १० वटा रहेको उल्लेख छ। दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं. १ मा ७४ र क्षेत्र नं. २ मा ३६ देवल रहेको उक्त सूचीमा छ। विगतमा योभन्दा पनि बढी देवल थिए। उचित संरक्षणको अभावमा देवलको संख्या नासिँदै र मासिँदै गएको जानकार बताउँछन्।

नेपालभर सबैभन्दा धेरै ऐतिहासिक देवल दैलेखमै रहे पनि संरक्षण अभावमा जीर्ण बन्दै गएका छन्। देवल संरक्षण र विकासमा चासो नदिँदा अलपत्र बनेका हुन्। भैरवी गाउँपालिका–३ लम्जी गाउँका डिल्लीप्रसाद अधिकारी पनि देवल संरक्षणमा कसैले चासो नदिएको बताउँछन्। ‘तत्कालीन समयमा क्षेत्रीय संग्रहालय र पटकपटक पुरातत्त्व विभागबाट आएको टोलीसँग देवल संरक्षण र प्रवद्र्धनका लागि पहल गरिदिन आग्रह गरे पनि सुनुवाइ नै भएको छैन’, उनी भन्छन्।

नारायण नगरपालिका– २ जाहरकोटका पुष्करप्रसाद शर्मा अधिकांश देवल व्यक्तिको जग्गामा रहेको बताउँछन्। ‘व्यक्तिको जग्गामा भएर हो या अन्य कारणले सरकारले संरक्षणमा चासो दिएको छैन’, उनी थप्छन्, ‘गहन खोज अध्ययन तथा अनुसन्धान नहुँदा सम्पदाको इतिहास नामेट हुने खतरा त्यत्तिकै छ। हजारौं वर्ष पुरानो 

इतिहासलाई संरक्षण र विकासमा अधिकार प्राप्त निकायहरूले बेवास्ता गरिरहेका छन्।’ पुर्खाले बचाएर राखेको अमूल्य सम्पदा बचाउन जरुरी रहेको शर्माको भनाइ छ।

दैलेखका देवल ऐतिहासिक रहे पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको दुल्लु नगरपालिकाका युवा नवीन योगी सुनाउँछन्। ऐतिहासिक देवल संरक्षणका लागि स्थानीय तहबाटै पहल गरिनुपर्ने उनको बुझाइ छ। ‘सयौं वर्षपहिले बनेका यी देवलको संरक्षण तथा प्रचारप्रसार नहुने हो भने नेपालमा रहेका यस्ता ऐतिहासिक क्षेत्रहरू हराउँदै जाने देखिन्छ’, थप्छन्, ‘यस्ता ऐतिहासिक, तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र विकासका लागि राज्यले समयमै सोच्नुपर्छ।’

देवताहरूको निवासस्थान दैलेख

दैलेखलाई देवलहरूको स्थल भनेरसमेत चिनिन्छ। देवलहरूको स्थल भनेर चिनिने दैलेखमा विभिन्न स्थानमा देवल छरिएर रहेका छन्। दैलेखको आफ्नै पहिचान छ। पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट ‘दधिलेक’ नाम रहन गएको र पछि अपभ्रंस हुँदै दधिलेकबाट दैलेख नाम रहन गएको किंवदन्ती छ। यो क्षेत्र देवताहरूको निवासस्थान भएकाले यसलाई देवलोक भनिन्थो।

पछि अपभ्रंस हुँदै दैलेख नामकरण हुन गएको भन्नेहरू पनि उल्लेख्य छन्। जिल्लाको नाम रहनुमा यी दुई आधारसँगै यहाँ प्रशस्त मात्रामा गोरस (दही–दूध) पाइने भएकाले ‘दहिलेक’ भन्दा भन्दै पछि दैलेख नाम रहन गएको भन्नेहरू पनि उत्तिकै छन्। जानकारहरूले पर्यटन, ऐतिहासिक खोज अनुसन्धानहरूका दृष्टिले होस् या धार्मिक तीर्थाटनको हिसाबले दैलेख आफैं खुल्ला संग्रहालय भएको बताउँदै आएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.