बझाङको बयानाको बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो
बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नं.६ बयानामा विवादका कारण ४ वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालिन पाटादेवल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहुँदै विवादका कारण बन्द भएको थियो ।
गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरित बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कार्तिक महिनामा बर्थिङ सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको बर्थिङ सेन्टरमा तालाबन्दी गरेपछि लाखौं रकमका भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै बर्थिङ सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए ।
बर्थिङ सेन्टर निर्माणपछि जम्मा दुई दिन मात्रै सञ्चालनमा आएको थियो । उद्घाटन र औषधि खरिद् गरी संचालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए । निवर्तमान् महिला सदस्य कृष्णादेवी थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परेका छन् । बर्थिङ सेन्टर बन्द भए यता गाउँका एक दर्जन बढी गर्भवतीले बीच बाटो मै बच्चा जन्माउन बाध्य भएका थिए।
लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरीको समस्या यथावत रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
सोमबार खप्तडछान्ना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा बर्थिङ् सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ ।
बर्थिङ सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एकजनालाई जागिर दिने सहमतिअनुसार कुरा मिलेपछि ताला खोलिएको खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापाले बताए ।
गाउँपालिका उपाध्यक्ष थापाले भने,‘जग्गादाता र स्थानीयले पहिले नै जग्गादान गरे वापत जग्गादाताको घरबाट एकजनालाई रोजगारी दिने भनिएको रहेछ तर बर्थिङ् सेन्टर निर्माणपछि अर्कैलाई रोजगारी दिएपछि जग्गादाता झुरु थापाको परिवारले तालाबन्दी गरेको रहेछ । '
'प्रदेश सरकारले फेरि त्यही वर्थिङ् सेन्टरकै छेउमा आवास गृह निर्माण गरेछ त्यहाँ पनि तालाबन्दी भएको रहेछ । सोमबार हामीले छलफल गरेर पुरानै सम्झौता अनुसार जग्गादाताको घरका सदस्यलाई कर्मचारी बनाउने निर्णय गरेर ताला खोलेका छौं । अब सहज हुन्छ,'उनले भने।
खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयको रहोवरमा बयाना बर्थिङ सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेज बहादुर खड्काले जानकारी दिए । गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि सहज हुने स्थानीयले अपेक्षा गरेका छन्।