पोषणको तथ्यांकमै छुटाइए चेपाङ बालबालिका

पोषणको तथ्यांकमै छुटाइए चेपाङ बालबालिका
गण्डकी गाउँपालिकाका कुपोषणग्रस्त बालबालिकाहरू । तस्बिर : शिव उप्रेती

गोरखा जिल्लाका कुपोषणग्रस्त चेपाङ बालबालिका यकिन तथ्यांकसमेत छुटाइएको छ।

गोरखा : चेपाङहरूको मात्र बसोबास रहेको गण्डकी गाउँपालिका– ६, थुम्काकी सञ्जिता चेपाङको दिन सधैं रोएरै बित्छ। दुई वर्षीया सञ्जिताको रुवाइ गाउँलेका लागि सामान्यजस्तै भइसकेको छ।

‘यो सधैं यस्तै हो, रुन्चे लागेको। जन्माएको चार महिनापछि आमा बिरामी भई। बच्चा छुटाएर आमा चार–पाँच महिनासम्म अस्पताल भर्ना भएर बस्नुपर्‍यो। उपचार पनि पूरा हुन पाएन,’ छिमेकी ईश्वरी चेपाङले भनिन्, ‘घरमा आएपछि पनि बेथा बल्झियो। रोइ रहन्छन्।’ सञ्जिताको हेरचाह गर्ने जिम्मेवारी उनीभन्दा डेढ वर्ष जेठी दिदी छिन् । आमा घर छोडेर हिँडिरहने, बाउ पनि आमासँगै हिँडिरहनु पर्ने भएकाले बच्चा बिचल्लीमा परेको छिमेकीहरू बताउँछन्। 

दुई वर्षअघि सोममाया चेपाङले सञ्जितालाई घरमै जन्म दिएकी थिइन्। अहिले उनीसँगै डेढ वर्ष जेठी दिदी छन्। करिब चार वर्ष पुग्न लागेकी दिदीले कुपोषित बहिनीको हेरचाह गरिरहनु परेको छ। स्वास्थ्यकर्मीले मध्यमखालको कुपोषण ठहर गरी दुई पटकसम्म १४ पोका उपचारात्मक खाना (आरयूटीएफ र बालभिटा) खुवाए। तर पनि बच्चा नतंग्रिएको छिमेकी झलकमायाको भनाइ छ। 

‘दुई पटकसम्म सात–सात पोका भिटामिन खुवाएको हो। निको भयो कि भएन भनेर पछि जँचाउन लैजानुपर्ने तर कसैले लगेनन्,’ उनले भनिन्, ‘बालकी हेल्थपोस्ट पुग्न यहाँबाट एक घण्टा लाग्छ। बच्चाहरू हिँडेर जान सक्दैनन्। बावुआमाले लैजाँदैनन्।’ 

उनीहरूको घरमा न दुई छाक टार्ने मनग्य खाना छ, न दिउँसो खाने खाजा छ। उचित स्याहारसम्भार र आवश्यक आहारको अभावमा सञ्जिताजस्ता धेरै बालबालिका कुपोषित छन्। घोषणापत्रमा समेटेका विकासका एजेन्डा जस्तै अलपत्र परेका बालबालिकाहरूको खोजबिन छैन। न त उपचार नै छ। 

कुपोषित  बालबालिकाको बिजोग 

गण्डकी–७ बदलाकी बुद्धिसरा चेपाङका एकै उमेरका दुई नातिमध्ये सुवास न हिँडडुल गर्छन्, न बोल्न सक्छन्। ऊभन्दा एक महिनापछि जन्मेको काकाको छोरो जहाँसुकै दौडी हिँड्छ। राम्ररी बोल्न सक्छ,’ ६५ वर्षकी बुद्धिसरा भन्छिन्, ‘यो चाहिँ दुई वर्षको भइसक्यो, अहिलेसम्म चारपाउ टेकेर हिँड्छ। हाँस्दा पनि हाँस्दैन, बोल्दा पनि बोल्दैन। खै के भयो– भयो।’ 

सुवास पनि घरमै जन्मिएका हुन्। सुवास जन्मिएको पाँच महिना पनि नबित्दै उनकी आमाले दोस्रो विवाह गरेर गइन्। ‘आमाको दूध टुटिहाल्यो। बाउ ज्याला मजदुरी गर्न पोखरा गएका छन्। उसलाई काकीले हेरविचार गरेर हुर्काएकी हुन्’, बुद्धिसराले भनिन्।

पाँच महिना नपुग्दै आमाको दूध छुटेपछि उनले काकीको दूध खान मानेनन्। गरिबीका कारण उनले नातिलाई पर्याप्त पोषिलो खानेकुरा पनि खुवाउन नपाएको बताइन्। हेर्दा मोटोघाटो देखिए पनि सुवासको आँत सुकेको हजुरआमाको भनाइ छ। त्यही कारण हिँड्न र बोल्न सक्दैनन्। साथमा आमा र बाबु नहुँदा उनको पोषण र अन्य शारीरिक स्वास्थ्यजाँच पनि हुन सकेको छैन। उनलाई कुपोषण भएको हो/होइन भनेर जाँच्नको लागि  अहिलेसम्म स्वास्थ्यकर्मी उनको गाउँसम्म पुगेका छैनन्। 

गोरखाको गण्डकी गाउँपालिकाका ४ वटा वडा र सहिद लखन थापा गाउँपालिका वडा नं. ४ मा बस्ने करिब ७ हजार चेपाङ समुदायका सयौं बालबालिका कुपोषित छन्। बालबालिकाको बारेमा राज्य बेखबर छ। ५ वर्षमुनिका २० हजार २ सय १३ जना बालबालिकाको नापजाँच गर्दा १ सय ६६ जनामा कुपोषण पाइएको छ।

आमा र बाबुले रेखदेखमा समय नछुट्ट्याउँदा यहाँका चेपाङ बालबालिकाको बिचल्ली भएको छ। ‘हामी चेपाङ बिहान उठेर अर्काको मेलापात जानुपर्छ। नगए हातमुख जोर्न पाइँदैन। बेलुका फर्कंदा रात पर्छ। लालाबालाको कसले रेखदेख गर्ने ?’ बुद्धिसरा भन्छिन्, ‘चेपाङको बालबच्चा दैवले हुर्काउने हुन्।’ १६ वर्षमा बिहे गरेकी गण्डकी–७ छतिवन गैराकी जुना चेपाङ २८ वर्ष पुगिन्। चार सन्तानकी आमा बनिसकेकी छन्। दुई वर्षकी छोरी सीमा ख्याउटे छिन्। बिरामी छोरीलाई तीन घण्टाको बाटो हिँडाएर रातामाटेडाँडा स्वास्थ्यचौकी जँचाउन जाँदा कुपोषण भएको थाहा भयो। ‘पहेंलोमा (मध्यम कुपोषण) देखाथ्यो। अचेल त जँचाएको पनि छैन’, जुना भन्छिन्, ‘तीन–तीन घण्टाको बाटो हिँडेर सधैं कसरी जँचाउन जानु ?’ 

गण्डकी–१ क्षेत्रीखोलाकी पातली चेपाङले १५ वर्षको उमेरमा छोरी जन्माइन्। घरमै जन्मिएकी जेनीलाई दुई महिना पुगेपछि जँचाउन स्वास्थ्यचौकी लैजाँदा मध्यम खालको कुपोषण भएको थाहा भयो। त्यसपछि महिनैपिच्छे फलोअपमा जानुपर्ने थियो। तर उनले हेलचेक्र्याइँ गरिन्। अहिले चार वर्ष पुगिसकेकी जेनी कुपोषणकै कारण अत्यन्त कमजोर भएको उनको बुझाइ छ। ‘हेर्दै ख्याउटे छ। घरमा साथीसँग नि बोल्दिन, खेल्दिन,’ पातली भन्छिन्, ‘छिटो हिँड्न नि सक्दिनँ। घरमै तल–माथि गर्न पनि सक्दिनँ। यसको कुपोषणको उपचार पनि गरिएको छैन।’

सानै उमेरमा विवाह गरेर गर्भवती भएकाले कुपोषित बच्चा जन्मिएको उनको बुझाइ छ। ‘सानो उमेरमा जन्माएर हो कि, सुत्केरी हुँदा मैले पोसिलो खानेकुरा नखाएर यस्तो भएको हो,’ पातली भन्छिन्, ‘१५ महिनाभित्र सबै खोप लगाइसक्नु पथ्र्यो। तर खोप लगाउने बेला छोरी जहिले पनि बिरामी हुन्थी। त्यही भएर पूरा खोप लगाउन पाएकी छैन।’ 

खेतीपाती स्याहार्ने कि सन्तान ?

चेपाङ बालबालिकाका अभिभावकहरू खेतबारीको काममा व्यस्त हुने गरेका छन्। अभिभाभावक नै खेतीपातीमा व्यस्त हुँदा सन्तानलाई स्याहार नपुगेको चेपाङ समुदायका अगुवाहरू स्वीकार गर्छन्। ‘बज्जरे टोलका दुई वर्षका सजिन चेपाङ र शिखरडाँडा टोलका एक वर्षकी सोनी चेपाङलाई कडा खालको कुपोषण भइरहेको छ,’ नेपाल चेपाङ संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिल चेपाङले भने, ‘हाम्रो समुदायमा अहिले पनि बालविवाह गर्ने चलन छ। सानै उमेरमा आमा बनेकाहरूले जन्माएका बच्चाहरू स्वतः कुपोषणको सिकार भइहाल्छन्।’ 

  • चेपाङ समुदायमा कम उमेरमा बिहे गर्ने परम्परा छ। १६/ १७ वर्षमा बच्चा जन्माउँछन्। कम उमेरकी आमाबाट जन्मिएका बच्चाले चाहिए जत्तिको पोषण पाउँदैनन्। 
  • चेपाङ समुदायमा व्याप्त कुपोषणको समस्या पहिचान र निराकरण गर्न सरकारले चेपाङ पोषण कार्यक्रम लागू गरेको छ। तर पनि कार्यक्रम प्रभावकारी रूपमा कार्यक्षेत्रसम्म पुग्न सकेको छैन। 

उनले आफ्ना समुदाय गरिबीको चपेटामा परेको र आम्दानीका लागि दिनरात खेतबारीको काममा जोतिनुपर्ने बाध्यता रहेको बताए। रेखदेखको अभावमा चेपाङ समुदायका बालबच्चालाई कुपोषण र विभिन्न रोगव्याधिले सताइरहने उनको भनाइ छ। 

२०६८ सालको जनगणनाअनुसार गण्डकी गाउँपालिका वडा नं. १, २, ६ र ७ र सहिद लखन गाउँपालिका वडा नं. ४ मा करिब सात हजार चेपाङ समुदायको बसोबास छ। गरिबीको रेखामुनि रहेको यो समुदायमा पोसिला खानेकुराको अभाव भएको गण्डकी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कुमार सुनार बताउँछन्। ‘चेपाङ समुदायमा कम उमेरमा बिहे गर्ने परम्परा अत्यधिक छ। १४/१५ वर्षमा विवाह गर्छन्। १६, १७ वर्षमा बच्चा जन्माउँछन्,’ सुनारले भने, ‘कम उमेरको आमाबाट जन्मिएका बच्चाले चाहिए जत्तिको पोषण पाउँदैनन्। आमाहरू सधैं काममा निस्कनु पर्नेे, सन्तानसँग बिहान र बेलुका मात्र भेट हुने हुँदा रेखदेख, स्याहारसम्भार कम हुन्छ। त्यसैले चेपाङ बालबालिकामा कुपोषणको समस्या छ’, उनले भने।

पालिकाका तर्फबाट समस्याग्रस्त बालबालिकालाई थप उपचारात्मक खाना (आरयूटीएफ), बालभिटा खुवाउने र नियमित परीक्षणको काममा जोड दिइने उनको भनाइ छ। 

सरकारले चेपाङ समुदायमा व्याप्त कुपोषणको समस्या समाधान गर्न लक्षितवर्ग चेपाङ पोषण कार्यक्रम लागू गरेको गाउँपालिकाले जनाएको छ। गत भदौमा गण्डकी गाउँपालिका–६, थुम्काकी शर्मिला चेपाङलाई पालिकाले सो कार्यक्रमको सहजकर्ता नियुक्त गर्‍यो। उनलाई घरधुरी सर्भेक्षण गर्ने, कुपोषित बालबालिका पहिचान गर्ने जिम्मेवारी दिइएको छ।

यसबाहेक कुपोषितहरूको उपचार गर्ने, निरन्तर फलोअप गरेर कुपोषणको समस्या कम गर्ने, कुपोषण हुने कारण पत्ता लगाई कुपोषण निवारणका लागि अपनाउनुपर्ने उपायका बारेमा जनचेतना फैलाउने जिम्मेवारी दिइएको स्वास्थ्य शाखा प्रमुख सुनारले बताए। तर अहिलेसम्म पनि घरधुरी सर्भेक्षण र कुपोषित बालबालिका पहिचानको कामसमेत नभएको उनको भनाइ छ।

न घरधुरी सर्वेक्षण न त  परीक्षण

गण्डकी गाउँपालिकाअन्तर्गत लक्षित वर्ग चेपाङ पोषण कार्यक्रमकी सहजकर्ता शर्मिला चेपाङका अनुसार, चेपाङ समुदायमा कुपोषणको मुख्य कारण बालविवाह हो। गरिबी, अशिक्षा, चेतनाको अभाव र बालबालिकालाई अभिभावकले हेरचाह नगर्दा पनि कुपोषणको समस्या बढिरहेको उनले बताइन्। ‘आमा परिपक्व नहुँदै जन्मेका बच्चा कुपोषित हुन्छन्,’ उनले भनिन्, ‘सुत्केरीले पेटभरि खानेकुरा पाउन मुस्किल छ, पोसिलो खानेकुरा त झन् कहाँबाट पाउनु ?’ नियमित खोप लगाउन आउँदा अनिवार्य रूपमा तौल, हातको नाप, उचाइ परीक्षण गर्नुपर्छ। तर खोप मात्र लगाउन आएका बेला बालबालिकाको पोषण परीक्षणमा अभिभावकले चासो नदिने गरेको उनको भनाइ छ। 

सहजकर्ता चेपाङले कुपोषित बालबालिकाको संख्या र उनीहरूको अवस्थाको बारे थाहा पाउन घरधुरी सर्भेक्षण कार्य सुरु नभएको बताइन्। ‘म भदौमा नियुक्त भएको हुँ। अहिले भर्खरै पालिकास्तरीय चेपाङ विशेष पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति बनेको छ,’, उनले भनिन्, ‘अब वडास्तरीय समिति बनाउनु पर्नेछ।’ 

यस वर्ष पालिकालाई बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। चेपाङको बसोबास नभएका वडाहरूमा पनि तिनै सहजकर्ता खटिनु परेको छ। चेपाङ लक्षित कार्यक्रमकी सहजकर्ता चेपाङ समुदायको बसोबास नभएका वडामा पनि समिति बनाउनुपर्ने हुँदा घरधुरी सर्भेक्षणको काम गर्न ढिला भएको उनले बताइन्। त्यस्तै घरधुरी सर्भेक्षणका लागि थप जनशक्ति चाहिने भएकाले करारमा कर्मचारी थप्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। पालिकाले बहालवाला ५६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर कुपोषित चेपाङ बालबालिकाको तथ्यांक संकलन गर्ने तयारी गरिरहेको शर्मिला चेपाङले बताइन्। अहिले भने शर्मिला एक्लैलाई उक्त जिम्मेवारी दिइएको छ। 

बेखबर पालिका

जिल्लाभरका बालबालिका र कुपोषित बालबालिकाको संख्या स्वास्थ्य कार्यालय गोरखामा अद्यावधिक छ। तर स्वास्थ्य कार्यालयलाई चेपाङ समुदायमा कुपोषणको अवस्था र कुपोषित बालबालिकाको संख्याबारे जानकारी नै छैन। गोरखा जिल्लाभर विगत ६ महिनायता १ सय ६६ जना कुपोषित बालबालिका भेटिएका छन्। जनस्वास्थ्य कार्यालय गोरखाका पोषण अधिकृत नवराज खड्काका अनुसार साउनदेखि पुससम्म ६६ जना कडा र एकसय जना मध्यम खालका कुपोषित बालबालिका भेटिएका हुन्।

विगत ६ महिनायता गोरखा अस्पतालमा ६२ जना कुपोषित बालबालिकाको उपचार भएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। उनीहरूमध्ये ४८ जना कडा शीघ्र कुपोषित र १४ जना मध्यम खालका हुन्।

पोषण अधिकृत खड्काका अनुसार पाँच वर्षमुनिका २० हजार २ सय १३ (दुई वर्षमुनिका १३ हजार २ सय ८२ सहित) जना बालबालिको नापजाँच गर्दा १ सय ६६ जनामा कुपोषणको समस्या भएको भेटियो। उनले भने, ‘चेपाङ समुदायमा भएका बालबालिका र तीमध्ये कुपोषितको संख्याबारे अलग्गै तथ्यांक छैन।’ २०७६ सालबाट लागू भएको बृहत् पोषण विशेष कार्यक्रम कटौती भएको उनले बताए। ‘कुपोषित बालबालिका पत्ता लगाउने र यो समस्या कसरी समाधान गर्ने भन्ने स्वयंसेविकासम्मलाई सशक्तीकरण गर्ने कार्यक्रम गत वर्षसम्म थियो’, खड्काले भने, ‘तर यो वर्षदेखि जिल्ला तहमा पनि छैन, पालिकामा पनि छैन।’

तथ्यांकअनुसार गण्डकी गाउँपालिकामा १ हजार ७ सय ६ जना बालबालिकाको पोषणको अवस्था परीक्षण गरिएकामा १४ जना कुपोषित भेटिएका छन्। उनीहरूमध्ये ३ कडा र ११ जना मध्यमखालको कुपोषित हुन्। अध्ययन, अनुसन्धान एवं खोजतलासको अभावमा यो तथ्यांक भरपर्दो छैन।

शर्मिला चेपाङका अनुसार गण्डकी गाउँपालिका वडा नं. १ मा ५७, वडा नं. २ मा १ सय १५ जना, वडा नं. ६ मा १ सय ३७ जना र वडा नं. ७ मा ४५ जना चेपाङ र अरू समुदायका बालबालिका छन्। यसरी चार वटा वडामा चेपाङ र अरू समुदायको गरी पाँच वर्षमुनिका कुल ३ सय ५४ जना बालबालिका छन्। यीमध्ये कुपोषित चेपाङ बालबालिकाको तथ्यांक भने छैन। पालिकाले अब बल्ल महिला स्वास्थ्य स्वयंसेविकामार्फत कुपोषित चेपाङ बालबालिकाको तथ्यांक संकलन गर्ने योजना बनाएको छ। 

चेपाङ समुदायमा व्याप्त कुपोषणको समस्या पहिचान र निराकरण गर्न सरकारले लक्षित वर्ग चेपाङ पोषण कार्यक्रम लागू गरेको छ। तर पनि कार्यक्रम प्रभावकारी रूपमा कार्यक्षेत्रसम्म पुग्न सकेको छैन। अभिभावक स्वयं पनि सन्तानको हेरचारका क्रममा आवश्यक सरकारी सहयोग लिन जाँदैनन्। नियमित खोप कार्यक्रममा खोपसँगै नाप र तौल पनि लिनुपर्ने हुन्छ। यस्तै वर्षको दुईपटक बालभिटा खुवाए पनि बालबालिकाको अवस्थाको पहिचान र अध्यावधिक गराउनुपर्ने व्यवस्था छ। टोलटोलका बालबालिकाको अवस्थाबारे थाहा पाउन महिला स्वास्थ्य स्वयंसेविकाले पनि तथ्यांक संकलन गर्नुपर्ने हुन्छ। तर यो काम प्रभावकारी रूपमा हुन सकेको छैन। 

चेतनाको कमी, स्वास्थ्य संस्थाबाट गाउँबस्ती टाढा हुने, घरायसी कामका कारण सेवा लिन नभ्याउने आदि कारणले चेपाङ समुदायका बालबालिकामा कुपोषणको समस्या यथावत् रहेको स्वास्थ्य कार्यालय गोरखाका पोषण अधिकृत नवराज खड्काले बताए। ‘बालबालिका बिरामी भए भने धामीझाँक्री लगाउन जाने र अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्था जाने परम्पराका कारण पनि कुपोषणको समस्या देखिएको हो’, उनले भने, स्थानीय सरकार पोषणको समस्या समाधान गर्न जाग्ने बेला आएको छ। 

गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार यो पालिकामा ७ सय १५ घरधुरी चेपाङ छन्। उनीहरू १५, १६ वर्षमा बिहे गर्छन्। ‘चेपाङको घरमा पर्याप्त खाना र लगाउने लुगा हुँदैन। गरिखाने जग्गाजमिन पनि छैन। गाउँमा पूर्वाधार छैन,’ उनले भने, ‘त्यसैले उनीहरूको सर्वाङ्गीण विकास गर्न भनेर हामीले पाँच करोडको कार्यक्रम बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेका छौं। तर अहिलेसम्म पारित भएको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.