‘नेपाललाई पर्यटनको हब बनाउन सकिन्छ’
नेपालसँग साधन र स्रोतको सीमितता पाएको छु । नेपाललाई पर्यटनको हब बनाउन सकिन्छ। सामुद्रिक पहुँच र बन्दरगाह नहुँदा निर्यातमा सीमितता छ।
नेपालको तेस्रो भ्रमणमा हुनुहुन्छ। नेपाल कस्तो लाग्छ ?
नेपाली अर्थतन्त्रलाई कसरी नियाल्नु भएको छ ?
हामीले औद्योगिक क्रान्ति गर्न सकेकाले विकसित देशका रूपमा चिनिन पाएका छौं। उत्पादनमा भ्यालुएड गरेर निर्यात गर्छौं र यसैले देश चलाएका छौं। नेपालसँग भएको विशिष्ट क्षमताको सदुपयोग गरेर यहाँ विशेष प्रकारको र नेपालको मात्र क्षमताले चलाउन सक्ने उद्योग स्थापना गर्न सकिन्छ भन्ने मेरो मान्यता छ। यस्तै, एउटा उद्योग नेपालमा स्थापना गर्ने मेरो पनि धोको छ।
कस्तो प्रकारको उद्योग हुन सक्छ ?
उत्पादनमूलक उद्योग स्थापना गरेर निर्यात गर्ने सम्भावना खासै नभएकाले सेवामूलक उद्योग स्थापना गरेर देशको अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने मेरो बुझाइ छ। त्यस्तो सेवामूलक एउटा क्षेत्र हो, सूचना प्रविधि। नेपाली युवा शिक्षित र इमानदार हुनुहुन्छ। युवालाई सूचना प्रविधिमा विश्वको ट्रेन्डबारे अवगत गराएर नेपाललाई विश्वकै आईटी हबको रूपमा विकास गर्न सकिन्छ।
हामीले साइफर कोर नाम गरेको आईटी कम्पनी सञ्चालन गरिरहेका छौं। इन्फरमेसन सेक्युरिटीको सुनिश्चिता गरेर नेपाललाई फिनटेकमा एसियाको स्विट्जरल्यान्ड जस्तो विकास गर्न सकिन्छ।
कोरोनापछि विश्वमा आर्थिक शिथिलता छ । जापानका व्यवसायी र सरकारको मनोबल कस्तो छ ?
कोरोनाको अन्त्यपछि यो रिसेटिङ अवधि हो। प्रविधिमा फड्को मार्दै ऊर्जा र खाद्य सुरक्षा सुनिश्चित गरेर समृद्धि हासिल गर्न जापानको ध्यान छ। यी ३ प्रकारको उद्योगमा राष्ट्रले पनि लगानी गरिरहेको छ।
नेपालले पनि ऊर्जामा प्रगति गर्न सक्छ। हरित ऊर्जामा नेपालको जस्तो सम्भावना अन्य देशमा छैन। यस्तै, खाद्य पदार्थमा पनि नेपाल आत्मनिर्भर आवश्यक छ। आयात गरेर पेट भर्ने बानी राख्नु हुँदैन।
नेपालको सम्भावना केके मा छ ?
सूचना प्रविधि नयाँ युग हो। नेपालको कमजोरी सूचना प्रविधि उद्योगलाई नयाँ दिशा दिन नसक्नु पनि हो। यस क्षेत्रमा सघाउन म पनि उत्साहित छु। अर्को सम्भावनाको क्षेत्र मेडिकल क्षेत्र पनि हो। समुद्र सतहदेखि उच्च हिमाली भेगसम्म राम्रा–राम्रा सुविधासम्पन्न अस्पताल निर्माण गरेर अध्ययन र उपचारका लागि विदेशी नेपाल ल्याउन सकिन्छ।
जापानले मेडिकल सामाग्री चीनबाट आयात गर्ने गरेको छ। तर, चीनसँग कुरा नमिल्दा जापानले लाभ लिन सकेको छैन। अध्ययन गरेर नेपालमा मेडिकल सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गरौं। नेपालबाट जापान मेडिकल सामग्री आयात गर्न सक्छौं।
नेपाललाई आईटी र मेडिकल हबका रूपमा विकास गर्न के गर्नुपर्ला ?
आईटी हबको रूपमा विकास गर्न आईटी इन्जिनियरिङ, मानव स्रोत नै आवश्यक पर्छ। आफैं साइफर कोर नेपाल भन्ने कम्पनी स्थापना गरेर आईटी पूर्वाधार विकास गर्न चाहन्छु। सक्षम इन्जिनियर उत्पादन गरेर नेपाललाई आईटी हबको रूपमा विकास गर्न योगदान दिन चाहन्छु। मेडिकल विज्ञानका विषमा जापानमा हामी अध्ययन गरिरहेका छौं।
यस कार्यमा जापानको के सहयोग हुनसक्छ ?
म जापान–नेपाल संसद् विकास समितिको सपोर्टिभ विङ्सका रूपमा कार्यरत छु। यस्तो समितिले यस्ता काममा टेवा पुग्ने महसुस मैले गरेको छु। अर्कोतर्फ, संसद् विकास समितिले मात्र पर्याप्त नभएर जापान–नेपाल आर्थिक मञ्च पनि गठन गरेर व्यवसायीबीच पारस्पारिक लाभको कुरा गर्न आवश्यक छ।
जापानले नेपाललाई लामो समयदेखि औपचारिक विकास सहायता पनि गरेको छ। नेपालले युवा जनशक्ति पठाएर जापानलाई सघाएको छ। साझा आर्थिक मञ्च गठन गरेर जापान र नेपालबीच विन–विन अवस्थाको विषयमा छलफल गर्नुपर्छ।
दोस्रो विश्व युद्धको विकराल परिस्थितिबाट जापान विश्वकै विकसित देशको रूपमा कसरी पुग्यो ?
देश विकासका लागि शिक्षा, लगानी र प्रविधि आवश्यक छ। विश्वुद्धका बेला जापानीहरू शिक्षित थिए। तर, हामीसँग पैसा र प्रविधि थिएन। विश्वयुद्ध हारेपछि हामीले विदेशबाट ऋण लियौं, लगानी गर्दै गयौं र नाफाबाट कर्जा चुक्ता गर्दै गयौं। अमेरिका र युरोपबाट प्रविधि भित्र्यायौं। औद्योगिक क्रान्तिको सुरुआत गर्यौं।
विदेशी ऋण अर्थतन्त्रका लागि जोखिम हो कि आर्थिक वृद्धिको आधार हो ?
तिर्नेगरी लिनुहुन्छ भने आर्थिक वृद्धिको आधार हो। तर, पचाउने कोसिस गर्दा जोखिममा परिन्छ। प्रतिफल दिने क्षेत्रमा लगानी गरे विदेशीसामु कहिल्यै झुक्नुपर्ने अवस्था आउँदैन। जापानमा बुलेट ट्रेन निर्माण गर्दा विश्व बैंकबाट दीर्घकालीन ऋण लिएका थियौं। सो ट्रेन चलाएर नाफा गरेर हामीले ब्याजसहित फिर्ता गर्न सफल भयौं। ऋण लिनु आफैं नराम्रो होइन। तर, यसको उपयोगिता मुख्य प्रश्न हो।
नेपालले विदेशी ऋण लिएर जोखिम सिर्जना गर्नु उपयुक्त होला त ?
ऋण भनेको सकेसम्म आफ्नै देशबाट लिनु राम्रो हो । देशभित्रको ऋण भनेको परिवारको ऋण हो।सकेसम्म घरभित्रकै पैसा परिचालन गरेर लाभ लिनुपर्छ।
अर्को व्यक्ति वा देशलाई सर्तसहितको ब्याज किन तिर्ने। फेरि ब्याज चुक्ता गर्न नसके परियोजना नै विदेशी पकडमा जान पनि सक्छ। देशभित्र पैसा नहुँदा जापानले पनि सुरुका दिनमा विदेशी ऋणले परिचालन गरेको थियो। तर, हामीले दुःख मिहिनेत गरेर सबै तिर्न सफल भयौं। दुःखको कुरा के छ भने अहिले ऋण दिन जोकोही तयार छन्। तर, तिर्न नसकेको खण्डमा ती देशले परियोजना वा पूर्वाधार नियन्त्रणमा पनि लिन सक्छन् भन्नेमा सजग रहनुपर्छ।
नेपालले जापानबाट के सिक्न सक्छ ?
नेपालमा धनी र गरिबबीचको खाडल निकै ठूलो छ र बढ्दै गएको छ। नेपालको बेरोजगारी दर बढ्दो छ। देशको सबैभन्दा ठूलो कदम बेरोजगारी दर घटाउनु हुन्छ। बेरोजगारी दर घटाउन उद्योगको स्थापनामै ध्यान दिनुपर्छ। नेपालको भूगोल र सम्भावनालाई ध्यान दिएर सेवामूलक उद्योगमा जोड दिनुपर्छ। नेपालको स्थानीय स्रोतले सम्भव नभए प्रत्यक्ष विदेशी लगानी भित्र्याउनुपर्छ।
नेपालको बृहत्तर अर्थतन्त्रको परिसूचकले नेपालको समृद्ध भविष्य संकेत गर्छन् ?
मैले जानेअनुसार सुरुमा त नेपालको बेरोजगारी दर नै घटाउनुपर्छ। त्यो एकमात्र विकल्प हो। यो काममा सरकार नलागेसम्म हुने केही छैन। मैले देखेको विकल्प सूचना प्रविधि क्षेत्र नै हो। नेपालीहरू विदेशी कम्पनीका लागि काम गर्छन्। उनीहरूलाई आफ्नै देशमा परिचालन गर्न सक्नुपर्छ।
यसैगरी, विदेशीले झै सिको गरेर पनि हुँदैन। आफ्नै क्षमताअनुसार विकास गर्नुपर्छ। नेपालमा मात्र गर्न सकिने आईटीमै ध्यान दिनुपर्छ । यसमा जापान सरकार नेपाललाई सघाउन म प्रतिबद्धता गर्न चाहन्छु। ‘ग्रेट रिसेटिङ’ अवधिमा नेपाल विजेता बन्न सक्ने देख्छु।
नेपालले जापानी सहायताको उचित सदुपयोग गरेको छ ?
खानेपानी वितरण प्रणाली र सुरुङमार्ग निर्माणको प्रगति हेर्दा नेपालले राम्रै गरेको अनुभूत हुन्छ। यीबाहेक पूर्वाधार निर्माणमा जापान सरकारी र जापानी नागरिकले थुप्रै योगदान दिएको मैले पाएको छु। जापानले अहिले देशले अन्य मुलुकलाई प्रदान गरेको औपचारिक विकास सहायताको प्रभावकारिता अध्ययन गरिरहेको छ। पोर्टफोलियो रिभ्युमा जापानी नागरिकले तिरेको करको प्रभावकारिता पक्कै अध्ययन गर्नेछौं।
म आफू सांसद भएका बेला अफ्रिकामा पुग्दा जापानको सहायताको उचित सदुपयोग नभएको पाएँ। कृषि औजार सहायता दिएका देशमा मर्मत, प्राविधिकको अभावले सदुपयोग नभएको पाएँ र पछि ती देशलाई प्राविधिक तालिम, पार्टपुर्जा आदि सहायता थप्यौं। नेपालमा पनि सहयोग सदुपयोग भएका छैनन् भने सञ्चारकर्मी साथीहरूले पत्रपत्रिकामा सम्प्रेषण गरेर हामीलाई सघाउन सक्नु हुनेछ।
जापान अध्ययन र रोजगारीका लागि नेपाली विद्यार्थीको मुख्य गन्तव्यमध्ये एक हो। नेपालले यसबाट थप लाभ कसरी लिने ?
मानव स्रोतको अभाव जापानको ठूलो समस्या हो। जापानलाई नेपाली युवाको आवश्यक छ। नेपालीहरू इमानदार हुनुहुन्छ।जापानले विदेशी विद्यार्थीको संख्या बढाउने योजना बनाएको छ। तर, म भन्छु सबैजना जापानमै बस्नु हुँदैन।
फर्केर आफ्नो देश आउनुस्। त्यहाँ सिकेका सीप र कार्यशैली अपनाउनुस्। देश बनाउन सहयोग गर्नुस् भन्ने मेरो आग्रह छ। नेपाल एयरलाइन्सको जहाज जापान गए झै जापानी एयरलाइन्सले नेपाल उडान भर्नुपर्छ। यसले जापानीमाझ नेपालको पर्यटकीय गन्तव्यबारे सिक्न सघाउँछ। जापानीमाझ नेपाल घुम्न जानुपर्ने सन्देश जान्छ। र यहाँको पर्यटनमा टेवा पुग्छ।