बाजुरामा छ वर्षीय बालकमा देखियो कालाजार
बाजुरा :बाजुरामा एक बालकमा कालाजार देखिएको छ। हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन्। उनका अनुसार बालकमा कालाजारको साथै कुपोषण र रगतको कमी देखिएको छ।
रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए । चिकित्सकका अनुसार फोहोर र खाल्डोमा जमेको पानीमा लामखुट्टे रहने र यस्ता लामखुट्टेले टोकेपछि कालाजार र डेंगुलगायत रोगको जोखिम बढ्ने गर्छ।