जलवायु परिवर्तनको असर फलफूल र अन्नबालीमा
जलवायु परिवर्तनका कारण समयअगावै फलफूल र अन्नबालीमा फूल लाग्न थालेको विज्ञहरू बताउँछन्। तापक्रम वृद्धिका कारण निश्चित समयभन्दा पहिला नै फलफूल तथा बालीमा फूल फुल्ने प्रवृत्ति देखिएको छ।
काठमाडौं : पहिलापहिला काठमाडौंमा आँप फल्दैन भनिन्थ्यो। किनकि काठमाडौंको मौसम चिसो हुन्थ्यो। यसपटक भने फागुन अन्तिमतिरबाटै काठमाडौंमा आँप फुल्न थाल्यो।
विगतमा वैशाख लागेपछि मात्रै आँप फुल्ने गरेको जानकारहरू बताउँछन्। मुस्ताङमा कागजी बदाम (आलमन्ड)मा यसपटक माघको अन्तिमतिरै फूल लाग्यो। सामान्यतया फागुन अन्तिम तथा चैतमा मात्रै यसको फूल फुल्नुपर्छ। जलवायु परिवर्तन (ग्लोबल वार्मिङ)का कारण समयअगावै फलफूल र अन्नबालीमा फूल लाग्न थालेको विज्ञहरू बताउँछन्। यतिबेला मध्यपहाडतिर आरुबखडा, नासपाती, ओखर र हलुवावेदमा फूल फुलेको छ। तराईमा आँप, लिची, एभोकाडो मध्यपहाडमा हुने अमिलो फलफूलमा फूल लाग्ने सिजन हो।
तापक्रम वृद्धिका कारण निश्चित समयभन्दा पहिला नै फलफूल तथा बालीमा फूल फुल्ने प्रवृत्ति देखिएको छ। गत वर्षभन्दा यसपटक २० देखि २५ दिन अगाडि नै फूल फुलेको पाइएको छ।
अध्ययनहरूले मुलुकमा फलफूल तथा बालीमा जलवायु परिवतर्नको असर देखिने गरी नै पर्न थालेको निष्कर्ष छ। निश्चित समयभन्दा पहिला नै बाली तथा फलफूलको फूल लाग्नुलाई ‘देखिएको असर’ मानिएको छ ।
राष्ट्रिय बागवानी विकास केन्द्र, खुमलटारमा कार्यरत बागवानीविज्ञ सुरेन्द्र श्रेष्ठका अनुसार ग्लोबल वार्मिङका कारण फूल फुल्ने, उत्पादन हुने मात्रै नभई फलफूल तथा बालीका विविधतामा समेत असर गरेको छ।
चिसो सकिनेबित्तिकै प्रायःजसो फलफूलमा फूल फुल्ने सिजन सुरु हुन्छ। विशेषगरी पतझर (हिउँदमा पात झर्ने) फलफूल चिसो सकिनेबित्तिकै फूल खेल्छन्। तर केही समयदेखि समयअगावै फुल्ने प्रवृत्ति देखिएको छ।
श्रेष्ठका अनुसार तापक्रम र फोटोपिरियड (दिनको लम्बाइ) ले फूल लाग्ने क्रममा फरक पार्छ। दिनको अवधिमा परिवर्तन नआए पनि तापक्रममा परिवर्तन भएको छ। दिनको अवधि लामो र छोटो हुँदा पनि केही बालीको फूल तथा फलमा असर गर्छ। कुनै बालीको छोटो दिनमा, कुनैको लामो दिनमा फूल लाग्छ। बालीअनुसार फरक हुन्छ।
समयअगावै फलेका फल र फुलेका फूल । तस्बिर : दिपेन श्रेष्ठ
‘दिन र रातको तापक्रम फरक हुन्छ। यसले पनि फूल फुल्ने र फल लाग्ने क्रममा असर गर्छ,’ श्रेष्ठले भने, ‘कुनै बालीलाई दिनको र धेरैजसो बालीलाई रातको तापक्रमले असर गरेको हुन्छ।’
श्रेष्ठका अनुसार आलुलाई रातको तापक्रम ३० डिग्रीभन्दा माथि गएपछि दाना लाग्न पाउँदैन भन्ने गरिन्छ। गोलभेँडालाई रातको ३१ डिग्री माथिको तापक्रमले दाना राम्रो हुँदैन भन्ने मानिँदै आएको छ। त्यसैले बालीलाई दिनको भन्दा रातको तापक्रमले बढी असर पारेको देखिन्छ।
बेमौसमको फूलले उत्पादनमा असर
कात्तिकमा स्याउ फुल्नु भनेको जलवायुको असर हो। बेसिजनमा फुलेको फूलमा लाग्ने फल राम्रो हुँदैन। त्यसैले प्रविधिलाई परिमार्जित गर्दै वातावरण अनुकूलको प्रविधि अपनाउनुपर्ने श्रेष्ठले बताए।
आजकल बेमौसमी प्रजातिको विकास भएको छ। विगतमा गर्मी सहन नसक्ने जातहरू थिए। अहिले गर्मी सहन सक्ने जातको विकास भएको छ। वातावरण अनुसार कृषिमा प्रविधिको विकास हुँदै गएको छ। त्यसले जलवायुजन्य समस्याको समाधान पनि हुन्छ। तर अनुकूलनको काम र नयाँ जातको विकास हुनैपर्छ। नयाँ बीउ, बिजनको विकास हुनुपर्छ। आजकल प्रविधिको विकाससँगै समस्या निराकरण हुँदै गएको उनले बताए। तर भएको प्रविधिलाई असर गरिसकेकोले नयाँ प्रविधि अपनाउनुपर्ने भएको छ।
मुस्ताङमा करिब २५ दिन पहिला फुले फलफूल
शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा कार्यरत बागवानी विकास अधिकृत पद्मनाथ आत्रेयका अनुसार गत वर्षभन्दा २० देखि २५ दिन अगाडि नै यसपटक फलफूलमा फूल फुलेका छन्। ‘पोहोरभन्दा यो वर्ष लगभग २० देखि २५ दिनको अन्तरमा फूल फुलेको पाइयो,’ आत्रेयले भने ‘तापक्रम त्यति घटेन। त्यसले चाँडै नै फूल फुल्यो। गत वर्ष धेरै नै (तीन/चार) पटक हिउँ पर्यो। हिउँले फलफूल तथा बालीनालीलाई राम्रो गर्यो। तर त्योभन्दा अघिल्लो वर्ष हिउँ परेन। यस वर्ष हिउँ नै राम्ररी नपरेको आत्रेयले बताए।
सामान्यतया फागुन अन्तिम तथा चैतमा कागजी बदामको फूल फूल्ने गर्छ। गत वर्ष बारम्बार हिउँ परेकाले तापक्रम कम भयो। र छिटो फूल फुलेन। यस पटक माघको अन्तिमतिरबाट नै फूल फुल्न थाल्यो। आत्रेयले भने ‘यो तापक्रम बढी हुँदाको परिणाम हो। जति बढी तापक्रम भयो। त्यति छिटो फूल फुल्छ। पहिला कागजी बदाम फुल्यो, करिब तीन साता अगाडि नै।’
शीतोष्ण हावापानीमा हुने फलफूल स्याउ, ओखर, आरुबखडा, खुर्पानी, आलमण्ड (कागजी बदाम) लगायतका फलफूल मुस्ताङमा पाइन्छन्। पछिल्लो समय त्यस्ता फलफूलहरूको फूल फुल्ने तथा फल लाग्ने क्रम प्रभावित बनेको पाइन्छ। तर यो सब जलवायु परिवर्तनको कारण हो वा होइन यसको पुष्टि गर्न बाँकी नै रहेको आत्रेयले बताए। यसलाई पूर्ण रूपमा पुष्टि गर्नका लागि थप अध्ययन अनुसन्धानको आवश्यकता पर्ने उनले बताए।
करिब तीन वर्षदेखि मुस्ताङमा कार्यरत आत्रेयले फलफूलहरूमा देखिने गरी नै परिवर्तन आए तापनि जलवायु परिवर्तनकै कारण भएको भन्ने आधार बनिनसकेको बताए। उनले भने ‘जलवायु परिवर्तनको असर भन्नलाई कम्तीमा २० देखि २५ वर्ष अवधिको तथ्यांक हेर्नुपर्ने हुन्छ। तर नेपालमा यस्ता तथ्यांक उपलब्ध हुँदैनन्,’ आत्रेयले भने। रिसर्च तथा अध्ययनको कमीले यस्ता विषयमा बोल्न गाह्रो हुने उनले बताए।
स्याउका जातअनुसार तापक्रम आवश्यक
मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउका ३५ देखि ४० जात (भेराइटी) छन्। जात अनुसार फूल लाग्ने सिजन फरकफरक हुन्छ। यस वर्ष हिउँ नपरेको र छिटो तापक्रम बढेका कारण हरेक भेराइटीमा हप्ता, दस दिनअगाडि नै फूल फुल्ने क्रम रहेको उनले बताए।
स्याउको जातअनुसार तापक्रम फरक चाहिन्छ। एकदम बढी चिसो चाहिने (हाई चिलिङ भेराइटी) हजारदेखि १६ सय घण्टा तापक्रम चिसो हुनुपर्छ। (मिडियम चिलिङ भेराइटी) लाई ६ सयदेखि हजार घण्टा चिलिङ आवर चाहिन्छ। (लो चिलिङ भेराइटी) काठमाडौ वरिपरिको ठाउँमा पनि हुने खालको हुन्छ। त्यसलाई ४ सयदेखि ६ सय चिलिङ आवर भए पनि फूल फुल्न तथा फल लाग्छ।
अगाडि फूल फुल्नुको परिणाम
झट्ट हेर्दा चाँडै फुल्दा चाँडै फल्छ भन्ने बुझिन्छ। तर त्यसो नहुने आत्रेयले बताए। कहिलेकाहीँ फागुन/चैत १५ सम्म पनि हिउँ पर्छ। पानी पर्ने शैलीमा परिवर्तन भएमा हिउँ परिरहन्छ। फागुनमा फुल्नुपर्ने कागजी बदाम माघमा फुल्दा समस्या हुन्छ। फूल तथा फल लागिसकेपछि हिमपात भइदिएमा उत्पादनमा अत्यन्त नराम्रो प्रभाव पर्ने उनले बताए।
फूल फुलेपछि अत्यधिक हिमपात भएमा हिउँले बोटका हाँगाहरू भाँचिने, लाछिने डर हुन्छ। बेमौसमी हिउँले मौरी तथा अन्य परागसेचन गर्ने किराहरूको चहलपहललाई कम गर्छ। परागसेचनमा नकारात्मक असर गर्छ। फलको आकार बिग्रिन्छ। फल लागेपछि विकास हुन तापक्रम वृद्धि हुनुपर्छ। तर तापक्रम घट्यो भने त्यसले असर गर्छ। तापक्रम बढ्दै जाँदा बढी रोगकिराहरूको समस्या देखिन्छ। धेरै जर्नलहरूमा जलवायुका कारण यस्ता परिणाम उत्पन्न भएको उल्लेख छ।
क्लाइमेट जोन सिफ्टिङको समस्या
क्लाइमेट जोन सिफ्ङि (बाली हुने क्षेत्र बिस्तारै सर्दै जाने क्रम) को समस्या पनि जलवायु परिवर्तनले देखिएको प्रभाव हो। मनाङ, मुस्ताङको तल्लो भेगमा हुने स्याउ माथिमाथि सरिरहेको छ। किनकि तापक्रम बढ्दै जाँदा मुस्ताङको कुञ्जो, कोवाङ लेतेतिर २० देखि ३० वर्ष पहिला राम्रो फल्ने स्याउ उक्त क्षेत्रमा बिस्तारै फल्न छोडेको आत्रेयले बताए। माथि जोमसोम, कागबेनी र माथिल्लो मुस्ताङतिर सर्दै जाँदैछ। तापक्रम बढेकाले तलतिर फल्ने फलफूलहरू माथिल्लो भेगमा फल्न थालेका छन्।
यो सिजन प्रायः फलफूलमा फूल लाग्ने समय हो। गत वर्ष मध्यपहाडी क्षेत्रमा पानी प्रशस्त पर्यो। र हिमाली क्षेत्रमा पनि हिमपात राम्रै भयो। त्यसैकारण गत वर्ष मध्यपहाडमा सुन्तला, उच्चपहाड र हिमाली क्षेत्रमा स्याउ एकदमै राम्रो फलेको आत्रेयले बताए।
तल्लो भेगको बाली माथि सर्दै
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक डा. पुष्पराज पौडेलले पनि ‘क्लाइमेट जोन सिफ्टिङ’ समस्या देखिएको बताए। विश्वव्यापी रूपमा तापक्रम बढदै गएको यथार्थ हो। तर जलवायु परिवर्तन अप्रत्याशित र भविष्यवाणी गर्न नसकिने भएको बताए। त्यसैले कृषिमा जलवायु परिवर्तनको प्रभाव पक्कै पनि रहेको पौडेलले बताए।
‘पहिलापहिला हिउँ पर्ने निश्चित क्षेत्रमा हिउँ पर्न छोडिसकेको छ,’ डा. पौडेलले भने, ‘विस्तारै ती क्षेत्र तातो भएका छन्। त्यसले चिसो मन पराउने बाली तथा स्याउ माथिमाथि सर्दै गएका छन्। थोरैथोरै गर्दै क्लाइमेट जोन सरिरहेको छ।’ त्यस्ता ठाउँमा गर्मी सहन सक्ने जातको विकास भएका छन्। स्याउ, नासपातीको लागि चिसो हुने तापक्रम चाहिन्छ।
- तापक्रम वृद्धिका कारण निश्चित समयभन्दा पहिला नै फलफूल तथा बालीमा फूल फुल्ने प्रवृत्ति देखिएको छ।
- गत वर्षभन्दा यसपटक २० देखि २५ दिन अगाडि नै फूल फुलेको पाइएको छ।
- निश्चित समयभन्दा पहिला नै बाली तथा फलफूलको फूल लाग्नुलाई ‘देखिएको असर’ मानिएको छ।
- बालीलाई दिनको भन्दा रातको तापक्रमले बढी असर पारेको देखिन्छ।
- कात्तिकमा स्याउ फुल्नु भनेको जलवायुको असर हो। बेसिजनमा फुलेको फूलमा लाग्ने फल राम्रो हुँदैन।
- ‘जलवायु परिवर्तनको असर भन्नलाई कम्तीमा २० देखि २५ वर्ष अवधिको तथ्यांक हेर्नुपर्ने हुन्छ। तर नेपालमा यस्ता तथ्यांक उपलब्ध हुँदैनन्’।
- बेमौसमी हिउँले मौरी तथा अन्य परागसेचन गर्ने किराहरूको चहलपहललाई कम गर्छ।
- तापक्रम बढेकाले तलतिर फल्ने फलफूलहरू माथिल्लो भेगमा फल्न थालेका छन्।
पछिल्लो समय सुन्तलामा भाइरसको समस्या छ। उत्पादन कम हुने र रूख मरेर जाने समस्या बढेको छ। बेंसीमा सुन्तला लगाउँदा दुई, चार वर्ष फलेपछि समस्या हुने गरेको विज्ञहरू बताउँछन्। संसारभरि नै सुन्तलाको उत्पादन कम हुने र रूख मर्ने समस्या बढिरहेको डा. पौडेलले बताए। तर के कारणले समस्या भएको हो तथ्यबिना बोल्न नमिल्ने उनले बताए । ‘प्रमाणको आधारमा बोल्नुपर्छ,’ पौडेलले भने, ‘विज्ञानमा लगानी कम छ। रिसर्च कम छ।’
एउटा सानो विषयको प्रमाण निकाल्न कम्तीमा १० वर्षको अध्ययन हुनुपर्छ। तर नेपालमा कुनै पनि विषयका तथ्यांकको अभिलेख गरिएको छैन। त्यसैले सबै कुरालाई जलवायुको असर भनिहाल्न नमिल्ने उनी बताउँछन्।
हरितगृह ग्यास उत्सर्जनको प्रभाव
हरितगृह ग्यास उत्सर्जनको प्रभाव फलफूल उत्पादनमा समेत परेको अर्को अध्ययनमा उल्लेख छ। ‘जलवायु परिवर्तनले फलफूल उत्पादनमा पारेको प्रभाव’ विषयमा शंकर सुवेदीले सन् २०१९ मा गरेको अध्ययनमा हरितगृह ग्यासको उत्सर्जनले विश्वव्यापी तापमान बढेको र त्यसको असर फलफूल उत्पादनमा समेत परेको उल्लेख छ।
त्यस्तै, फलफूलको वृद्धि विकासका विभिन्न चरणमा असर देखिएको छ। फलफूल विकासमा ढिलाइ हुने, ढिला परिपक्व हुने, नराम्रो रंगको फल लाग्ने तथा गुणस्तरमा ह्रास आउने समस्या देखिएको छ। त्यसैगरी डढ्ने, अपर्याप्त परागसेचन समेत हुने देखिएको छ।
बागवानी बालीहरू जलवायु परिवर्तनशीलताका कारण संवेदनशील छन्। पर्याप्त पानी, तापक्रम, सौर्य रेडिएसनको आवश्यक हुन्छ। त्यसैले तापक्रममा थोरै मात्र परिवर्तन हुँदा त्यसले गम्भीर क्षति निम्त्याउन सक्छ। यो समस्या समाधानका लागि अनुकूलनका काम आवश्यक छ। उपयुक्त उत्पादनशील वातावरणका बनाउनका लागि भएका प्रविधिहरूमा सुधार गर्दै जानुपर्नेछ। किसानहरूलाई जलवायुमैत्री जात उपलब्ध हुनुपर्छ। सुक्खा, ताप सहन सक्ने खालका जातका बिउ चाहिन्छ। बेलाबेलामा यस्ता विषयमा अध्ययन गर्ने र उचित तथ्यांक अभिलेखमा राख्नुपर्ने हुन्छ।
सन् १९६१ देखि १९९९ को अवधिमा केराको उपयुक्त बाली क्षेत्र (६८) उच्च प्रतिशतमा घटेको छ। त्यसैगरी स्याउको ५८ प्रतिशत, सुन्तलाको ४७ प्रतिशत, नरिवलको ४० र आँपको २८ प्रतिशतले घटेको छ।
जलवायुको मुख्य असरहरूमा खडेरी, तापक्रम वृद्धि, रोग तथा कीट प्रकोपलगायतका समस्या छन्। यसको नकारात्मक मात्रै नभई सकारात्मक असर पनि देखिएको छ। ट्रपिकल जोनमा फल्ने फलहरू उच्च क्षेत्रमा पनि फल्न थालेको छ अध्ययनमा उल्लेख छ।
विज्ञहरूका अनुसार पहिला नदेखिएका किराहरूसमेत देखा परेका छन। तराईमा देखिने किराहरू विस्तारै पहाडतिर सरेका छन्। पहाडमा देखिने किराहरू विस्तारै लेकतिर सरेका छन्।
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरको फलफूलसम्बन्धी राष्ट्रिय तथ्यांक २०७८ मा उल्लेख भएअनुसार मुलुकको समशीतोष्ण क्षेत्रमा नासपती, हलुवावेद, किबी, आरु, आरुबखडा, अंगुर, अनार, चुच्चे ओखर, कागजी बदामको खेती उपयुक्त छ। उच्च पहाडमा स्याउ, ओखर, खुर्पानी, कागजी बदाम आदि को खेती सफल भएको तथ्यांकले देखाएको छ। सन् २००५/०६ देखि २०१९/२०२० को तथ्यांकले हिउँदे फलफूलले ढाकेको क्षेत्रफलमा घटबढ देखिन्छ। उत्पादनको हिसाबले हिउँदे फलफूलको उत्पादन सन् २०१२/१३ देखि सन् २०१६/१७ सम्म घटबढ भए पनि सन् २०१७/१८ देखि बढ्दै गएको छ।
उत्पादकत्व पनि सन् २०१०/११ देखि सन् २०१६/१७ सम्म घटबढ भई अन्ततः बढ्ने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१९/२० मा कुल १६ हजार ३ सय १८ हेक्टर उत्पादनशील क्षेत्रफलबाट एक लाख १६ हजार ८ सय २ टन उत्पादन भई ७.१६ उत्पादकत्व रहेको जनाएको छ। मुलुकको करिब ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४.७९ प्रतिशत फलफूल खेतीले ओगटी ७.०४ प्रतिशत कृषिको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिएको छ।
२०७४ देखि २०८२/८३ सम्मलाई फलफूल दशकका रूपमा मनाउने भन्दै विभिन्न कार्यक्रमहरू भइरहेका छन्। अझै व्यापार विस्तार गरेर १० वर्षभित्र फलफूलमा देशलाई आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन गर्ने पनि सरकारी नीति छ।