उपमेयर शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण
विराटनगर : विभिन्न कार्यक्रममा सहभागी भएकी विराटनगर महानगरपालिकाको उपमेयर शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमणको आशंकामा कार्कीको आइतबार एन्टिजेन परीक्षण गरिएको थियो। रिपार्ट पोजिटिभ आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। कार्कीलाई शनिबारबाट शरीर दुख्ने, ज्वरो आउनेलगायतका समस्या देखिएको थियो।
उमेयरको सचिवालयका अनुसार कोरोना पुष्टि भएपछि कार्की निवासमै आराम गरेर बसिरहेकी छन्। विभिन्न कार्यक्रमलाई स्थगित गरेर आराम गरिरहेकी कार्की स्वास्थ्य लाभपछि कार्य क्षेत्रमा खटिने सचिवालयले जनाएको छ। तर, उनी आइतबार महानगरमा आयोजित पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागी भएकी थिइन्।
कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्य मन्त्री निर्मला लिम्बू, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, महानगरका मेयर नागेश कोइराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलगायत सहभागी थिए। त्यसअघि पनि कार्की विभिन्न कार्यक्रममा सहभागी बनेकी थिइन्।
कार्यक्रम समापनपछि मात्रै उपमेयर कार्कीले एन्टिजेन परीक्षण गराएको महानगरले जनाएको छ। महानगरका अनुसार त्यसअघि पनि उनी विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त थिइन्। कार्यक्रममा सहभागीहरुले ५ देखि ७ दिनभित्र कुनै लक्षण देखिए परीक्षण गराउनुपर्ने महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए।
उपमेयर कार्की केहीदिनअघि काठमाडौंबाट विराटनगर फर्किएकी हुन्। आफूमा संक्रमणको लक्षण देखिँदादेखिँदै सार्वजनिक र लापरबाहीपूर्ण हिसाबले कार्यक्रममा सहभागी बनेको भन्दै उपमेयर कार्कीको आलोचना भएको छ। ‘महानगरकै उपमेयरले सावधानी अपनाएको पाएन,’ महानगर स्रोतले भन्यो, ‘विभिन्न कार्यक्रममा सहभागी हुँदा धेरै जनामा संक्रमण सरेको हुनसक्छ।’
महानगरले कोरोना संक्रमणको पहिचान गर्न विराटनगरको रानीमा ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको छ। ‘हेल्प डेस्क’मा दैनिक करिब १ सय जनाको कोरोना परीक्षण हुने गरेको महाशाखा प्रमुख अली बताउँछन्।
उनका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि महानगर तयारी अवस्थामा छ। हाल महानगरले संक्रमितलाई उपचारका लागि वडा नम्बर ५, १५ र १९ मा राख्ने व्यवस्था मिलाएको अलीको भनाइ छ।