विद्यार्थी आन्दोलनको दबाबमा क्याम्पस प्रमुखले दिए राजीनामा
वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले राजीनामा दिएका छन्।
क्याम्पसको परीक्षा केन्द्र अन्तको क्याम्पसमा सारिएको विरोधमा विद्यार्थीहरूले आन्दोलन गरेपछि चौरसियाले क्याम्पस प्रमुख पदबाट आइतबार राजीनामा दिएका हुन्।
त्रिभुवन विश्वविधालयका उपकुलपति तथा त्रिवि कार्यकारी परिषदका अध्यक्षलाई इमेल मार्फत राजीनामा पत्र पठाउँदै क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको चौरसियाले बताए। उक्त राजीनामा पत्रमा चौरसियाले स्वास्थ्य प्रतिकुलताका कारण आफूले राजीनामा दिएको उल्लेख छ।
तर अन्नपूर्णपोष्टकर्मीसँग कुरा गर्दै चौरसियाले अन्त सारिएको परीक्षा केन्द्र क्याम्पसमै फिर्ता ल्याउन आफू असमर्थ भएपछि विद्यार्थीहरूले आन्दोलन गरेपछि आफ्नो कारणले विद्यार्थीहरूको परीक्षामा बाधा व्यवधान नहोस् भनेर राजीनामा दिएको बताए।
ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्तको क्याम्पसमा नसारी यही क्याम्पसमा कायम राख्नका लागि आफूले त्रिविका रजिष्टार र कन्ट्रोलरलाई भेटेर पटक पटक आग्रह गर्दापनि सुनुवाइ नभएको उनले बताए।
उनले भने,‘ एक परीक्षा केन्द्र तोक्ने कार्य राष्ट्रिय परीक्षा बोर्ड र त्रिविका रजिष्टारको हो, त्यसमा क्याम्पस प्रमुखको कुनै भूमिका नै हुँदैन, तैपनि विद्यार्थीले तालाबन्दी नै गरेर आन्दोलन गरे, मेरो राजीनामा नआएसम्म परीक्षा शाखाको ताल्चा नै नखोल्ने अडान दिए, त्यसकारण म नै किन बाधक बन्ने भनेर राजीनामा दिएको हुँ।'
चौरसियाले २०७७ चैत १२ देखि क्याम्पस प्रमुखको कार्यभार सम्हालेका थिए। मंगलबारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधबारदेखि हुने बीबीएस प्रथम वर्षको परीक्षाको केन्द्र बाराको कलैया र सिमरामा परेपछि ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले आइतबार परीक्षा शाखामा तालाबन्दी गरी क्याम्पस प्रशासनका विरुद्धमा नाराबाजी पनि गरेका थिए।
बीबीएस र बीएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि त्यसको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका थिए।