रोजगारको चक्रमा युवाको भविष्य
सही शैक्षिक व्यवस्थापन गर्न सकेमात्र रोजगार चक्रमा हुने परिवर्तनलाई सम्बोधन गर्न सकिन्छ।
संविधानले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको व्यवस्था गरेको छ। राष्ट्रिय शिक्षा नीतिले नेपालको शिक्षालाई कक्षा १ देखि ८ सम्म आधारभूत तह, कक्षा ९ देखि १२ सम्म माध्यमिक र सोभन्दा माथि उच्च शिक्षा गरी तीन तहमा वर्गीकरण गरेको छ। कक्षा १२ भित्रै पर्ने प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रबन्ध प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मार्फत ऐनमा गरिएको छ। माध्यमिक शिक्षाजस्तो देखिए पनि यो विशेष शिक्षा हो। खासमा आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नु व्यावसायिक शिक्षाको उद्देश्य मानिन्छ।
बालबालिकाको संज्ञानात्मक (कग्निटिभ), व्यवहारजन्य (बिह्याभिअरल) तथा संवेगात्मक (अट्टिच्युडिनल) पक्षहरूको आकलन व्यावसायिक शिक्षामा हुन्छ। सोही मुताबिक पठनपाठनको वातावरण निर्माण पनि भएको छ। विज्ञान तथा प्रविधिको विकासले औद्योगिक क्रान्ति गरेको पाइन्छ। जसमा औद्योगिक क्रान्ति (वाष्प यन्त्रको आविष्कार), औद्योगिक क्रान्ति (उद्योगमा स्टिल र बिजुलीको प्रयोग), औद्योगिक क्रान्ति (सूचना तथा सञ्चार प्रविधिको प्रयोग) र औद्योगिक क्रान्ति (रोबोटिक्स तथा साइबर प्रविधिको प्रयोग) मा विकास भएको छ। शिक्षामा पनि सोही अनुरूपको विकास युरोपियन राष्ट्रहरूले गर्दै आएका छन्। ज्याक गस्र्टाइन (सन् २०१४) इन्टरनेटको क्रमागत तथा पुस्तागत विकाससँगै यी चारवटै वेभको विकास भएको बताउँछन्। त्यसो भए के हो त शिक्षाको यो पुस्तैनी परिभाषा र यसको व्यावसायिक शिक्षासँगको नाता ?
यस किसिमको पठनपाठनलाई क्रमशः पढाइ, सिकाइ र गराइ गरी तीनवटा क्रमागत विकसित तहमा विभक्त गरिएको हुन्छ। पहिलो तहमा शिक्षकले विद्यार्थीलाई ज्ञान प्रदान गर्छ। दोस्रोमा शिक्षक तथा विद्यार्थी दुवै सहभागी भएर विद्यार्थीले सिक्ने प्रयत्न गर्छ। तेस्रोमा विद्यार्थी आफैं सक्रिय भई ज्ञान निर्माण गर्छ। यही तेस्रो किसिम (तहको शिक्षा) नै व्यावसायिक शिक्षाको पठनपाठनको वातावरण तथा विधि हो। वर्तमान प्रतिस्पर्धी तथा नयाँ सीप खोजिरहने, थोरै समयमात्र रहने परिवर्तनशील प्रविधि र अनुमान गर्न नसकिन रोजगार बजारका लागि व्यावसायिक मात्र नभएर साधारण शिक्षा पनि तेस्रो तहमै हुनुपर्ने देखिन्छ। गस्टाइनले विभाजन गरेको शिक्षा १, २ र ३ लाई विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले शिक्षा–४ मा विभाजन गरेको छ। जुन निम्न छन्–
शिक्षा १ : नेपालमा सबै तहका हालसम्मका शिक्षामा शिक्षक सर्वज्ञान सम्पन्न सक्रिय तथा अधिकारसम्पन्न शैक्षिक अधिकारी हुन्छ र विद्यार्थी निष्क्रिय प्राप्तकर्ता हुन्छ। शिक्षकले निर्देशित गरेको शिक्षामात्र ग्रहण गर्ने विद्यार्थीले कण्ठ गर्छ र सोधेको प्रश्नको जवाफ फर्काउँछ। यस्तो शिक्षामा प्रविधिको प्रयोग पटक्कै गरिन्न। शैक्षिक प्रमाणपत्र नै यो शिक्षाको मुख्य उपलब्धि हो। जसले विवेकशील नागरिक तयार पार्दैन।
शिक्षा २ : यसमा शिक्षक–विद्यार्थीबीच दोहोरो सम्बन्ध स्थापित हुन्छ। विद्यार्थीको सक्रियता पठनपाठनमा बढ्दै जान्छ। विद्यार्थीले शिक्षामा सञ्चार, कौतुहल जोड्छ र शिक्षकसँग मिलेर समस्या समाधानमा लाग्छ। कम्प्युटरको उपयोग यहाँ क्लिक्सको रूपमा प्रयोग छ। यस्तो शिक्षामा अन्य प्रविधिको प्रयोगसमेत गरिन्छ। विद्यार्थीको शारीरिक, मानसिक, सांस्कृतिक तथा अन्य पक्षअनुसार शैक्षिक वातावरण तथा उपयुक्त विधि अवलम्बन गरी पठनपाठन गराइन्छ। परीक्षा र यसको नतिजा तथा अन्तमा ज्ञानको स्मरण नै यो शिक्षाको मुख्य उपलब्धि हो।
शिक्षा ३ : तेस्रो पुस्ताको मानिने यो तहको शिक्षामा विद्यार्थी पाठनपाठनको केन्द्रमा हुन्छ। शिक्षक पठनपाठनमा समन्वयकर्ता, सहजकर्ता, सल्लाहकार तथा सहयोगीको रूपमा प्रस्तुत हुन्छ। विद्यार्थीले आफैं सीप तथा ज्ञानको खोजी गर्छ। सिक्ने स्थान बदलिइरहन्छन्। जहाँसुकै र जहिलेसुकै सिक्ने अवसर निर्माण गरिन्छ। विद्यार्थीले शिक्षकले उठान गरेको विषयमा (शिक्षा) आफ्नो खोज जोड्ने भूमिका गर्छ। यसरी नयाँ विचार निर्माण गर्छ। जसमा प्रविधिको प्रयोग गरिन्छ। विद्यार्थीको शारीरिक, मानसिक, सांस्कृतिक तथा अन्य पक्षअनुसार शैक्षिक वातावरण तथा उपयुक्त विधि अवलम्बन गरी पठनपाठन गराइन्छ।
शिक्षा ४ : यो तहको शिक्षामा विद्यार्थी पठनपाठनको केन्द्रमा हुन्छ। विद्यार्थी सहसिर्जना तथा नवप्रवर्तनको केन्द्रमा हुन्छ। यसमा प्रत्यक्ष प्रयोगात्मक अन्तरसंवाद तथा अभ्यास गरिन्छ। सिकाइ घरभित्र वा बाहिर जहाँसुकै भए पनि सीप विकास चाहिँ स्कुलमै हुन्छ। शिक्षकले व्यक्तिकेन्द्रित शिक्षण सिकाइ विधि अवलम्बन गर्छ। सिकाइ योजना सिर्जनशील योजनामा बदलिन्छ। विद्यार्थी अनिश्चित बहुपेसामा तयार हुन्छ। सहसर्जक र उद्दमशील बन्छ।
नेपालमा समग्र शिक्षाको मार्गचित्र मानिन्छ शिक्षा नीति (२०२०)। व्यावसायिक शिक्षाको मार्गचित्र मानिन्छ व्यावसायिक शिक्षा रणनीतिक योजना (२०२३)। के यिनमा शैक्षिक संसार र कामको संसारमा परिकल्पना गरिएको माग, परिवर्तन तथा अनिश्चिततालाई माथि भनिए झैं सम्बोधन गर्न खोजिएको छ ? दुवै नीति निर्माणमा तिनै विकास साझेदारका तर्फबाट काम गरेका नेपालीले तथा प्राधिकार सम्पन्न नेतृत्वले न्याय गर्न सकेका छन् ? जनगणनाले उल्लेख गरेझैं जनसांख्यिक लाभ कम हुँदै गएको अवस्थामा अनिश्चित बजारका लागि दक्ष जनशक्ति निर्माण गर्न अब के कस्तो योगदान हुन सक्छ ? प्रश्न उठेका छन्। जवाफ सोचनीय छ।
हाल उद्योग प्रतिष्ठान, सरकार, शिक्षक तथा अभिभावक गरी चार तहका योगदानकर्ता छन्। पहिलो योगदानकर्ताले उत्पादनमा प्रयोग हुने कार्यशाला पठनपाठनका लागि उपलब्ध गराउने र परिवर्तनको आकलन गरिएको पठनपाठनलाई शिक्षकलाई तालिमका मार्फतबाट तयार गर्नमा संलग्न हुनुपर्छ। यस्तो योगदानले लगानी, गुणस्तर, दिगोपन तथा सामाजिक स्विकार्यतामा सघाउ पुग्छ। दोस्रो योगदानकर्ता सरकारले शिक्षकको समयानुकूल तालिमको विकास गर्ने, परिलक्षित पाठ्यक्रमको निर्माण गर्ने, सामाजिक बजारीकरणको व्यवस्था मिलाउने र सबै उपक्रममा लगानीको सुनिश्चितता गर्नुपर्ने हुन्छ। तेस्रो, योगदानकर्ता शिक्षकले भविष्यमा हुन सक्ने रोजगारीको परिवर्तनलाई सम्बोधन गरी पठनपाठन गर्नुपर्छ। चौथो, अभिभावकले खेलका माध्यमबाट घरमै सीप विकासमा जोड दिने र घर तथा समुदायका दैनन्दिन कार्यमा संलग्न गराएर सामाजिक बनाउने।
माध्यमिक शिक्षा तथा उन्नत अंग्रेजीका माध्यमबाट पाश्चात्य मुलुकका लागि विज्ञापनको सिकार बनाइएका उच्च शिक्षाका विद्यार्थीबारे के राज्यसंयन्त्रलाई जानकारी छ ? राज्यको लगानी बसुधैव कुटुम्बकमका आधारमा खर्चिएको छ कि हाम्रा लागि ? सही शैक्षिक व्यवस्थापन गर्न सकेमा मात्र रोजगार चक्र (इम्प्लोइमेन्ट इकोसिस्टम) मा हुने परिवर्तनलाई सम्बोधन गर्न सकिन्छ। यसरी सीपको अभावमा हुने बेरोजगारी अन्त गर्न सकिन्छ।
भट्टराई, प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)का कार्यकारी निर्देशक हुन्।
संज्ञानात्मक, व्यवहारजन्य तथा संवेगात्मक पक्षहरूको आकलन विद्यार्थीको व्यावसायिक शिक्षामा हुन्छ। सोही मुताबिक पठनपाठनको वातावरण निर्माण पनि भएको छ।