गाई-भैंसीमा लम्पी रोग किन लाग्छ, कसरी जोगिने?
काठमाडौं : मधेस प्रदेशबाहेकका करिब ३० जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ। यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ।
लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण गाई–भैंसीहरूमा देखिन्छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउँछ।
‘यो रोग संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजनन योग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्छ,’ उनले भने, ‘यो रोग लागेका पशुहरूमा १०५.८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा १ देखि ५ सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखा पर्ने, सुपरफिसियल लिम्फनोडहरू सुन्निने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरिसमेत दुख्ने खालका गाँठोहरू देखिने, लंगडोपना, थुनेलो हुने र गर्भ तुहिनेजस्ता लक्षणहरू देखिन्छन्।’ यो रोगको संक्रमण भएपछि पशुले आँखाबाट कचेरा निकाल्ले, सिंगान बग्ने तथा फिज धेरै निकाल्ने पशु चिकित्सकहरू बताउँछन्।
नियन्त्रणको उपाय
लामखुट्टे, झिंगा, कीरा आदिको टोकाइको माध्यमबाट फैलन सक्ने यो रोगबाट बचाउन गोठको सरसफाइमा ध्यान दिनुपर्छ। संक्रमित गाई–भैंसीको ढुवानी, आवातजावत र लसपलबाट जोगाउनुपर्छ।