जोगाऔं पृथ्वी

संकटतिर धकेलिँदै पृथ्वी

सन्दर्भ : पृथ्वी दिवस

संकटतिर धकेलिँदै पृथ्वी

पृथ्वी, जहाँ जीवन अस्तित्वमा छ। तर, त्यहीँ जीवन दिने पृथ्वी तात्तिँदै छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषण यसका कारण हुन्। विज्ञ भन्छन्, ‘मानव क्रियाकलापकै कारण संकटतर्फ धकेलिँदै जाँदा यसको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त गएकै छैन।’ सन् १८८० पछि प्रत्येक दशकमा ०.०८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। अहिलेको मुख्य चुनौती भनेकै पृथ्वीको तापक्रम घटाउनु हो।

काठमाडौं : पृथ्वी अर्थात् ‘हरियो पिण्ड’। जहाँ जीवन अस्तित्वमा छ। तर, त्यहीँ जीवन दिने पृथ्वी वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तात्दै गएको छ। मानव क्रियाकलापकै कारण संकटतर्फ धकेलिँदै छ।

पछिल्लो समय पृथ्वीको १.१ डिग्री तापक्रम वृद्धिले ‘हिटवेभ’, खडेरी, बाढी, हुरी, आँधीका समस्या देखा परिरहेका छन्। अर्कोतिर विश्वमा आठ अर्बभन्दा बढी मानिसको ‘कोलाहल’ मच्चिसकेको छ। जनसंख्या वृद्धिसँगै ‘औद्योगिक क्रान्ति’ ले उच्च मात्रामा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ।

पृथ्वीको अवस्था

पृथ्वीको बढ्दो तापक्रमले वातावरण बिगार्न निकै भूमिका खेलेको छ। प्राकृतिक विपत्, चरम मौसमी घटना, पानी तथा खाद्यान्नको असुरक्षा, आर्थिक अवरोध, द्वन्द्व तथा आतंक, हिमालमा हिउँ पग्लिने क्रम तथा समुद्री सतह बढ्दाका परिणाम भोगिसकेका छन्।

संसारभरि नै डढेलो चुनौती बन्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०.०८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ।

ठूला देश मुख्य जिम्मेवार

बेलायतको ग्लास्गोमा सम्पन्न कोपको २६ औं सम्मेलनमा विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्न नसकिएको विषयले निकै स्थान पाएको थियो। पेरिस सहमति २०१५ अनुसार १.५ डिग्री कायम गर्नका लागि सन् २०३० सम्ममा ५० प्रतिसत कार्बन उत्सर्जन न्यूनीकरण गर्नुपर्ने भनिएको थियो। तर, प्रमुख उत्सर्जन राष्ट्रहरू यस विषयमा गम्भीर नभएको बताइएको थियो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (यूएनएफसीसीसी) का अनुसार प्रत्येक वर्ष पृथ्वीमा ३० गिगा टनभन्दा धेरै कार्बन उत्सर्जन हुँदै आएको छ। जसले जलवायु परिवर्तनमा महत्त्वपूर्ण भूमिका
खेलेको छ।

सन् २०२१ मा कार्बन उत्सर्जनको मात्रा ६ प्रतिशतले बढेको थियो। यूएनएफसीसीसीको अनुसार उक्त वर्ष उत्सर्जनको मात्रा ३६.३ बिलियन टन भएको थियो। ठूला मुलुकहरूले उत्सर्जन बढाउन मुख्य भूमिका खेलेका छन्। कोप–२७ ले एउटा वक्तव्य जारी गर्दै पेरिस सहमति २०१५ अनुसार दीर्घकालीन विकासका लागि कम्तीमा ४ देखि ७ ट्रिलियन आर्थिक वित्त प्रत्येक वर्ष चाहिने अनुमान लगाएको थियो।

मानवीय गतिविधि अर्को कारण

जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानल (आईपीसीसी)ले मानवीय क्रियाकलापका कारण जलवायु परिवर्तन भएको प्रमाणित गरिसकेको छ।
पृथ्वीमा उत्सर्जन भइरहेको हरितगृह ग्यासको मात्रा अत्यधिक बढ्दाको प्रत्यक्ष असर विश्वव्यापी तापमान वृद्धिमा परेको छ। मिथेन उत्सर्जनका कारण २५ प्रतिशतभन्दा धेरै तापक्रम वृद्धि भएको छ।

संयुक्त राज्य पर्यावरण कार्यक्रम (यूएनएफपीए) का अनुसार मिथेन ग्यास उत्सर्जनले कार्बनले भन्दा ८० गुणा बढी ग्लोबल वार्मिङ गर्छ। मिथेन वायुमण्डलमा रहिरहन्छ। त्यसैगरी १.१ डिग्री तापक्रम वृद्धिको असरले हिटवेभ, खडेरी, बाढी, हुरीक्यान, आँधीको समस्या बढ्ने देखाइसकेको छ। विश्वको ३० प्रतिशत जनसंख्याले वर्षको कम्तीमा २० दिन डरलाग्दो हिटवेभको सामना गर्नुपर्ने आईपीसीसीको प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ लाई अत्यधिक गर्मी वर्ष मानिएको छ।

प्रमुख मुद्दा वातावरण संरक्षण

पृथ्वीको संरक्षणको विषयमा विश्वव्यापी रूपमै वकालत गर्न थालिएको छ। कार्बन फुटप्रिन्ट घटाउने, विश्वव्यापी तापमान, जलवायुका क्षेत्रमा भएका विभिन्न सहमतिहरू पालना गर्ने, रिसाइकल, इवेस्ट तथा जीवनशैलीमा ल्याउनुपर्ने परिवर्तनका विषयमा पनि कुरा गर्ने गरिन्छ।

यस दिवसमा जलवायु परिवर्तनका लागि मानिसले के–कस्ता योगदान गरेका छन् भन्ने विषयमा पनि छलफल हुने गर्छ। विश्वको जैविक विविधता जोगाउने विषय पनि छलफलको एजेन्डा बन्ने गरेको छ। नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूले जोड दिन थालेका छन्।

खाद्यान्न तथा कृषिका विषय पनि छलफलका लागि निकै महत्त्वपूर्ण मानिन्छन्। जलवायु परिवर्तनका कारण बढाएको जोखिम, विषादीको प्रयोगले वातावरण खस्कँदो रहेको र अग्र्यानिक तथा स्थानीय जातको उत्पादनलाई बढावा दिनुपर्नेलगायतका विषय विश्वकै मुद्दा बन्न थालेका छन्।

पृथ्वी दिवसको सुरुवात

सन् १९६९ मा अमेरिकाको क्यालिफोर्निस्थित सान्टा बारबारामा तेलका ट्यांकरमा व्यापक विस्फोटन भयो। त्यसबाट समुद्रको पानी निकै प्रदूषित भयो। विस्कन्सिन राज्यका जुनियर सिनेटर गेलर्ड नेल्सन बिग्रँदो पर्यावरणप्रति निकै सचेत थिए। सान्टा बारबारामा ट्यांकर विस्फोट देखेका नेल्सनले पर्यावरण चेतनाका लागि ‘पृथ्वी दिवस’ को आइडिया निकाले।

सन् १९७० बाट प्रत्येक वर्ष यो दिवस मनाउन थालियो। आन्दोलनका रूपमा यो दिवसले मान्यता पाएको हो। त्यसैकारण पृथ्वी दिवस विशेष रूपमा अमेरिकामा मनाइन्छ। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो।

त्यसैगरी प्रत्येक वर्ष वातावरणको क्षेत्रमा भएको उपलब्धिलाई सम्मान गर्नका लागि पनि पृथ्वी दिवस मनाउने गरिन्छ। जसले पृथ्वीलाई जोगाउनु पर्ने सन्देश दिन्छ। भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ।

पृथ्वीको संरक्षण

अप्रिल २२ लाई संसारभरि नै पृथ्वी दिवसको रूपमा मनाइन्छ। संसारका अर्बाैैं मानिस पृथ्वीको संरक्षण कसरी गर्न सकिन्छ भन्ने सवालका उत्तर खोज्छन्। तर नेपालमा भने यो विषयले खासै महत्त्व पाएको छैन। नेपाल सरकारले पृथ्वी दिवसका अवसरमा यस वर्ष पृथ्वीको संरक्षणसम्बन्धी कुनै औपचारिक कार्यक्रम पनि राखेको छैन।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले चालू कार्यक्रम नभएकाले यस वर्ष केन्द्रमा कार्यक्रम गर्न नसकिएको बताए। उनका अनुसार जिल्ला तथा प्रदेशलाई भने सचेतनामूलक कार्यक्रम गर्न ‘सर्कुलर’ गरिएको छ। विगतमा साझा भविष्य, पृथ्वीको संरक्षण सचेतनाका विषयमा छलफल तथा कार्यक्रमहरू हुन्थे। तर विभिन्न मञ्चमा मन्त्रालयले यस विषयमा कुरा उठाउँदै आएको काफ्लेले बताए। ‘स्थानीय तहहरूमा पृथ्वी दिवसको कार्यक्रम गर्नु भनेर प्रदेश सरकार तथा अन्तर्गतका निकायलाई भनिएको छ,’ काफ्लेले भने। केन्द्रीय स्तरमा ‘ग्लोबल म्यासेज’ दिने प्रभावकारी भूमिका खेल्ने काम भइरहेको उनले बताए।

nullजलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख बुद्धिसागर पौडेलले पृथ्वीको महत्त्व र आवश्यकता किन र कस्तो हुन्छ भन्ने सन्देश दिन पृथ्वी दिवस कार्यक्रम मनाउने गरिएको बताए। यस वर्ष भने महाशाखाको तर्फबाट पनि कुनै कार्यक्रम आयोजना नगरिएको उनले बताए। यस्ता कार्यक्रम गर्नलाई बजेट नहुँदा सामाजिक सञ्जालको प्रयोगबाट सूचना प्रवाह गरिएको पौडेलले बताए।

पौडेलका अनुसार विगतमा जलवायु परिवर्तनमा सचेतना जोगाउन लगानी पूर्वाधार निर्माणलगायतका विषय प्रकृतिमैत्री हुनुपर्छ भन्ने मुद्दाहरू उठाइएका थिए। पारिस्थितिक प्रणाली, वातावरण, जैविक विविधता संरक्षणलगायतका सवाललाई मुख्य ‘स्लोगन’ बनाउने गरिएको पनि उनले जनाए। ‘जसरी पनि पृथ्वी संरक्षण गर्नुपर्‍यो भन्ने हो,’ उनले भने,‘ विषय विश्वव्यापी भए पनि कार्यक्रम राष्ट्रिय तहबाट नै हुनुपर्छ।’

मुख्यतः प्रकृतिमा आधारित समाधान, जलवायु परिवर्तन न्यूनीकरण, प्रदूषणको विषयमा एउटा सन्धि हुन लागेको छ। नेपाल वनले ढाकेको क्षेत्र तथा जैविक विविधताका आधारमा राम्रो अवस्थामा रहेको उनले बताए। जलवायु परिवर्तनमा काम भइरहे पनि पर्याप्त नभएको उनको भनाइ छ। पौडेलले भने ‘यसमा लगानी जरुरी छ। अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ। प्रदूषण नियन्त्रणजस्ता विषयमा थप काम गर्नुपर्छ।’

सरकारले औपचारिक कार्यक्रम राखेको छैन। जिल्ला तथा प्रदेशलाई कार्यक्रम गर्न ‘सर्कुलर’ गरिएको छ।
मेघनाथ काफ्ले, प्रवक्ता, वन तथा वातावरण मन्त्रालय


सन् २०३० पछि सम्पूर्ण विद्यालयलाई कार्बन न्युट्रल बनाउन लक्ष्यका साथ काम अघि बढाएको छ। यसले पृथ्वी जोगाउन मदत पुग्छ ।
घनश्याम गुरुङ,कन्ट्री रिप्रिजेन्टेटिभ, डब्लूडब्लूएफ

१० वर्षको अवधिलाई नियाल्ने हो भने महत्त्वपूर्ण खालको सुधार नभए पनि क्रमिक सुधार भइरहेको छ। 
बुद्धिसागर पौडेल, प्रमुख, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा

मृग देख्दा सुकुटी खानुपर्छ भन्दैनन् आजका बालबालिका। त्यसको फोटो कसरी खिचेर राख्ने भन्ने सोच्छन्। 
अनिलकेशरी शाह, बैंकर

वायुको गुणस्तरको कुरा गर्दा मापदण्डहरूको परिपालना अलि कमजोर नै रहेको उनले बताए। १० वर्षको अवधिलाई नियाल्ने हो भने महत्त्वपूर्ण खालको सुधार नभए पनि क्रमिक सुधार भइरहेको उनले दाबी गरे। विश्वव्यापी कारणले चरम मौसमी घटना बढिरहेकाले त्यसका परिणाम नेपालजस्ता मुलुकले भोग्नु परेको बताए। नेपालमा वायु प्रदूषण मात्रै नभएर दृश्य प्रदूषण, घरैभित्र हुने प्रदूषणलगायतका विषयमा पनि काम हुनुपर्ने पौडेलले बताए।

बाल सचेतना

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम गुरुङले प्रकृतिको संरक्षणका लागि मुलुकभरका बालबालिका सम्मिलित ‘इकोक्लब समिट’ चितवनमा गर्न लागिएको जानकारी दिए। झन्डै ११ वर्षको अन्तरालमा ‘इकोक्लब समिट’ गठन गर्न लागिएको हो। पूर्वी पहाडको ताप्लेजुङदेखि, तराई र पश्चिमका विद्यालयका ३० जना शिक्षक र १ सय ७० जना विद्यार्थी जम्मा भएका छन्। उनीहरू मुलुकका ९ सय ६० वटा इको क्लबमा आबद्ध छन्। उक्त कार्यक्रमअन्तर्गत सन् २०३० सम्ममा नेपालका सम्पूर्ण विद्यालय ‘वेस्ट फ्रि’ बनाउने लक्ष्य छ।

नेपाल सरकारबाट पारित गरिएको इको ग्रिन निर्देशिकालाई पुनः सापेक्षित गरेर नेपालका सम्पूर्ण विद्यालयलाई वेस्ट फ्रि बनाउने लक्ष्य छ। त्यसैगरी सन् २०३० पछि सम्पूर्ण विद्यालयलाई कार्बन न्युट्रल बनाउन लक्ष्यका साथ काम अघि बढेको पनि भुसालले बताए। सम्पूर्ण विद्यालयलाई नवीकरणीय ऊर्जामा लैजाने तयारी भइरहेको पनि उनले बताए। विस्तारै सोलार राख्ने, कार्बन उत्सर्जन गरेबापतको रूख रोपेर कार्बन फ्रि गर्न लगाउनेलगायतका कार्यक्रम रहेका छन्।

चितवनमा पृथ्वी दिवस मनाउन आएका बालबालिकाले वेस्ट फ्रि कार्यक्रमअन्तर्गत विद्यालयमा कुहिने र नकुहिने फोहोर छुट्ट्याउने, रिसाइकल गर्ने र त्यसबाट मल बनाउने विधि सिक्नेछन्। यस्तै विद्यार्थीले प्रकृतिको संरक्षणको विषयमा एकअर्काबाट सिक्ने र सिकाउनेछन्। ‘ग्रिन क्लाइमेट’मा जाने माहोल बनाउने प्रयासस्वरूप समिट गर्न लागिएको हो। यस कार्यक्रमले प्रत्येक विद्यालयमा वातावरणसम्बन्धी शिक्षा दिएको, हिमालमा बस्ने बालबालिकाले हिमालको जैविक विविधता, पर्यावरणको बारेमा पढ्ने र तराइकोेले त्यसैअनुसार ज्ञान प्राप्त गर्नेछन्। बालबालिकाले विभिन्न सेमिनारमा भएको कुरा इकोे क्लबमार्फत विद्यालयमा पढाउने छन्।

पृथ्वीको मुख एकदिन हेरेर पुग्दैन

डब्लूडब्लूएफबाट युथ लिडरसिप एडभाइजरका रूपमा बालबालिकालाई प्रोत्साहन गरिरहेका बैंकर अनिलकेशरी शाहले बालबालिकाको सञ्जाल बनाएर एकबाट अर्कोमा राम्रो कामको विस्तार गर्ने प्रयास भइरहेको बताए।

बालबालिकाले समाजमा वातावरण संरक्षणका विषयमा सकारात्मक प्रभाव पार्ने उनले बताए। ९ सय ६० इकोे क्लबमा आबद्ध पाँच लाखभन्दा बढी वातावरण संरक्षकले ५० लाख बढी नेपालीलाई वातावरणको विषयमा सचेत गराउने यस कार्यक्रमको उद्देश्य रहेको शाहले जनाए। जगदम्बा स्कुलमा पहिलो पटक सुरु भएको इको क्लब कार्यक्रमले विद्यालयहरूले कार्बन फुटप्रिन्ट नगरोस् भन्ने सन्देश दिन चाहेको पनि शाहले बताए।

‘पृथ्वीको मुख एक दिन मात्रै हेरेर पुग्दैन,’ शाहले भने, ‘हरेक दिन विचार गर्नुपर्छ। पृथ्वी संरक्षण कसरी गर्ने त्यो प्रतिबद्धता बोकेर अगाडि जानुपर्छ भन्ने बालबालिकाले सिक्नुपर्छ।’ अहिलेको युवाहरूमा पहिलेको पुस्ताले बिगारेको कुरा पनि सपार्नुपर्छ भन्ने चेतना पाएको उनले बताए। ‘मृग देख्दा सुकुटी खानुपर्छ भन्दैनन् आजका बालबालिका। त्यसको फोटो कसरी खिचेर राख्ने भन्ने सोच्छन्,’ शाहले भने।

पर्यावरणको विषयमा नेपाल उदास बन्नु नपर्ने उनको तर्क छ। इतिहासमा वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याएर संसारभरि नै उदाहरण बन्न सफल भएको छ। त्यसैगरी बाघको संख्या दोब्बर बनाएर नेपाल हिरो भएको छ। ‘वातावरणको क्षेत्रमा केही नभएको होइन, पक्कै पनि केही भएको छ,’ उनले भने, ‘पुराना पुस्ताले नराम्रो गर्‍यो। त्यसलाई विस्थापन गर्ने काम नयाँ पुस्ताले गरिरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.