बिसु सुदूरपश्चिम र कर्णाली प्रदेशको सामाजिक र ऐतिहासिक पर्व हो। देउडा लोकसंस्कृति र लोक परम्पराका गीत हुन्।
नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख संक्रान्तिको दिनलाई बिसु पर्व भन्ने गरिन्छ। नयाँ वर्षको स्वागतको लागि सेती, महाकाली र कर्णाली अञ्चल अर्थात् हालको ६ र ७ नं. प्रदेशको महान् र ऐतिहासिक पर्व हो यो। यहाँका हरेक बस्तीहरूमा कमेरो र रातोमाटोले आआफ्नो घरआँगन लिपपोत गरिन्छ। जसलाई घर छिप्नु भनिन्छ।
वसन्त ऋतुको आगमनले सिँगारिएको सुन्दर गाउँबस्तीमा बिदेसिएकाको आगमन हुन्छ। आत्मीय मिलनले सबैको अनुहारमा नयाँ योजनाको चमक भेटिन्छ। नयाँ लुगा लगाउने मीठो खाने बिसुका विशेषता हुन्। वर्षभरि विष नलागोस् भनेर नरनारीले शरीरमा तितेपाती दलेर नुहाउने गर्छन्। वटुक (मासको बारा) र दहीमा भिजाएका चामल अनिवार्य खानुपर्छ। यसोगर्दा वर्षभरि शुभ हुन्छ, शरीरमा शीतलता बढेर आउँछ भन्ने मान्यता रहिआएको छ।
शिवजीको रूप सम्झेर पुरुषवर्गले लौराको पूजा गर्छन्। दिदीबहिनीले कपडाका पुतली बनाएर ५/६ दिनसम्म पार्वती स्वरूपमानी पूजा गर्ने गर्छन्। जसलाई रतपुतला भनिन्छ। ४÷५ दिनसम्म महिलाले रतपुतलासम्बन्धी गीत गाउने गर्छन्। सिन्नु (सिस्नु) पानी लगाउनु बिसु पर्वको आकर्षणको विषय हो। देवरभाउजूबीचको आत्मीय सम्बन्धको तन्नु नछिनियोस् दिगो रहोस् भन्न आपसमा सिस्नुपानी लगाइन्छ। जति सिस्नुले पोल्यो त्यति नै विषय हराउँछ भन्ने कथन छ। देवरले भाउजूलाई, भाउजूले देवरलाई मात्र नभएर सानाले ठूलालाई यस दिनमा सिस्नु लगाएर रमाइलो गरिन्छ। राजधानीमा बिसु पर्वका दिनमा देउडा समाजले आयोजना गर्दै आएको सांस्कृतिक पर्वमा पूर्व प्रधानमन्त्रीहरूका साथै अन्य विशिष्ट व्यक्तित्वहरूलाई राजधानीमा पनि सिस्नु लगाएको छुँ। सिस्नुले पोले पनि शरीरको रोग फाल्छ, निरोगी होइन्छ भन्ने मान्यता छ।
बिसु सुदूरपश्चिम र कर्णाली प्रदेशको सामाजिक र ऐतिहासिक पर्व हो। देउडा लोकसंस्कृति र लोक परम्पराका गीत हुन्। सुदूर र कर्णालीको माटोमा बिसु पर्व प्राचीनकालदेखि पितापुर्खाको नासोको रूपमा आपसमा मनाउँदै आएका छौं। यसैगरी देउडा गीत पनि पुर्खाहरूको आवाज र कहानीलाई सम्झँदै माटोको बास्ना लिँदै, गाउँदै, नाच्दै हातेमालो गर्दै आइरहेका छौं। देउडाको परिभाषा यसअघिका बताइसकेकाले नदोहोर्याऊँ।
यति निवेदन गरौं कि सुदूरपश्चिम प्रदेशको अलिखित महाकाव्य हो, देउडा। महाकवि लक्ष्मीप्रसाद देवकोटा, आँसुकवि शम्भुप्रसाद ढुंगेल, कविशिरोमणि लेखनाथ पौड्याल आदि प्रतिभा देउडा भूमिमा जन्मेका छन्। चेतनाको कमी, आर्थिक अवस्थाका कारण र राजनीतिक अस्थिरताका कठिनाइले प्रतिभाहरू सुर्मा सरोवरको पानीझैं जमेका छन्।
स्याउलाकी सिटिक्या लौणी मलेवाकी भाटी,
वाउली जोड्या धर्ती भाई दाइनी भयै माटी।
जंगलमा सुकेका स्याउला बोकेर ल्याउँदा मसिनो लौराले च्यापेर ल्याउँदा खस्दैन। माटी महतारी सम्झेर ढोगेरमात्र देउडा खेल खेल्नु भन्ने आशयको गीत हो यो। देउडा खेल्दा बुझ्ने मानिसले धर्तीलाई ढोगेर मात्र खेल्ने गर्छन्। जुन परम्परा नयाँ पिँढीमा पनि कायम छ। राजधानीमा बिसु पर्व मनाउन थालिएको अनौपचारिक रूपमा २०३६ सालदेखि हो।
त्यसबेला सुदूरपश्चिम छात्र संघ नामक विद्यार्थीको समूहले ललितपुर गोदावरीमा बिसु पर्वका दिन वनभोजको आयोजना गर्थे। राजधानीमा अध्ययनरत विद्यार्थीको ठूलो जमघट हुने गथ्र्याे। प्रमुख अतिथिका रूपमा शेरबहादुर देउवा उपस्थित भएर हामीसँगै देउडा खेल्नु हुन्थ्यो।
संस्कृतिप्रतिको मोहले त्यसबेलाका हामी विद्यार्थी तीन÷चार घण्टासम्म पाइँताला प्रधान खेल देउडा खेलेर घरकी सौराई मेट्ने गथ्र्याैं। एकापसमा सिस्नुपानी लगाएर सुदूरपश्चिमको प्रचलन यस ठाउँमा देखाउने गथ्र्याैं। यो क्रम लगातार २०४५ सालसम्म कायम रह्यो। असाध्य एकता थियो, हामीमाझ। प्रतिबन्धित काल भएर होला देउडा गीतमार्फत पञ्चायती व्यवस्थाको धज्जी उडाउथ्यौं।
देशको राजनीतिक कारणले केही वर्ष बिसु पर्वमा देउडा खेल राजधानीमा खेल्न पाइएन। तर गाउँघरमा बिसु पर्व मनाउँदै देउडा खेल्ने चलन रोकिएन। पुरुष र महिला वर्गका भिन्नाभिन्नै खेलको रौनकपन काली कर्णालीका सबै जिल्लामा भयो। सञ्चारको अभावले ती मौलिक संस्कृतिको प्रचार भने हुन सकेन। बिसु त्यस क्षेत्रको यस्तो मौलिक पर्व हो जसले प्रकृतिसँग मानव जीवनसँग प्रत्यक्ष जोड्ने काम गर्छ।
बिसु पर्व र देउडा खेल
सुदूरपश्चिम र कर्णाली प्रदेशका लाखौं बासिन्दाको ऐतिहासिक पर्व बिसुमा व्यवस्थित तरिकाले राजधानीमा देउडा खेल्ने र खेलाउने परम्पराको थालनी देउडा समाज, प्रशंसा संरक्षण समाजले गरेका हुन्। बिसु पर्वको आयोजना देउडा समाजले र गौरा पर्वको आयोजना प्रशंसा संरक्षण समूहले गर्दै आइरहेका छन्। २०५७ सालदेखि देउडा समाजले बिसु पर्वको राजधानीमा आयोजना गरेर जननिको संस्कृतिको संरक्षण गर्दै आएको छ।
पानी तिर्खाए झैं संस्कृतिको प्यासले तिर्खाएका सुदूरपश्चिमवासी राजधानीमा बिसु पर्वमा देउडा खेल्न पाउँदा निकै खुसी देखिन्छन्। नयाँ वर्षको पहिलो दिनको भेट, शुभकामना आदानप्रदान गर्ने परम्पराले मानिसको मुहारमा चमक देखिनु स्वाभाविक हो।
माथिको सालिम्या स्वाणो तलको मौभेरी
हजुरको सम्झना आउँछ दिनका नौफेरि
सालिमू (घर छुइन प्रयोग गरिने लामो घाँस) लगाएको स्वाणो (बारी बगैंचा) माथि छ। अलि तल माहुरीका धारा छन्। हरियाली वनजंगलले बस्ती घेरेको छ। दिनको नौ फेरासम्म घरको सम्झनाले सताउँछ। यसैगरी–
माथि पण्यो साइपाल हिमाल तल बग्न्या सेती
जन्म्या ठाउँको वौलो माया क्यान लाग्छ यति।
देशप्रेम र जन्मभूमिको अगाध मायाले सताउँछ। बौलो माया (गहिरो माया)ले जन्मेको ठाउँलाई नजिक गराउँछ, आत्मीयताको बोध गराउँछ। यी र यस्तै हजारौं गीत र भाका राजधानी र राजधानी बाहिर छर्न २३ वर्षअघि राजधानीमा देउडा समाजको स्थापना गरिएको हो। राजधानीमा बस्नु हुने सम्पूर्ण सुदूरपश्चिमवासीलाई देउडा समाजले गोलबद्ध गराई विशिष्ट व्यक्तिलाई देउडा खेलाउँदै आएको छ।
मानिस भाषणमा भन्दा गीत सुन्न रुचाउँछन्। राजधानीमा हुने गरेको विविध कार्यक्रममा अहिले राजनीतिककर्मी गीत गाउने नाच्ने गरेबाट स्पष्ट हुन्छ। बिसु पर्वको यस पटकको देउडा खेलले पनि यही उदाहरण प्रष्ट गर्यो।
पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भीम रावल केवल राजनीतिककर्मी मात्र नभएर संस्कृतिकर्मी पनि हुन्, देउडा खेलाडी पनि हुन्। विगत ६ वर्षदेखि उनी बिसु कार्यक्रममा सहभागी हुँदै आएका छन्। मञ्चमा मन्तव्य पनि देउडा गीतबाट नै दिने र चौरमा खेलाडीसँग पनि हात समाउँदै पाइँतला मिलाएर देउडा खेल्न डा. रावल औधी खुसी हुन्छन्। १ गते बिसु पर्वमा सुदूरपश्चिम र कर्णालीवासीसँग झन्डै दुई घण्टासम्म देउडा खेलेर शुभकामना आदानप्रदान गरे। एकातिर केटा अर्काेतिर केटी समूहको देउडा खेल साँच्चिकै रमाइलो रह्यो।
याँ भैंसी भोकले मर्या लैजा भैंसी लेक
अन्याय र अत्याचारलाई सबै मिली छेक।
राजपुर है जंगीपुर, कुइँना है कचाली
क्या चणी गुलावी रंग क्या माया बसाली।।
महिला वर्गबाट पनि हामीलाई देउडामा गरिएका प्रश्न–
भीम रावललाई कार्बाही गर्न्या एमालेको नीति,
अरूलाई हेपी हिँड्न्या केपीको छ खेती।
देउडा सम्राट् आयाका छन् नेता आयाका छन्
महिलाबाट नेताज्यूले माया पायाका छन्।
लोग्न्या पनि जम्र्याका हुन् महिलाका मूलबाट
मालगाडी कसरी तर्छ झुलुंग्या पुलबाट।
देउडा संस्कृति र गायनको सम्मान
देउडा खेल (नृत्य) र गायन आफैंमा मूर्त र अमूर्त संस्कृति हो। गायकी विशेषता र खेलको रूपको अध्ययन गर्दा सम्भवतः नेपालभरिको नौलो र मौलिक भावको गीत नैं देउडा हो। देउडा वनगीत हुन्। एकान्त चौरका र विस्तारै पटांगिनीमा भित्रिएका गीत नै देउडा हुन्। पंक्तिकारले निकै मेहनत र इमान्दारीपूर्वक सहरमा पुर्याएँ। अनि रेडियो नेपालको स्टुडियोमा २०३४ कात्तिक १४ गते फूलबारीनामक कार्यक्रममा आफैंले गाएँ। जस्को बिजारोपण दरिलो तरिकाले भन्यो।
धेरै नै हिउँदवर्षा सुखदुःख पार गर्दै देउडा लोक संस्कृतिले फैलिने मौका पायो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा सांस्कृतिक क्रान्ति गर्ने पहिलो व्यक्तिका नाताले यसको संरक्षण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको महसुस विगत ४५ वर्षदेखि गर्दै आएको छु। त्यस क्षेत्रको भूमिको मौलिक पहिचान गर्नु, गराउनु आवश्यक थियो। जस्को जिम्मेवारी मातृभूमिले मलाई दिलाइन्। सो जिम्मेवारी केही पूरा भएका छन्, धेरै बाँकी छन्।
नयाँ पुस्ताको आगमनले खुसी तुल्याएको छ। अहिले नयाँ नयाँ प्रतिभा देखा परिरहेकाले देउडा संस्कृति र संगीतको राजमार्ग अब गतिशील बन्दै गइराखेको छ। सुरुदेखि वर्तमानसम्म देउडाको उन्नयनका लागि गायन र खेलमार्फत सुसूचित गराउँदै आएको हो। यही भएर होला पछिल्लो पटक वैशाख १ गते बिसु संक्रान्तिका दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा सात सयभन्दा बढीलाई मानपदवी र अलंकारद्वारा अलंकृत गरियो।
२०६२/०६३ सालको जनआन्दोलनमा प्रत्येक टोल, गल्ली, सडक र सहरमा लोकतान्त्रिक देउडा गीत ‘झ्याम्म झ्याम्म’ गाएर आन्दोलन सफल पारिएको थियो। भोलिका दिनमा पनि बस्ती बस्तीका नयाँ भाका गाएर देउडा गीतको श्रीवृद्धि गर्नु कर्तव्य हुनेछ।
अन्तमा गीत गाउनु आफैंमा खुबी हो। अझ संस्कृतिपरक गीतहरू संकलन गरेर गाउन सक्नु विशेष खुबी हो। संस्कृतिमा विकासको सम्भावना देखेर राजमार्ग निर्माण गर्नु विशेषता हो। संस्कृतिको राजमार्गमा जो कोही हिँड्न सक्छन् तर धरातल कदापि बिर्सन हुन्न। बिसु गौरा पर्व नेपालका मौलिक पर्व हुन्। देउडा गीत र देउडा खेल पनि मौलिक संस्कृति हुन्। जस्को जगेर्ना गर्नु जौ तीलका बोटलाई मलजल दिनुसरह हो। संस्कृति र संस्कार बचाएर राख्नुपर्छ।