चुनावअघि सबैलाई मन्त्री बनाउँछु भन्या होइनन्, कति ढाँट्न सक्या? : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तनकारी शक्तिलाई एमालेमा आउन आग्रह गरेका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले सच्चा वामपन्थीलाई एमालेमा आउन आग्रह गरे।
ओलीले भने, ‘पछिल्लो पटक हामीमाथि भयानक आक्रमण भयो। २०७७ साल कम्युनिस्ट आन्दोलनका लागि प्रतिक्रियावादीले प्रहार गरेको वर्ष भयो। तैपनि हामी एक नम्बर पार्टी हौं।’ नेपाललाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी बनाउने एमालेको चाहना रहेको बताए।
ओलीले भने, ‘बुर्जुवाहरूको सेवामा समर्पित हुने, कम्युनिस्ट आन्दोलनका ठूला गफ गर्ने, कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने खालका विरालासँग होसियार पुर्याउनुपर्छ।’
ओलीले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको बताए। गठबन्धने मन्त्री बाँड्दै हिँडेको उनको आरोप छ। ओलीले भने, ‘तिनीहरूमा सत्ताको उन्माद छ। यत्रो सांसद् छन्, मन्त्री बनाउन सकेको छैन। अहिले मन्त्री बाँड्दै हिँडेका छन्। मन्त्री बाँड्दै हिँड्याछन्, ढाँट्न कति सक्या? प्रलोभनमात्रै पारे। आचार संहितालाई धुलोपिठो पारे। के-को आचारसंहिता? हामीले कतै पनि केही गरेका छैनौं।'
उनले गठबन्धन दलका नेताहरूले तनहुँ र चितवनमा मन्त्री बाँड्दै हिँडेको बताए। 'तनहुँ गएर मन्त्री बाँड्दै हिँडेका छन्। चितवन गयो मन्त्री बनाउँछु। उहाँ गयो मन्त्री बनाउँछु भनेका छन्। चुनावअघि सबैलाई मन्त्री बनाउँछु भन्या होइनन्, कहाँ बनाए खोइ?’