प्रदूषणको असर सबै उमेर समूहलाई ‘उत्ति नै’
काठमाडौं : गत साता सार्वजनिक भएको एक अध्ययनले भन्छ, ‘वायु प्रदूषणले कुनै पनि उमेर समूहका मानिसलाई असर गर्छ।’ लन्डनको इम्पेरियल कलेजस्थित वातावरण अनुसन्धान समूहले गरेको अध्ययनले सबै समूहलाई प्रदूषणले असर गर्ने दाबी गरेको छ। ‘इम्प्याक्ट अफ एयर पोलुसन अक्रस द लाइभ कोर्ष(इभिडेन्स हाइलाइट नोट’ नाम दिइएको रिसर्चमा यस्तो जनाइएको हो।
उक्त अध्ययनका अनुसार विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले पनि प्रदूषणलाई विश्वव्यापी स्वाथ्य आपतकालीन मानिएको बताएको छ। त्यसैगरी, मानिसको जीवनका प्रत्येक चरणमा प्रदूषणको हानी गर्ने प्रमाणित भइसकेको जनाएको छ। वायु प्रदूषणको असर मानिसले प्रत्येकपटक श्वास लिँदा पर्ने र त्यसको असर जिन्दगीभर रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।
विभिन्न अध्ययनहरूले प्रदूषणको असर गर्भावस्थादेखि नै सुरु हुने देखाएको छ। जन्मिने शिशुहरूमा समेत समस्या देखिएको छ भने विद्यालय जाने बालबालिकामा फोक्सोको विकास ढिला हुने, दमको लक्षणहरू बिग्रँदै जाने, मानसिक स्वास्थ्य बिग्रिने समस्या देखिएको छ। उक्त अध्ययनका अनुसार नयाँ अनुसन्धानहरूले वायु प्रदूषण र मस्तिष्क स्वास्थ्यमा, मानसिक स्वास्थ्य लगायतका डिमेन्सियाका समस्या प्रदूषणसँग जोडिएको जनाएको छ।
भ्रुणको विकासमा समस्या, कम तौलको जन्मिने, समय अगाडि नै जन्मिने, गर्भखेर जाने, मृत्युदर बढ्ने समस्या गर्भवस्थाको समयमा देखिएको छ। त्यसैगरी किशोरावस्थासम्म पुग्दा फोक्सोको वृद्धिविकासमा समस्या, दम, उच्च रक्तचाप, मानसिक समस्या र बिरामीपना, संज्ञात्मक क्षमता, हाइपर एक्टिभिटी (अति सक्रियता) लगायतका समस्या रहेको उल्लेख छ।
त्यसैगरी वयस्कसम्म पुग्दा मानिसको चाँडै मृत्यु हुने, मुटुमा समस्या हुने, स्ट्रोक हुने, मस्तिष्क तथा मानसिक समस्या हुने, श्वासप्रश्वासमा समस्या हुने पनि उल्लेख छ। त्यसैले वायु प्रदूषण नियन्त्रणका लागि काम गर्नुपर्ने र सचेत हुन पनि सुझाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्छोले पृथ्वी दिवसको सन्दर्भ पारेर प्रदूषणको विषयमा महत्वपूर्ण सन्देश प्रवाह गरेका छन्। गत साता काठमाडौंको वायुको गुणस्तर डब्लूएचओले तोकेको भन्दा दशौं गुणा बढी खराब रहेको जनाएका छन। हिन्दु कुश हिमालय क्षेत्रमा वायुप्रदूषण रोक्नका लागि तुरुन्त कदम चाल्नुपर्ने समय आएको बताएका छन्। हालको अवस्था मानव तथा वातावरणीय स्वास्थ्यलाई गम्भीर समस्या पार्ने खालको भएकाले सरकार, सरोकारवाला निकायहरूलाई तदारुकता देखाउन सुझाएका छन्।
यस क्षेत्रमा पर्ने प्रत्येक ठाउँमा प्रदूषणको असर परेको उनले जनाएका छन्। भू–जलवायु परिस्थितिले क्लाक कार्बनजस्ता प्रदूषणलाई लामो दूरीसम्म लैजान सक्ने उल्लेख गरेका छन्। सहरी भू–भागबाट निस्किएको सवारी तथा अन्य किसिमाका उत्सर्जनले दुर्गमका किसानहरूलाई समेत असर गरेको उनको सन्देशमा छ। उक्त सन्देशमा उनले डब्लूएचओले समेत घरभित्र हुने तथा बाहिरी प्रदूषणले प्रत्येक वर्ष सात मिलियन बच्चाको समयपूर्व मृत्यु (प्रिम्याचर डेथ) हुने गरेको जनाएका छन्। र, उक्त नम्बर कोभिड–१९ बाट मृत्यु हुनेको भन्दा धेरै रहेको जनाएका छन्।
वायुको गुणस्तर बिग्रँदो रहेकाले इसिमोडले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरेको छ। बंगलादेश, म्यानमार, नेपाल र भारतका केही भूभागमा समेत प्रदूषणको अवस्था अत्यन्त खस्किएको भनिएको छ। उपत्यकामा अप्रिल ११ मा पीएम २.५ को मात्रा बढेर २०५ पुगेको थियो। त्यसैगरी अप्रिल १३ मा पीएम १० को मात्रा ४३० पुग्यो। उक्त नम्बरले वायु प्रदूषण नियन्त्रणका लागि तुरुन्त केही गर्नुपर्ने सन्देश दिएको छ।
वातावरण मन्त्रालय, प्रवक्ता मेघनाथ काफ्लेले वातावरणको विषय बहुक्षेत्रीय तथा क्रसकटिङ मुद्दा भएकाले सबैले मिलेर काम गर्नुपर्ने बताए। प्रदूषणका स्रोतमा जानुपर्ने बताए। उनले भने ‘वातावरण सबैसँग जोडिएको विषय हो। आफ्ना क्षेत्रको सबैले हेरिदिएमा काम गर्न सजिलो हुन्थ्यो।’ यातायात, उद्योग, निर्माणका कामलगायत विभिन क्षेत्रमा जोडिएका विषय भएकाले के गर्ने भन्ने विषयमा निचोड नआएको उनले बताए।
प्रदूषण बढेको यथार्थ भए पनि निश्चित तहसम्म बनमा डढेलो लाग्नु प्राकृतिक प्रक्रिया भएको उनले जनाए। उनले भने, ‘निश्चित तहमाथि गएपछि प्रकोप बन्छ। त्यसलाई रोक्नुपर्छ।’ वनको सम्पूर्ण काम गर्ने जिम्मेवारी प्रदेश सरकारहरूलाई दिएको काफ्लेले बताए। लगातार चार, पाँच वर्षदेखि डढेलो नियन्त्रणका लागि कार्यक्रमहरू गरिरहेको बताए।
वन डढेलो नियन्त्रणका कामहरू अगाडि बढाउनका लागि कार्ययोजना बनाएर प्रदेशहरूलाई सर्कुलर गरिएको बताउँदै उनले भने, ‘दुई महिना पहिला नै वन विभागले सर्कुलर गरेको हो। तर, पोहोरभन्दा धेरै डढेलो देखिएको छ। कहिलेकाहीँ भएका तयारीले पनि धान्दैन।’
वातावरण विभागका प्रवक्ता, शंकरप्रसाद पौडेलले सञ्चार माध्यममा काठमाडौं विश्वको एक नम्बर प्रदूषित सहर बनेको विषय गलत भएको दाबी गरे। प्रदूषणको तह खतराको अवस्थामा नपुगेको समेत दाबी गरे। डढेलोको समय भएकाले वायु प्रदूषण खस्किएको भए पनि विश्वको एक नम्बर नभएको पौडेलको भनाइ छ। ‘हाम्रा स्टेसन जति ठाउँमा राखेका छौं। गुणस्तरीय तथ्यांक दिन्छन्। मिडियाले कहाँको डाटा लियो?’ असन्तुष्टि पोख्दै पौडेलले भने, ‘नम्बर जति भए पनि त्यसले अर्थ राख्दैन। तर, प्रदूषणको तह कति हुन्छ त्यसले अर्थ राख्छ। हिउँदको भन्दा धेरै कम प्रदूषण थियो।’
विभागअन्तर्गत सञ्चालित ८ वटा स्टेसनले आइतबार काम गरेका छन्। चौबीसै घण्टा चल्ने भएकाले समस्या केहीमा समस्या आइरहेको हुने पनि उनले बताए। गएको एक महिनामा औसतमा दैनिक एक्युआईको मात्रा १६६ भन्दा माथि नगएको उनले बताए। तर प्रदूषण कसरी घटाउने भन्ने विषय महत्वपूर्ण भएको बताउँदै उनले भने। ‘कहिलेकाहीँ थोरै नम्बरमा पनि एक नम्बरमा आइन्छ। तर, प्रदूषणको तह कति छ त्यसले महत्व राख्छ।’
(एक्युआई) ३ सयभन्दा माथिलाई विपद्का रूपमा लिने र सबैका लागि हानिकारक हुने बताए। २ सयसम्म सबै उमेर समूहकालाई नराम्रो हुन्छ। अहिलेको अवस्था एकदमै जोखिमपूर्ण नभएको उनले बताए। अहिलेभन्दा २०२१ मा ब्यापक प्रदूषण गम्भीर अवस्था ल्याएको बताए।
सन् २०२१ मा सामान्यतभन्दा दशौं गुणा बढी डढेलो लागेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार उक्त वर्ष ६ हजार ५ सय ३७ वटा डढेलोको घटना भएका थिए। त्यतिबेला काठमाडौंको (एक्युआई) को मात्रा ६ सय ३२ थियो। जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेभन्दा बीसौं गुणा बढी हो। शून्यदेखि ५० एक्युआईलाई स्वस्थ्य मानिन्छ।
शून्यदेखि ५० एक्यूआईलाई स्वस्थ्य मानिन्छ। एक सय ५० माथिलाई अस्वस्थ्य। दुई सयसम्म पुगेपछि संवेदनशील समूहलाई असर गर्छ। तीन सय एक्युआई सबैका लागि जोखिमयुक्त तथा आपतकालीन मानिने विज्ञहरूले बताएका छन्।