बारामा बढ्यो मतदान, चितवन र तनहुँमा घट्यो

बारामा बढ्यो मतदान, चितवन र तनहुँमा घट्यो
भरतपुरको सिद्धि विनायक विद्यालयमा छोरी बोकेर मतदान गर्दै । तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

कलैया/चितवन/तनहुँ : बारा–२ को उपनिर्वाचनमा आइतबार मंसिर ४ को निर्वाचनको तुलनामा बढी मतदान भएको छ। चितवन–२ र तनहुँ–१ मा भने घटेको छ। बारा–२ मा यसअघि ६३ प्रतिशत मत खसेकामा यसपटक ६५ प्रतिशत पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। चितवन–२ मा यसअघि ६७.६३ प्रतिशत मतदान भएकामा यसपटक ६३ प्रतिशत मात्रै पुगेको छ। तनहुँ–१ मा यसअघि ५४.३६ प्रतिशत मतदान भएकामा उपचुनावमा ५१.७० प्रतिशत मात्रै मत खसेको छ। 

मंसिरभन्दा यसपटक दुई प्रतिशत मत बढी खसेको बाराका जिल्ला निर्वाचन प्रमुख सरोज चौधरीले बताए। ६ स्थानीय तहका ४४ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ मतदाता थिए। जसमध्ये ६८ हजार ८ सय ८७ मत खसेको र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए। उनका अनुसार यो निर्वाचन क्षेत्रका कुनै पनि स्थानमा विवाद भएन। 

यद्यपि, केही मतदान केन्द्रमा विवादको स्थिति देखिएको थियो। देवताल गाउँपालिका–७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जसपा नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो। खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै जसपाका नेता तथा कार्यकर्ताले विरोध जनाएका थिए। 

सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर यादवलाई जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो। निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। मतदानका क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जनासमेत पक्राउ परेका थिए। आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू पनि रिहा भएका छन्। 

दक्षिणी क्षेत्रका केही मतदान केन्द्रमा विवाद देखिएको थियो। महागढीमाई नगरपालिका–२ को इनर्वास्थित केन्द्रमा भने मतदान अधिकृतले सञ्चारकर्मीलाई प्रवेश रोक लगाएका थिए। त्यही क्रममा त्यहाँ रहेका जसपाका नेता कार्यर्ताले सञ्चारकर्मीलाई दुव्र्यवहार गरेका थिए। 

मतदानका क्रममा पाँच दलीय गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप जनमत अध्यक्ष डा. सिके राउतले लगाए। विभिन्न केन्द्रमा अनुगमनमा पुग्दा प्रहरीले घेराबन्दीमा पार्दै मतदान स्थलसम्म पुग्न नदिएको उनले सुनाए। जसपा कार्यकर्ताले केही मतदान स्थलमा जनमतका प्रतिनिधिलाई बस्नै नदिएको र बुथ कब्जासमेत गरेको दाबी उनले गरे। यसबारे सुरक्षा निकाय र निर्वाचन आयोगलाई जानकारी गराउँदा पनि चासो नलिएको गुनासो उनको थियो। 

बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले पनि सत्ताधारी दलले सत्ताको दुरुपयोग गरेको आरोप लगाए। मतदानस्थलमा अनुगमनमा पुगेका बेला सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले सत्ता गठबन्धनका दलले प्रहरी प्रशासनको मिलेमतोमा बुथ कब्जा गर्न खोजेको बताए। त्यसको प्रतिवाद गर्दा उल्टै प्रहरीले आफूलाई जबरजस्ती गरी मतदानस्थलबाट धपाएको उनले बताए। 

सांसद ज्वालाकुमारी साहले पचरौताको बेल्दारी गएका बेला प्रहरीले फर्काएको बताइन्। मधेसका मुख्यमन्त्रीसहित मन्त्रीहरू निर्वाध रूपमा सत्ताको दुरुपयोग गर्दै घुमिरहेको भने नदेखेको उनको भनाइ थियो। मधेसका मुख्यमन्त्री सरोज यादवलाई पचरौता नगरपालिकाको बेल्दारीबाट सेनाले फर्काएको थियो। आचारसंहिताविपरीत मुख्यमन्त्री जसपाको मत माग्दै पुगेपछि स्थानीयवासीले विरोध गरेका थिए। 

चितवनमा देखिएन उत्साह

पाँच महिनापछि भएको उपनिर्वाचनमा चितवनमा उत्साह देखिएन। मंसिरमा भएको निर्वाचनको तुलनामा यसपटक कम मत खस्यो। यसपटक ६३ प्रतिशत मात्र मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए। मंसिरमा ६७.६३ प्रतिशत मतदान भएको थियो। बाहिरी जिल्लामा रहेका मतदाता खासै फर्किएनन्। अत्यधिक गर्मीका कारण बिहानै मतदानस्थलमा भीड लागेको थियो। 

मतदाताले निर्वाचनपछि मुलुक र जनताको काममा खासै परिवर्तन नभएको गुनासो गरेका थिए। ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ मतदाता थिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना हँुदै छ।

चितवन–२ को कृष्णपुर मावि केन्द्रमा मतदान तीन घण्टा अवरुद्ध बन्यो। रास्वपा उम्मेदवार रवि लामिछाने पक्षधरले नाराबाजी गरेसँगै विवाद सुरु भएको थियो। विवाद सल्टाउने क्रममा विद्यालय परिसरबाहिर प्रहरीले बल प्रयोग गरेको थियो। मतदान अधिकृतले सुनुवाइ नगरेको भन्दै दलका प्रतिनिधि बाहिरिएका थिए। सर्वदलीय बैठकबाट चारबुँदे सहमति भएपछि मतदान प्रक्रिया अघि बढेको थियो। 

मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन भएको स्विकार गर्दै क्षमायाचना गर्ने सहमति भएको थियो। सोही क्रममा रास्वपा कार्यकर्ता र कांग्रेस, एमाले कार्यकर्ताबीच झडपसमेत भयो।  भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा पनि मतदान आधा घण्टा रोकिएको थियो। मतदानस्थलबाहिर नाराबाजी भएपछि केहीबेर रोकिएको मतदान पुनः भएको मतदान अधिकृत रमेशकुमार श्रेष्ठले बताए।

आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपा र पार्टी सभापति लामिछानेविरुद्ध उजुरी परेको छ। कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण मावि भोजाड मतदानस्थलमा आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्। 

‘निर्वाचन प्रक्रिया सुचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको छ। आचारसंहिताविपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको छ’, उजुरीपत्रमा लेखिएको छ। 

चितवन–२ मा मंसिरमा निर्वाचित लामिछानेको सांसद पद उनको नागरिकता कसुरमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि उपचुनाव भएको हो। त्यसमा लामिछाने पनि उम्मेदवार छन्। त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेसहित १० दलीय उमेदवारसहित २२ जना उम्मेदवार छन्।  

तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ–१ को उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतमध्येबाट ६३ हजार ७ सय ५७ खसेको हो। बिहानदेखि उत्साहजनक रूपमा भएको मतदान दिउँसो घाम लागेपछि पातलिएको थियो। आबुँखैरेनीमा ६ हजार ७ सय ६९, देवघाटमा ५ हजार ८ सय ५४, बन्दीपुरमा ७ हजार ८ सय ३०, भानुमा २० हजार ८ सय ७९ र व्यासमा २२ हजार ४ सय २५ मत खसेको जिल्ला निर्वाचन प्रमुख हरिप्रसाद ढकालले बताए। कुल १ लाख २३ हजार ३ सय ५ मतदाता थिए। गत मंसिरको निर्वाचनमा ५४.३६ प्रतिशत मत खसेको थियो।

६९ मतदानस्थल रहेको यस क्षेत्रका १ सय ५२ मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्द वातावरणमा मतदान सम्पन्न भएको ढकालले बताए। मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका थिए। यसअघिका निर्वाचनमा ससाना विवाद हुने गरे पनि उपनिर्वाचन भने सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

यस निर्वाचन क्षेत्रमा पर्ने व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदान गरेका हुन्। यो क्षेत्रमा ४२ वडा पर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.