औद्योगिक क्षेत्रमा ‘विद्युत् ट्रिपिङ’

विद्युत्

औद्योगिक क्षेत्रमा ‘विद्युत् ट्रिपिङ’
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 काठमाडौं : मोरङ–सुनसरी औद्योगिक करिडोर औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति नभएपछि उद्योगी आन्दोलित बनेका छन्। अघोषित रूपमा दिनको १२ घण्टासम्म विद्युत् काटिने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। 

‘यस औद्योगिक क्षेत्रका ठूला उद्योगमा चौबिसैघण्टा विद्युत् दिने तर साना उद्योगमा १० देखि १२ घण्टा विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प बिजुली जाने) गर्ने, लाइन काट्ने, तालिका नदिने गरिएको छ,’ भन्दै उनले यो समयमा सधैं नै विद्युत् आपूर्ति नियमित नहुने गरेको बताए। यस औद्योगिक क्षेत्रमा ३३ केभी प्रसारण लाइनबाट विद्युत् लिइरहेका उद्योगले चौबिसैघन्टा दिने र ११ केभी प्रसारण लाइनटबाट विद्युत् लिनेलाई कटौती गरिएको गुनासो हो। यस करिडोरमा करिब १ हजार उद्योग सञ्चालनमा छन्। 

एकातिर बिजुली पर्याप्त छ भन्ने अर्कोतर्फ लाइन काटिरहने अवस्था रहेको व्यवसायीको भनाइ हो। कि प्राधिकरणले तालिका दिनुपर्‍यो, त्यसो गर्ने हो भने त्यहीअनुसार उद्योग सञ्चालनमा ल्याउन आफूहरू तयार रहेको पनि रिजालले बताए। यस करिडोरमा दुहवी ग्रिडबाट विद्युत् आउने गरेको छ। मोरङ व्यापार संघको अगुवाइमा आइतबार नै दुहवी ग्रिडमा उद्योगले धर्ना दिएका छन्। पछिल्लो १५–२० दिनदेखि यस औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या भएको दुहवी ग्रिडका प्रमुख रोशन खड्काले बताए।

‘माग बढ्ने उत्पादन घट्ने हुँदा समस्या भएको हो। यस ग्रिडबाट २७० मेगावाट वितरण हुनुपर्नेमा १८० देखि १९० मेगावाट प्राप्त हुन्छ। त्यही कारण समस्या भएको हो,’ खड्काले बताए। कुनै उद्योगलाई हाफ लोडमा बस्न भनिएको छ भने कुनैलाई लोड कर्म गर्न भनिएको उनले जानकारी दिए।  यता, नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको प्रस्ट पारेको छ। 

बिनाजानकारी उद्योगको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसको सम्बोधन गर्दै १०÷१५ दिनमा समस्या समाधान हुने बताए। ‘सुनसरी मोरङ ओद्योगिक करिडोरका उद्योगलाई विद्युत् काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने। 

उनले वर्षको सबैभन्दा बढी सुक्खा समय आएकाले यो समस्यालाई बुझिदिन उद्योगीलाई आग्रह गरे। ‘यस वर्ष हिउँदमा पानी नपरेर सुक्खायाम लम्बिदाँ नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको हो,’ कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.