कसरी खुलाउन सकिन्छ पैसाको जाम ?

कहाँ जाम भयो पैसा ?

कसरी खुलाउन सकिन्छ पैसाको जाम ?
सांकेतिक तस्बिर।

पुँजी बजारमा अहिलेको सेनारियो हेर्दा सम्पत्ति बाँडफाँड मात्र भयो। यसले असमानता सिर्जना गरेको लगानीकर्ताको भनाइ छ। यसैक्रममा एक  लगानीकर्ताले सेयर बजारको पैसा सीमित व्यक्तिको हातमा पुगेको छ तर तिनीहरूले खर्च गरेका छैनन्।

काठमाडौं : समग्र बजार आकासिँदा अधिकांश व्यक्तिको खर्च गर्ने क्षमता (क्रयशक्ति) कमजोर भइरहेको छ। समयमा कामको मूल्य पाइरहेका छैनन्। चाहे सरकारले ठेकेदारलाई गर्ने भुक्तानी होस् वा केही कार्यालयले कर्मचारीलाई दिने तलब समयमा हात पार्न सकिरहेका छैनन्। सरकारले निर्वाचन र उपनिर्वाचन पनि सकाएको छ। यसमा बाहिरिएको अधिकांश पैसा बैंकिङ प्रणालीमा पनि आइसकेको छ। तर, धेरैबाट प्रश्न उठ्दै आएको छ, ‘कहाँ जाम भयो पैसा ?’

सरोकारवाला भन्छन्– मुलुकमा कालाबजारी मौलाउँदा अनौपचारी अर्थतन्त्र पनि फस्टायो। सेयर, घरजग्गामा धेरैको लगानी फ्रिज भयो। यस्तै, सरकारले कारोबार गर्न निषेध गरेको क्रिप्टोकरेन्सीमा समेत पैसा प्रत्यक्ष तथा अप्रत्यक्ष बाहिरिएकाले पनि यस्तो समस्या देखिएको आँकलन छ। यससँगै नेपाल राष्ट्र बैंंकले पनि संकुचन नीति ल्याएर बैंकिङ प्रणालीलाई कस्नै खोजेको सम्बद्ध स्रोतको भनाइ छ। 

निक्षेपको आकर्षक ब्याजदरले अर्बौं रकम मुद्दती निक्षेपमा थुप्रिएको छ। अर्कोतर्फ निजी क्षेत्रलाई जाने कर्जा गत वर्षभन्दा धेरै कम छ। व्यक्तिगत रूपमा घरपरिवारलाई दिने कर्जा असुली गरेर थप कर्जा दिइएको छैन। यस्ता अवस्थाले गर्दा आमसर्वसाधारणको हातमा पैसा पुग्न नसकेको अर्थविद्हरू बताउँछन्।  

पैसा बैंकिङ प्रणालीमै छ। तपाईं हाम्रो खल्तीमा आवश्यक पैसा छ। धेरैको खल्तीमा पैसा छ। समग्र परिसूचक हेर्दा क्राइसिसको अवस्था छैन। आयातीत वस्तु महँगो पर्दा खर्च बढी भएकाले मात्र यस्तो आभाष भएको हो।
डा.प्रकाशकुमार श्रेष्ठ,
कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समग्रमा मौज्दात रकम जम्मा ६ अर्ब रुपैयाँले मात्र बढेको छ। शोधनान्तर र सरकारको घाटालाई राष्ट्र बैंकले तानिदिएकाले पैसा सिर्जना हुन सकेन। बैंकहरूले निजी क्षेत्रलाई दिने कर्जा खासै बढेन। त्यसमाथि घरपरिवारलाई दिने कर्जा झन् घटेर ऋणात्मक भएको छ। महँगी अर्थात् मुद्रास्फीति बढेअनुसार निजी क्षेत्रमा कर्जा गएको छैन। अर्को धेरै पैसा मुद्दती निक्षेपमा गएर थुप्रिँदा बजारमा पैसा अभावको अनुभूति भएको देखिन्छ। 

नेपाल राष्ट्र बैंकले बजारमा यस्तो संकुचनको स्थिति ल्याउनै खोजेको एक स्रोतले बताए। केन्द्रीय बैंकले भुक्तानी सन्तुलनलाई सुधार्न संकुचन नीति लिएर सुधार गर्न खोजेको राष्ट्र बैंंक स्रोतको भनाइ छ। अर्थविद् डा. डिल्लीराज खनाल मुलुकमा समानान्तर अर्थतन्त्र मौलाएकाले पैसा जाम भएको स्पष्ट देखिने बताउँछन्। अर्कोतर्फ बैंकिङ प्रणाली बाहेकको छाया अर्थतन्त्र मौलाएकाले पैसा हराएको देखिएको बताउँछन्। 

उनकाअनुसार ब्याज चर्को भएकाले उद्योग, व्यवसायीले पैसा लिएर खर्च गरिरहेका छैनन्। ‘तर, पनि मूल रूपमा समानान्तर अर्थतन्त्र र पुँजी बाहिरिएको अवस्था छ। केही अध्ययनहरूले पनि यस्तो कुरा फाट्टफुट्ट देखाएको छ। मानिसहरूले यो हिसावले पनि आकलन गर्ने प्रयत्न गरेका थिए,’ उनी भन्छन्, ‘कालो अर्थतन्त्र र कारोबारमा अपचलनहरू छन्। जति पैसा तिरेको हो त्योभन्दा धेरै तल्लो मूल्यमा पैसा तिर्ने र कारोबार पनि कम देखाउने प्रवृत्ति छ। कम पैसा देखाउने कम भन्सार तिर्ने तर, व्यवहारमा चाहिँ बढी तिर्ने यस्ता खाले व्यापारमा बढ्दो अपचलनले पनि यस्तो स्थिति आएको हो।’    

अर्थविद् डा. खनालले उदाहरण दिँदै थपे, ‘१ हजारको सामान ल्याएको रेकर्डमा देखियो तर खासमा २ हजारको सामान लिने गरेका छन्। यसले एकातिर भन्सार पनि कम उठ्यो। व्यापारमा बढ्दो अपचलन, पु“जीको पलायन छ तर आमरूपमा कालो अर्थतन्त्र (ब्ल्याक इकोनोमी) मौलाइरहेको कारणले पनि सस्या आउन थालेको छ। बैंकिङ प्रणालीभन्दा पनि अरू तिरको कारोबार बढेकाले पनि पैसा अभावको स्थिति आएको हो।’ 

जीडीपी ऋणात्मक देखिनु समस्या

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.१ ले झिनो वृद्धि थियो। तर, हुँदाहँुदै चालू आवकै गत त्रैमासको तुलनामा १.१ प्रतिशतले ऋणात्मक छ। यसरी जीडीपी घट्नु भनेको समग्रमा रोजगारी घट्नु र आम्दानी पनि घट्नु हो। महँगीको तुलनामा कर्जा वृद्धि नहुँदा पनि बजारमा पैसा नभएको अनुभूति भएको र जे गर्न पनि पैसा नपुगेको सरोकारवालाहरू बताउँछन्। 

अहिलेसम्म कठिन अवस्था रहे पनि यही वैशाखदेखि सुधार हुँदैछ। गत वर्षसम्म मुलुकको बढी पैसा आयातित वस्तुबाट बाहिरिएकाले पनि यो अवस्था सिर्जना भएको हो। तर, अहिले यसमा नियन्त्रण आएको छ। 
भुवनकुमार दाहाल, पूर्वअध्यक्ष, नेपाल बैंकर्स

छाया अर्थतन्त्रको विकृत रूपमा सहकारी मौलाउनु

बैंकिङ प्रणालीभन्दा बाहिर सहकारीलगायतका अन्य छाया बैंकिङ (स्याडो बैंकिङ)मा, व्यापारमा अपचलन र क्यापिटल फ्लाइजस्ता आमरूपमा समानान्तर अर्थतन्त्र मौलाइरहेकाले पनि पैसा हराएको स्थिति देखिएको उनको तर्क छ। निक्षेपको ब्याजदर बढी भएपछि यसको लोभले बैंकमा पैसा राखिन्छ। तर, नेपालमा त्यस्तो स्थिति पनि नदेखिएको उनको भनाइ छ। 

कालो अर्थतन्त्रको आकार बढ्दो

अर्थविद् डा. डिल्लीराज खनालकाअनुसार व्यापारमा अपचलन छ। यसबारे अन्तर्राष्ट्रिय स्तरमा २–३ वटा अध्ययन पनि भएका छन्। भारतमा पनि व्यापारमा  अपारदर्शी कारोबार अर्थात् अपचलन भएको भनेर एक अध्ययन प्रतिवेदनले निचोड निकालेको थियो। अनौपचारिक अर्थतन्त्र ३५–४० प्रतिशतले बढी भएको विभिन्न अध्ययनले देखाएको उनको तर्क छ। ‘धेरै अघि विश्व बैंकले पनि यसबारे गरेको अध्ययनले पनि यस्तै निचोड निकालेको थियो। अझ धेरैको अनुमान ४० प्रतिशतमाथिको अर्थतन्त्र अनौपचारिक रहेको पनि भनिरहेका छन्,’ उनले प्रष्ट्याए।  

नीतिगत भ्रष्टाचार, कालोधनलाई प्रशय दिनेदेखि गैरकानुनी काम गर्नेजस्ता समाजमा व्याप्त विकृति हटाए पैसाको सहज वातावरण सिर्जना गर्न सक्ने अर्थविद्हरू बताउँछन्। कानुनले तोकेका लक्ष्यहरूलाई बलियो बनाउन जरुरी भएको अर्थविद् खनालले सुझाए। भएका कानुनलाई कार्यान्वयन गर्ने, समानान्तर गतिविधि हुन नदिने, कर प्रणाली पनि कानुनी तरिकामा आउँदा झन्झट हुन्छ भनेर ब्ल्याक मनीमा जाने स्थिति आउँछ। यसैले हरेक प्रणालीलाई सरलीकृत, सुविधा दिएर कर तिर्न प्रोत्साहक गर्न जरुरी भएको उनले औंल्याए। 

मुलुकमा समानान्तर अर्थतन्त्र मौलाएकाले पैसा जाम भएको हो । अर्कोतर्फ बैंकिङ प्रणालीबाहेकको छाया अर्थतन्त्र मौलाएकाले पैसा हराएको देखिएको छ । ब्याज चर्को भएकाले उद्योग, व्यवसायीले पैसा लिएर खर्च गरिरहेका छैनन् ।  
डा. डिल्लीराज खनाल, अर्थविद्

अर्थतन्त्रलाई औपचारिकभित्र राख्न सबैलाई करको दायरामा ल्याउने र भ्रष्टाचार निर्मूल गरेर सबैलाई प्रणालीमा समेट्न सके पैसा हराउने अर्थात् जाम हुने स्थिति नआउने भएकाले सबैले यसतर्फ जोड दिन डा. खनालले ध्यानाकर्षण गराए। यता नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ पैसा बैंकिङ प्रणालीमै रहेको बताउँछन्। ‘तपाईं हाम्रो खल्तीमा आवश्यक पैसा छ। धेरैको खल्तीमा पैसा छ। समग्र परिसूचक हेर्दा क्राइसीसको अवस्था छैन। पैसा कहीँ हराएको छैन। प्रणालीमा भएको बाहिर गएको छैन। भित्रै छ,’ उनले अन्नपूर्णसँग भने। आयातित वस्तु महँगो पर्दा खर्च बढी भएकाले मात्र यस्तो आभास भएको हुनसक्ने उनको भनाइ छ। सरकारी निकायहरू यसरी ठीकठाक छ भने पनि व्यवहारमा खासै देखिँदैन। 

कर्जा वृद्धि कम हुँदा बजारमा पैसा अभाव

पैसाको आपूर्तिमा भने छैन समस्या, कुल मुद्रा आपूर्ति ५७ खर्ब ९४ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ, वार्षिक २ खर्ब ८९ अर्ब ३ करोड ४१ लाख थपियो। गत वर्षको तुलनामा यो वर्ष पैसाको वृद्धि नै कम बढ्यो। गत असारको तुलनामा चालू आवको फागुनसम्ममा २ खर्ब ८९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीमा पैसा थपिएको छ। यो भनेको  बैंकमा पैसा घटेको छैन। साथै निजी क्षेत्रलाई जाने कर्जा ४.६ प्रतिशतले बढेको छ। यसअनुसार सैद्धान्तिक रूपले हेर्दा बैंकिङ प्रणालीबाट पैसा हराएको छैन।  

यससँगै बैंकमा कर्जा प्रवाह पनि केही थपिएको छ तर पहिला–पहिलाको तुलनामा जुन गतिमा बैंकले कर्जा प्रवाह गथ्र्यो त्यो गतिमा भने कर्जा प्रवाह भएको छैन। विस्तृत मुद्राप्रदाय अर्थात मुद्रा (पैसा)को आपूर्ति (मनी सप्लाई) गत वर्षको ८ महिनामा जम्मा ३.१ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा ५.३ प्रतिशतले वृद्धि भएको छ।  

यसअनुसार चालू आवको फागुनसम्ममा ५७ खर्ब ९४ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ बराबरको पैसा आपूर्ति भएको छ। यो गत वर्षको सोही अवधिभन्दा २ खर्ब ८९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ बराबरले थपिएको छ। यसैले यतिबेला मुलुकमा पैसाको आपूर्तिमा समस्या नभएको राष्ट्र बैंकको तथ्यांकले प्रष्ट्याउँछ। तर, समस्या भने कर्जा वृद्धि नहुनुले पनि हो यसले गर्दा हातमा पैसा नभएको महसुस भएको देखिन्छ। किनभने गत वर्ष १३.९ प्रतिशतले कर्जा वृद्धि भएकोमा यो पालि ४.६ प्रतिशतले मात्रै कर्जा वृद्धि भएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार गत वर्ष थप ५ खर्ब ७३ अर्बको कर्जा वृद्धि हुँदा यसपटक भने २ खर्ब १३ अर्बको मात्रै कर्जा वृद्धि भई कुल ४८ खर्ब ९५ अर्ब ९४ करोड ४९ लाख रुपैयाँ छ। 

गत वर्षको फागुनसम्ममा गत वर्षभन्दा कम कर्जा वृद्धि भएकाले बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा जानुपर्ने पैसा गएन। यही भएर पनि अधिकांशलाई पैसाको कमी महसुस भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको भनाइ छ। ‘मुद्रा आपूर्तिमा समस्या छैन। तर, बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा प्रसस्त रूपमा जानुपर्ने पैसा गएन। त्यही भएर बजारमा पैसा कमी महसुस भएको हो। मुद्रास्फीति ८ प्रतिशतसम्म पुग्दा निजी क्षेत्रलाई जाने कर्जा भने ३.४ प्रतिशतले घटेकाले पनि हो’, राष्ट्र बैंक उच्च स्रोतको भनाइ छ।

महँगी ढाक्ने जति पनि बैंकबाट कर्जा गएन 

चालू आवमा महँगी बढेको छ। चालू आवमा मुद्रास्फीति ८ प्रतिशत हाराहारीमा पुगेको छ। सामान्यतया मुद्रास्फीति जति छ सोहीअनुसार कर्जा वृद्धि पनि हुनुपर्छ भन्ने सिद्धान्त छ। यो आवमा ४.६ प्रतिशतले मात्रै कर्जा बढेको हुँदा मुद्रास्फीतिको तुलनामा बजारमा जाने पैसा कमी भएको हो। ‘कम्तीमा मुद्रास्फीति जति छ सोही अनुपातमा कर्जा जानुपथ्र्यो। त्यही बराबर कर्जा गएको भए महँगीअनुसार उस्तै–उस्तै लाग्थ्यो। किनभने अहिले जति पैसा गएको छ त्यसले बजारमा बढेको मूल्यको सामान पनि किन्न सकेन। त्यही भएर मान्छेलाई जे किन्न पनि पैसै पुगेको छैन,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘कम्तीमा मुद्रास्फीति जति छ, त्योभन्दा बढी कर्जा प्रवाह भएको भए मान्छेलाई ठीकैको अनुभूति हुन्थ्यो। बैंकले कर्जाको मागअनुसार प्रवाह गरेन।’

सामान्य वर्गलाई दिने कर्जा ह्वात्तै तानियो

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगततर्फ प्रवाह हुने घरपरिवारलाई खासै कर्जा दिएको छैन। उल्टै घटाइदिएको छ। चालू आवको ८ महिनामा घरपरिवारतर्फ गएको कर्जा ११ अर्ब ८५ करोड १८ लाख रुपैयाँले घटेको छ।  यसअवधिमा  घरपरिवारमा गएको कर्जा बैंकले उनीहरूबाट साँवा नै फिर्ता लियो। यससँगै सो बराबर कर्जा पनि लियो। तर, थप कर्जा भने प्रवाह गरेन। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले घरपरिवारलाई पैसै दिएन। उनीहरूसँग भएको पैसा लियो तर कर्जा दिएन यसपछि  मान्छेलाई मुभ गर्न पैसा भएन। 

बैंकले यसबीच उनीहरूलाई नपत्याउनुको कारण जोखिम देखेर हो। किनभने महँगी बढेको छ। बजार घटेको छ। सेयर बजार घटेको छ। जग्गाको कारोबार मौलाएको छैन। यस्ता जोखिम देखेरै समयमा तिर्दैन भनेर व्यक्तिगत कर्जा पनि कम गरेको केन्द्रीय बैंकका उच्च स्रोतले औंल्याएको छ। ती व्यक्तिको हातमा यसअघिको ऋण चुक्तापछि अरू पैसा खेलाउन नपाउने अवस्था सिर्जना भयो। यसले पनि पैसा नभएको आभाष हुन गएको सरोकारवालाको भनाइ छ। 

मुद्दती निक्षेपमा थुप्रियो 

अधिकांश सर्वसाधारणले आफ्नो पैसालाई सुरक्षित गर्न लामो समयसम्म बैंकबाट पैसा झिक्न नमिल्ने गरी मुद्दती निक्षेपमा राखेका छन्। यो एक प्रकारले बचतका लागि राम्रो पनि हो। साथै उच्च ब्याजदरबाट आम्दानीको जोहो हो। बैंकका लागि केही लामो अवधिको लगानी जुटाउने माध्यम पनि हो। तर, धेरै पैसा मुद्दती निक्षेप (फिक्स डिपोजिटमा गएर थुप्रिँदा हातमा चलाउने पैसाको भने कमी भयो। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष यस्तो निक्षेप २३.१ प्रतिशतले वृद्धि भएकोमा यसवर्ष थप १३.२ प्रतिशतले थपिएको छ। 

धेरै यस्तो निक्षेपतिर जाँदा पैसा जाम भयो। गत वर्ष नै २६ खर्ब ९५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ ३ महिनामाथि ५ वर्षसम्म अवधिका मुद्दती निक्षेपमा पैसा जम्मा भएको थियो। यो वर्ष पनि त्यसमा थप रकमको निरन्तरता पायो। यो आवको फागुनसम्ममा ३ खर्ब ७५ अर्ब ४० करोड ८८ लाख रुपैयाँ फिक्स डिपोजिट थपियो र कुल ३२ खर्ब १२ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ निश्चित अवधिका लागि बैंकमा जाम भएर बसेको छ। बैंकमा अरू सबै (साधारण बचत, वैदेशिक, डोमेस्टिक) निक्षेप घटेको छ तर मुद्दती अधिक बढेको छ। यस्तो निक्षेप कर्जामार्फत बैंकले पठाउनुपर्ने हो तर उच्च ब्याजका कारण बैंकमा कर्जाको माग पनि कम रह्यो र कतिपयलाई बैंकले जोखिम देखेर कर्जा दिनबाट पछि हट्यो। 

प्रणालीमा थप पैसा सिर्जना नै भएन

मौज्दात रकम (रिजर्भ मनी)को वृद्धिदर कम रहेको छ। यसबिच ०.८ प्रतिशतले मात्रै रिजर्भ मनी बढेको छ। यसको मतलब प्रणालीमा नयाँ पैसाको सिर्जना भएन। जबकी गत साल पनि प्रणालीमा पैसाको सिर्जना १४.४ प्रतिशतले घटेको थियो। 

गत वर्ष पनि घट्दा र यस वर्ष पनि खासै नबढ्दा नयाँ पैसा प्रणालीमा सिर्जना हुन नसकेको राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंककाअनुसार बैंकभित्र भने डिजिटल कारोबार भएकाले यसको फ्लो बढ्यो तर धेरै पैसा मुद्दती निक्षेपमा सिफ्ट भयो, बैंकबाट निजी क्षेत्रमा कर्जा खासै गएन यसैले प्रणालीमा पैसा भए पनि मान्छेलाई पैसा चलाउन अभाव नै भएको हो। 

भुक्तानी सन्तुलनमा जति रकम सिर्जित भएको थियो। त्योभन्दा बढी पैसा अहिले राष्ट्र बैंकले तानिदिएको छ। नेपाल राष्ट्र बैंकले नै फागुनसम्ममा बैंकिङ प्रणालीबाट २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ बजारमा दिएको कर्जालाई फिर्ता तानेको छ। यसअवधिसम्म केन्द्रीय बैंकले बैंकहरूलाई २ खर्ब ७० अर्ब ६ करोड ३७ लाख रुपैयाँ कर्जा दिएको थियो। 

उक्त रकममध्ये केन्द्रीय बैंकले आफ्नो ऋण बैंकबाट असुल गरेको छ। यसअनुसार केन्द्रीय बैंकले बैंकहरूलाई दिएको कर्जा ८५.३ प्रतिशतले घटेको छ। यसो हँुदा बैंकमा नयाँ रकम सिर्जना हुन पाएन। यसअनुसार केन्द्रीय बैंकले अवस्था हेरेर संकुचन नीति लिएकाले उक्त ऋण एकैपटक धेरै असुल गरेको बताइएको छ।

आयातले बिदेसियो तर अहिले नियन्त्रण

यता नेपाल बैंकर्सका पूर्वअध्यक्ष भुवनकुमार दाहाल अहिलेसम्म कठिन अवस्था रहे पनि यही वैशाखदेखि सुधार हुने बताउँछन्। गत वर्षसम्म मुलुकको बढी पैसा आयातीत वस्तुबाट बाहिरिएकाले पनि यो अवस्था सिर्जना भएको तर अहिले यसमा नियन्त्रण आएको उनको भनाइ छ। उनका अनुसार यसबीच भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर घाटामा रहेको र यसो हुनु भनेको देशको पैसा बाहिर गएर गाह्रो भएको थियो। धेरै ठूलो रकम आयातमा गएको थियो। यद्यपि अहिले यसमा सुधार भएको छ। बैंकहरूसँग पनि अहिले लगानी योग्य पुँजी (तरलता) छ। जबकि यसबीच बैंकहरूले लगानीयोग्य पुँजी (तरलता) अभावको स्थिति भोग्नु परेको थियो।

क्रिप्टो करेन्सी कारोबारले पैसा बाहिरियो 

क्रिप्टो करेन्सी कारोबारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पहिलेदेखि नै रकम बाहिरिने गरेको पूर्वबैंकर भुवन दाहाल बताउँछन्। उनकाअनुसार कहिले कम कहिले बढी क्रिप्टोकरेन्सी कारोबारमा पैसा बाहिरिएको छ। ‘यसलाई म अस्वाभाविक मान्दिन। क्रिप्टो, हुन्डीलगायतको काम भएको छ,’ उनले भने। जबकी सरकारले यस्ता कारोबारलाई गैरकानुनी भनेर निषेध गरेको छ। नेपाल राष्ट्र बैंकले पनि पटक–पटक यसमा कारोबार नगर्न चेतावनी दिँदै आएको छ। साथै यसमा दर्जनौं जोखिम हुनेबारे पनि अध्ययन प्रतिवेदन सार्वजनिक गरेर ध्यानाकर्षण गरेको छ। 

घरजग्गा र सेयर कारोबारमा फ्रिज

लामो समयसम्म सरकारले जग्गाको कित्ताकाटलाई रोक लगाएको थियो। किनभने देशभर कृषियोग्य जमिनको उच्च खण्डीकरण भएकाले जेठमा भूउपयोग नियमावलीमार्फत कित्ताकाटमा कडाइ गरेको थियो। जसले गर्दा कित्ताकाटमा उच्च प्रभाव परेको थियो। तर, चौतर्फी दबाबपछि सरकारले अहिले यसलाई खुलाएको छ। यसबीच कित्ताकाट नहुँदा अधिकांश पैसा जग्गामा गएर थुप्रिएको धेरैको भनाइ थियो। यसैले पनि यसलाई खुलाउन प्रधानमन्त्रीसमक्ष मागसमेत गरिएको थियो। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा उक्त संख्यामा घरजग्गा किनबेच हुन सकेन। जसले कारोबारमा पनि गिरावट आएको थियो। तर, चैतमा मुलुकभर ४९ हजार १ सय ५० घरजग्गा किनबेच भएको  विभागको तथ्यांकमा उल्लेख छ। अर्बौंको कारोबार केही समय फ्रिज हुँदा असहज भएको थियो। तर, यो कित्ताकाट खुलाउनु अर्थतन्त्रका लागि दीर्घकालीन उपाय नभएको पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन्। यसैले तत्काल अर्थतन्त्र चलायमान बनाउन सहजता बनाए पनि अर्थतन्त्र लयमा भने नल्याउने उनको तर्क छ। 

यसैक्रममा समग्र रूपमा सेयर कारोबार पनि उत्साहजनक छैन। यसबीच नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३२ सय हाराहारीसम्म पुगेको थियो तर अहिले झरेर १८ सय ८५ बिन्दु हाराहारीमा थन्किएको छ। नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको बेला कुल बजार पुँजीकरण भने ४४ खर्बभन्दा बढी थियो। तर, हाल घटेर यो पुँजीकरण २७ खर्ब ५१ अर्ब ३६ करोड हाराहारीमा सीमित छ। रुपैयाँ हभन्दा बढी मात्रै पुँजीकरण छ। उच्च बिन्दुमा पुग्दा हालसम्मकै ऐतिहासिक कायम गरेको अवधिको तुलनामा अहिले भने लगानीकर्ताहरूले १७ खर्ब रुपैयाँ हाराहारीको सम्पत्ति गुमाए। 

पुँजी बजारमा अहिलेको सेनारियो हेर्दा सम्पत्ति बाँडफाँड मात्र भयो। यसले असमानता सिर्जना गरेको लगानीकर्ताको भनाइ छ। यसैक्रममा एक  लगानीकर्ताले सेयर बजारको पैसा सीमित व्यक्तिको हातमा पुगेको छ तर तिनीहरूले खर्च गरेका छैनन्। 

हामी मध्यमस्तरका लगानीकर्ता बाटोमा उफ्रेर केही नभएको उनको भनाइ थियो। ‘पैसा एकीकृत भयो। सीमित व्यक्तिले लाभ लिएर कब्जा गरे तर खर्च गरेनन्। अप्राकृतिक रूपले हल्लाको भरमा सेयर मूल्य आकासिएको छ। कम्पनी बलियो भएर मूल्य बढेको भए त्यसको लगानी टिकाउ हुन्थ्यो। लगानीकर्ताले पनि  कम्पनीको विश्लेषण गरेर लगानी गर्ने र लाभ लिने हो। तर, हल्लाको भरमा मान्छेलाई टुप्पामा पुर्‍याएर फेद काट्ने काम भयो’, स्रोतको तर्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.