कोसी प्रदेश प्रहरी प्रमुखमा बास्तोला, १३ जना डीआईजीको पदस्थापन

कोसी प्रदेश प्रहरी प्रमुखमा बास्तोला, १३ जना डीआईजीको पदस्थापन
सुन्नुहोस्

विराटनगर : नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । 

गृह मन्त्रालयको वैशाख ६ गतेको निर्णयअनुसार बास्तोलासहित नेपाल प्रहरीका १३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)हरु डीआईजीमा बढुवा भएका थिए । सरकारले बढुवा भएका सबैको बुधबार पदस्थापन गरेको छ । पदस्थापन गर्दा गृह मन्त्रालयले शान्ति सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिने १४ जिल्ला रहेको कोसी प्रदेशमा प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी बास्तोलालाई दिएको हो ।  

डीआईजी बास्तोला नेपाल प्रहरीभित्र काविल, निष्ठावान, इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका प्रहरी अधिकृत मानिन्छन् । सरकारले प्रदेश प्रहरी प्रमुख तोकेलगत्तै बुधबार उनले प्रदेशको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा गरेका छन् । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९÷०८० को चैत मसान्तसम्मको कार्यप्रगति विवरणको समीक्षा गरिएको हो । 

प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यलय प्रमुखबीच आर्थिक वर्ष २०७९-०८० को कार्यसम्पादन सम्झौता यसअघि नै भएको थियो । समीक्षा कार्यक्रममा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुले आआफ्ना कार्यालयमार्फत साउनदेखि चैत समान्तसम्म सम्पादन गरेका कार्यहरुको विवरण डीआईजी बास्तोलासमक्ष प्रस्तुत गरेका छन् । 

कार्यक्रमका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, प्रदेश प्रहरी गण रानी विराटनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रदेश प्रहरी कार्यालयमै उपस्थित भएका थिए । अन्य प्रहरी कार्यालयका प्रमुखहरुले भर्चुअल माध्यमबाटै कार्यप्रगति विवरणको जानकारी गराएका हुन् । कोसी प्रदेश प्रहरी कार्यालयको कार्यप्रगति विवरण इन्सपेक्टर (प्रहरी निरीक्षक) महेश भट्टराईले प्रस्तुत गरेका थिए । 

कार्यसम्पादन सम्झौतालाई गम्भीर रूपमा कार्यान्वयन गर्दै लक्ष्य पूरा गर्नेतर्फ केन्द्रित हुन प्रहरी अधिकारीलाई डीआईजी बास्तोलाको निर्देशन छ । उनले थप रचनात्मक कार्यका लागि आमनागरिकको सेवामा २४ घण्टा नै तल्लिन रही जनचाहना बमोजिम सेवा प्रदान गर्नसमेत विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

बास्तोलाले जनताको जीउधनको रक्षा गर्न, अपराध नियन्त्रण र अनुसन्धानमा सफलता प्राप्त गर्न, पुराना मुद्दाको फछ्र्यौटमा ध्यान दिन, दैनिक काम कारबाहीलाई चुस्त बनाउन, खुला सीमाको फाइदा उठाएर हुने सीमा अपराध नियन्त्रणमा भूमिका खेल्न, चोरी-तस्करी रोक्न, लागूऔषध तथा हतियारको अवैध धन्दा नियन्त्रण गर्न, भारतीय काउन्टर पार्टससँग समन्वय गरेर सुरक्षाको अवस्थालाई मजवुत बनाउन निर्देशन दिएका छन् । 

यसैबीच, बास्तोलासँगै डीआईजीमा बढुवा भएका अन्य १२ जनालाई पनि विभिन्न कार्यालयको जिम्मेवारीसहित पदस्थापन गरिएको छ । डीआईजीमध्ये जनक भट्टराईलाई मधेस प्रदेश प्रहरी प्रमुख, भरतबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, विष्णुकुमार केसीलाई प्रहरी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकाश निर्देशनालय, रवीन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ । 

चन्द्रकुबेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, सुरेन्द्रप्रसाद मैनालीलाई अपराध अनुसन्धान विभाग अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरीलाई साइबर ब्युरो, यज्ञविनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्युरो, विकाशराज खनाललाई कार्य विभाग, कुवेर कडायतलाई महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.