विद्युतको नांगो तार मुखमा लगाउँदा मृत्यु
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–२ ओझा टोलमा करेन्ट लागेर बुधबार राति एकजना पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार घरको कोठाभित्र विद्युत प्रवाह भइरहेको बिजुलीको नांगो तार मुखमा लगाउँदा केवरतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करेन्ट लागेर आफ्नै घरभित्र राति ८:३० बजेतिर उनको मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको छ ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।