सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका मकै बालीको बिमा गराउने देशकै पहिलो स्थानीय तह बनेको छ।
देशमै पहिलो पटक सोलुदूधकुण्डले पालिका भित्रका सबै किसानले लगाएको मकै बालीको एकमुष्ट बिमा गराएको नेपाल बिमा प्राधिकरणले जनाएको छ।
नगरपालिकाले ११ वटै वडाका ३६ सय किसानले १ हजार ८० हेक्टर क्षेत्रफलमा लगाएका मकै बालीको बिमा गराइएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमन पौडेलले बताए।
सोलुखुम्बुमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमार्फत गराएको उक्त बिमाका लागि नेपाल सरकारले प्रदान गर्ने ८० प्रतिशत अनुदान बाहेकको बिमितले बुझाउनुपर्ने २० प्रतिशत रकम नगरपालिकाले लगाई बिमा गराएको हो।
नगरपालिकाले एकमुष्ट १० लाख ५ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए।
मकै बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै व्यवस्था गरी कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख शेर्पाले बताए।
नगरपालिकाले वडा नम्बर १,२ र ३ मा २/२ सय जना किसानले लगाएको ६०/६० हेक्टर, वडा नम्बर ४ मा ३०० जना किसानको ९० हेक्टर, ५ मा २५० किसानको ७५ हेक्टर र ६ मा ३०० जना किसानले ९० हेक्टर क्षेत्रफलमा लगाएको मकैको बिमा गराएको छ।
यस्तै वडा नम्बर ७ मा ४०० जना किसानले लगाएको १२० हेक्टर, ८ र ९ मा ४/४ सय जना किसानको एक सय २०/२० हेक्टर, १० मा ३५० किसानको १०५ हेक्टर र वडा नम्बर ११ मा ६०० किसानले लगाएको १ हजार ८० हेक्टर क्षेत्रफलमा खेती गरिएको मकै बालीको बिमा गराएको आइएमई जनरल इस्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रमुख खगेन्द्र बनले बताए।
कृषि तथा पशुपन्छी बिमामा अत्याधिक दाबी पर्ने गरेको भए तापनि कृषकलाई हुने क्षति न्यूनीकरण गर्न कम्पनीको नाफा घाटालाई ख्याल नगरी मकै बालीको बिमा गरिएको प्रमुख बनको भनाई छ।
मकै बालीको बिमालेख शुक्रबार जारी गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नगरपालिका भित्रको मकै बालीमा रोग, किरा तथा हावाहुरी, असिनापानी लगायतका प्राकृतिक विपत्तीबाट क्षति भएमा ९० प्रतिशतसम्मको रकम बिमा बापत पाउने बिमक कम्पनीले जनाएको छ।
हिमाली जिल्लाको यस पालिकाको अधिकांश क्षेत्रहरूमा मकै बाली हुने गरेको छ। तर बर्सेनि रोग किरा तथा प्राकृतिक विपत्तीबाट भएको क्षतिका कारण किसान निराश छन्। सोही विषयलाई ध्यान दिँदै नगरपालिकाले बिमाको निति अघि सारेको बताएको छ।
यसअघि जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-१ नेलेले पनि मकै बालीको बिमा गराएको छ। तर पालिका भरका मकै बालीको बिमा गराउनेमा भने सोलुदूधकुण्ड नगरपालिका मुलुककै पहिलो स्थानीय तह बनेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स हाल मर्जरको प्रकृयामा रहेकाले यहि वैशाख २७ गतेदेखि आइजीआई इस्योरेन्सको नामबाट एकिकृत सेवा सुचारु हुने जनाइएको छ।