पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु
विराटनगर : पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका वृद्धको उपचारका क्रममा विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका मोरङको लेटाङ नगरपालिका–७ घर भइ मकवानपुरको हेटौँडामा बस्दै आएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले मृत्यु भएको हो।
शरीरका अधिकांश भाग जलेका वृद्धको शुक्रबार बिहानका राति २:२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
पानी हालेर आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि स्थानीयले अस्पताल पुर्याए। आगोले वृद्धको शरीरका अधिकांश भाग, लगाएको कपडा र जुत्ता डढेको थियो। साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा उनको पहिचान खुलेको हो।
डीएसपी दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट वृद्धले लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको खुलेको छ। ‘वृद्धले चिनजानका मान्छेलाई पैसा सापटी दिएको खुलेको छ। त्यो पैसा उठाउन जाँदा विवाद भएपछि शरीरमा आगो लगाएर आत्मदाह गरेको खुल्यो,’ उनले भने, ‘घटनासँग सम्बन्धित प्रमाण संकलन गरेर थप अनुसन्धान अघि बढाइएको छ। कति पैसा सापटी दिएको भन्ने बारेमा खुल्न बाँकी छ।’
अनुसन्धानको दायरा फराकिलो पारेर पृष्ठभूमि केलाउँदै थप अनुसन्धान गर्ने काम भइरहेको दाहालले बताए। उनका अनुसार घटनापछि परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाइए पनि घटनासँग सम्बन्धित कसैलाई पक्राउ भने नगरिएको उनको भनाइ छ।
शव भने पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्यको जिम्मा लगाएको छ। विराटनगरको कोसी अस्पतालमा शवको पोस्टमार्टम गरिएको हो।