कथा लेखनमा अस्त्रको प्रयोग

समीक्षा

कथा लेखनमा अस्त्रको प्रयोग

पात्रप्रयोग, विषय विविधता र शैलीगत हिसाबले ‘ब्रह्मास्त्र’ प्रयोगको प्रहार हो पाठकका हृदय र समीक्षकका मस्तिष्कमा। साहित्यले पाठक खोज्छ कि पाठकले साहित्य ! साहित्यले पाठक पनि रोज्छ कि पाठकले साहित्य ?

विधागत हिसाबले कुनमा पाठकको रुचि बढी छ वा हुन्छ ? पाठकले साहित्यको बजार विस्तार गर्छ कि साहित्यले पाठकको ? बडो गम्भीर कुरा छ अनि सरल ढंगले यी र यस्ता प्रश्नको उत्तर पाउन उस्तै कठिन छ।

लेखकले स्तरीय सिर्जना गर्छ कि स्तरीय रचनाले लेखकलाई स्थापित गर्छ भन्ने तथ्यको उत्तर पनि सायदै पाइएला ? एउटा कुरा के चाहिँ सत्य हो भने स्तरीय सिर्जनामा निरन्तर हरकोही लागेको हुन्छ र एउटै स्रष्टाको पनि उही र उस्तै शैलीको लेखनको बजार सीमित रहन्छ। उदाहरण साहित्यिक बजारमा आएका धेरैका कृतिले यही अन्तर्य पुष्टि गरेका छन्। तर आजको सन्दर्भ चाहिँ आख्यान लेखनमा रमाएका र गजल रचना र सिद्धान्तको प्रयोगबाट नाम कमाएका, पाठकका हातमा दोस्रो सशक्त कृति थमाएका शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’भित्रका कथाको सरसर्ती अध्ययनमा केन्द्रित छ।

कथामा मैनालीको रैखिक ढाँचाका कथा पढाएर वर्षौं बिताएका नेपाली विषय शिक्षक शैलेन्द्र अधिकारी साहित्यमा पहिचानको खोजीमा नयाँ इतिहासको इँट थप्दैछन्। केही अघि उपन्यासबाट पाठकको मनमा डेरा जमाएका अधिकारी कथा विधातिर सरेका छन्। संग्रहमा दस कथाकोठाको सुन्दर डिजाइनयुक्त घरजस्तै बनेको छ। कथा कुनैको पनि आकार उस्तै र उत्रै देखिन्नन्; औसत लामा आकारका छन्। कथावाचकको निश्चितता हुँदैन; कहिले आफैं कथा भन्न हतारिन्छन्। फेरि कहिले पाठकलाई कथावाचक वा आफैं पात्र बनाएर निर्धक्क असल श्रोता बनिदिन्छन् कथाभित्र अनौठोसित। अझ अनपत्यारिलो ढंगले कथाको राजमार्गमा पाठकलाई स्वागत गर्न आतुर देखिन्छन्।

अधिकारीले पहिलो कथादेखि दसौं कथासम्म मानव जीवनका दुई महत्त्वपूर्ण पाटा जन्म र मृत्युलाई फरक फरक बिम्ब र सन्दर्भमा धागोभित्र कलात्मक तरिकाले उनेका छन्। समग्र कथाहरूका मुख्य सन्दर्भगत विषयवस्तुको सूची तयार गर्ने हो भने बन्न सक्छ– जन्म, मृत्यु, विभिन्न पेसाका श्रमजीवी वर्गको पीडा, लैंगिक समताको खोजी, स्वर्ग, नर्क, पुँजीपति, सर्वहारा, दुनियाँले मानेका अनेकन् सृष्टिकर्ता, दार्शनिक अनि कथा र पात्रको खोजीमा भौतारिइरेका साहित्यका ब्रह्माजीहरू ! यी सबैमा सन्तुलनको खाँचो छ; सायद त्यसैले ‘ब्रह्मास्त्र’ छाडिदिए साहित्यलोकको खुला आकाशमा कथाकार अधिकारीले।

शिव, कृष्ण, बुद्ध, जिससर अल्लाहका शयनकक्षसम्म पुगेर संवाद गरेका स्वैरकाल्पनिक प्रवृत्तिमा रमाएका दार्शनिक फ्रायड र नित्सेसम्मका व्यक्तित्वसँगको अन्तरंग कुराकानी कम रोचक छैनन् !

‘निर्वेद’ उपन्यासभित्र स्वत्वको खोजीमा हिँडेको नवराजउर्फ निर्वाणानन्द एक अन्तिम स्वरूपको खोजीमा निस्केको थियो। परिस्थिति बदलिएको छ अहिले प्रस्तुत कथाकृतिभित्र कथाकार स्वयं अनेकौं भेषधारण गर्न पुगेका छन्। पहिलो कथा ‘मथिंगल’मा श्रीमतीपीडित, हाकिमद्वारा शोषित कर्मचारी रक्स्याहा भएकै कारण लतले भट्टीसम्म तानिएर अर्काकी श्रीमतीसँग नारिन पुग्दा परिणाम कैदी बन्न पुगेको अनौठो सन्दर्भ समेटिएको छ। संग्रहमा केही कथा फ्रायड, एडलर र युङ एकसाथ यौन मनोविश्लेषणको पाटोमा सपनाको अर्थ, संस्कृतिको आधार र यौनबिम्ब, प्रतीक र दृष्टान्तको खेती गरेर बसेका झैं प्रतीत हुन्छ। मूलतः ‘चित्तरञ्जन’ शीर्षकको कथामा कोइराला, भिक्षु, पोषण पाण्डे वा पछिल्ला संस्करण पुष्कर लोहनीझैं आफ्नो दह्रो उपस्थिति देखाउँछन्। यस कथामा भाषिक बिम्ब, दृष्टिभ्रम, अनुत्तरित्त प्रश्नको समग्रता भन्दै जीवनको फरक परिभाषा दिने ‘जेनेरेसन ग्याप’, सेक्सुअल साइकोलोजी, लोग्नेप्रतिको वितृष्णा आदिले पाठकलाई अचम्मसित तान्ने चुम्बकीय गुण छ कथामा।

‘बयलपुर’ कथाको खोजीमा निस्केको सन्दर्भ कोट्याउँदै स्रष्टा शैलेन्द्रले जातीय विभेदको सामाजिक ढोंगीपनलाई दह्रो झापड लगाएका छन्। यस कथाले केही समयअघि रुकुमको नवराज घटनाकाण्डको पुनःस्मरण ताजा गराउँछ। राजनीतिक, मनोवैज्ञानिक, प्रगतिशील, पहिचान र द्वन्द्वका कथाहरूमा साहित्यको कुरूप पक्षप्रति पनि कथाकारले औंलो ठड्याएका छन्।

विषयवस्तुले ‘अप्रितम यात्रा’ शीर्षक मागे पनि ‘अप्रितम यात्रा’ दिएझैं लाग्ने यस कथाको भाषिक शक्ति जब्बर देखिन्छ। विरोधाभासका बीच धर्मनिरपेक्षताको खोजी यस कथाको अन्तर्य बनेको छ। शिव, कृष्ण, बुद्ध, जिससर अल्लाहका शयनकक्षसम्म पुगेर संवाद गरेका स्वैरकाल्पनिक प्रवृत्तिमा रमाएका दार्शनिक फ्रायड र नित्सेसम्मका व्यक्तित्वसँगको अन्तरंग कुराकानी कम रोचक छैनन् ! ‘हराएकी पात्र’ स्त्री, महिला, नारी वा आइमाई हुनु नेपाली समाजको असहजता बुझ्न सहायक हुन सक्ने उक्त कथा कुसंस्कार, कुरीति, गरिबी, अन्याय, कुप्रथा, असमानता र विभेदका विरुद्ध शंखघोष गरिएको छ।

‘इति’हास’ शीर्षकको कथामा पनि फ्रायडका सन्दर्भहरूसँगै नारी पीडाको बुलन्द आवाज छ, कवितामय शैलीमा। भावगत गहनता र भाषिक प्रयोग शैलीका कारण यो कथा कम कविता बढी बन्न पुगेको छ। ‘रिसर्च : अ पोलिटिकल स्टोरी’ काल्पनिक जनयोद्धाबाट ठूलो उद्योगपति बनेको सन्दर्भको यस कथाले वास्तविक द्वन्द्वमा लागेका कार्यकर्ताको टिठलाग्दो हविगत र पुँजीपति, नवधनाढ्यहरूको सामाजिक भाष्यलाई पकडेको छ।

‘मनोविकार’ कथाकार शैलेन्द्रको व्यक्तिगत अनुभवको शाब्दिक चित्रझैं लाग्छ। शिक्षण पेसामा अभ्यस्त शैलेन्द्रले निजी कलेजमा शिक्षकप्रति मालिक र विद्यार्थीको मझधारमा निरीहता बोकेको देखिन्छ। आदर्श घोकाउन अभ्यस्त र भ्रमको जिन्दगी बाँच्न विवश एक आदर्शवादी शिक्षक कसरी आधुनिक पुँजीवादीको चंगुलमा यान्त्रिक बनेको छ भन्ने बुझ्न यो कथा पर्याप्त छ। संग्रहको अन्तिम शीर्षकमा रहेको ‘सुसाइड’ उस्तै जीवनभ्रम पालेर, धेरै पटक मरेर बाँच्न विवश धेरैको कथा हुनसक्छ।

पात्रप्रयोग, विषय विविधता र शैलीगत हिसाबले ‘ब्रह्मास्त्र’ प्रयोगको प्रहार हो पाठकका हृदय र समीक्षकका मस्तिष्कमा। भाषिक सामान्य कसरमसर, पात्रहरूको अस्थिरता र बारम्बार मृत्यु, स्वर्गलोकका कुराले सम्प्रेषणीयतामा बाधा हुन सक्ने झिनो आशंका छ। कलात्मक भाषाको प्रयोग यसको वैशिष्ट्य हो भने आकस्मिक पात्रहरूको परिवर्तन नवीन प्रयोग हो जुन बोधगम्यतामा बाधा नहुँदासम्मको स्थितिमा ग्रहणीय हुन्छ। पुस्तक शिखा बुक्सले प्रकाशित गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.