सभ्यताको ऐनामा नेपाल

समाज/संस्कृति

सभ्यताको ऐनामा नेपाल

१३१ सभ्यताको भूमि नेपाल : जय जय हे नेपाल सुन्दर शान्त विशाल ! प्राचीन समयदेखि नै वैज्ञानिक सांस्कृतिक छटाले सम्पन्न मुलुक हो– नेपाल । भौगोलिक क्षेत्रफलले यति सानो देशमा १३१ भिन्न भाषा बोलीचालीमा हुनुले यस तथ्यलाई सिद्ध गर्छ । आरम्भको उक्त वाक्यांश यिनै हाम्रा अनेकौं भाषा र वैज्ञानिक संस्कृतिको शक्तिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको हृदय र मस्तिष्कमा फुराएको वाक्यांश हो ।

नेपालमा १३१ भाषा बोलिन्छन््, तथ्यांकको सार्वजनिकीकरण २०७८ को जनगणनाले गरेको छ । उसो त ‘भाषा’ संस्कृतिको जग र स्वयं सभ्यताको बलियो बिम्ब पनि हो । यसर्थ नेपालमा १३१ भाषा हुनु वा बोलिनुले नेपाल १३१ भिन्न संस्कृति र सभ्यताहरूको थलो हो भनेर भन्दिँदा इतिहास रमाउँछ । अब यो स्पष्टोक्तिले हरेक नेपाली भाषा–संस्कृतिका विद्यार्थी, पाठक, अनुसन्धानकर्ता तथा इतिहासविद्जस्ता सचेत राष्ट्रिय नागरिकहरूलाई के महत्त्वपूर्ण सन्देश सूचित गर्छ भने यो नेपालभूमि अनेकौं भाषा, कला, संस्कृति र सभ्यताहरूको ऐतिहासिक संग्रहालय हो । यहाँका प्राचीन जाति र वंशावलीहरू, भाषा, कला र संस्कृतिहरूका साक्षीहरू हुन् (हिमवत्खण्ड, वराहपुराण, स्कन्दपुराण, गरुडपुराण, अष्टनेमी पुराण, कौटिल्यको अर्थशास्त्र आदि पुस्तकहरू र विभिन्न समयका पुरातात्त्िवक अभिलेखहरू ।

साझा तपोभूमि नेपाल : नेपाल सभ्यताहरूको जननी हो ! ‘हरू’ बहुवचनार्थित् प्रत्यय शब्द हो । भिन्न सभ्यताहरू भिन्न किसिमका कला–संस्कृति, आस्था, विश्वास, बोलीचाली, रीतिरिवाज, आचारविचार, रहनसहनलगायत सम्पूर्ण पारम्परिक मूल्यमान्यता र जीवनशैलीद्वारा शृंगारित हुन्छन् । अतः हाम्रा यति धेरै सभ्यताहरू उस्तै भाषा, जीवनशैली र संस्कृति भएका मानव समुदायबाट आविष्कार हुनै सक्दैनन् । यसर्थ हामी विभिन्न जातजातिका समुदायहरू आदिमकालदेखि नेपाल नामको यो तपोभूमिमा मिलेर तपस्या गर्दै आएका छौं र त्यसपछि नै यी विविध वैज्ञानिक संस्कृतिहरू हामीबाट सभ्यताका रूपमा विकसित हुन सम्भव भएका हुन् ।

यस प्रकार हामी अनेकौं संस्कृतिका सभ्य समुदायहरू यो दिव्यभूमिमा सँगै थियौं, छौं र रहनेछौं । परन्तु यतिबेला हामी ‘कागले कान लग्यो’का हल्लामा आफ्ना कानै नछामी कागका पछि कुदिरहने प्रतिस्पर्धामा छौं । हल्लाकारीहरूले टोकाउन पालेका भोटेकुकुरहरूजस्तै बनेका छौं । प्राचीनकालदेखिको हाम्रो दिगो र आत्मीय सहिष्णुतामा फाटो ल्याउन र हाम्रा अति वैज्ञानिक मौलिक भाषा, कला, संस्कृतिलगायत हाम्रा तमाम् मूल्यमान्यताहरू गुमाउन हामी स्वयं परस्परमा सक्रिय भएका छौं ।

फलतः यतिबेला हाम्रो हातमा वैमनश्यता, खिचातानी र तेरोमेरोको फल प्राप्त भएको छ । नेपाली इतिहासमा एकता र एकीकरणको सामथ्र्य अनि यसको सुन्दरता र सुवासको चुम्बकीय महिमालाई बुझेका राजा हुन्, पृथ्वीनारायण शाह । नेपालको एकीकरणपछि अर्थात् सम्पूर्ण नेपालीहरूलाई एकताको एउटै मालामा उनिसकेपछि एकताको शक्ति बुझेका उनले राष्ट्रप्रेमको गहिराइबाट ल्याएर नेपाल र नेपालीलाई अर्पेको मोती थियोे (नेपाल ‘४ जात ३६ वर्णको साझा फूलबारी’को दिव्य भावना ! उनका दृष्टि दिव्य थिए । उनी भविष्यद्रष्टा थिए । अथवा दूरदर्शी थिए । र पो उनले दुई ठूला ढुंगाहरूबीचको हाम्रो यो ‘तरुले मुलुक’ विविध भाषा, कला र सांस्कृतिक छटाहरूद्वारा बिछट्टसँग सजिएको देखे र यसको सुरक्षाका लागि हामीलाई एकताको उक्त अमूल्य सूत्र घोकाएर गए ।

यो मुलुकको सांस्कृतिक र दैविक अस्तित्वलाई बचाउनु सबै नेपालीको प्राथमिक कर्तव्य हो, भनेर गए । यो सिंगो मुलुकका नागरिकलाई मुलुकप्रतिको कर्तव्य र जिम्मेवार बोध गराएर गए । यसरी उनले सबै जातजातिलाई देशको निमित्त एक भएर रहन सिकाए । त्यसैले त जात र वर्णलाई एउटै बगैंचाका भिन्न रंग र सुवासका दुई सुन्दर फूलका बिरुवाहरू हुन् भन्ने सन्देशलाई जनताको नसानसामा बगाए । अनि उनकै सन्तान राजा महेन्द्रले पनि सारा नेपाली सामु ‘म मरे पनि मेरो देश बाँचिरहोस्’को देशभक्तिको वाचा सुनाएर मरे । यो भूमि ऋषि महर्षिहरू, योगीजनहरू र देवताहरूले योग–साधना र तपस्या गर्ने पवित्र योगभूमि वा तपोभूमि हो । महर्षि वेदव्यासद्वारा प्रणीत स्कन्धमहापुराणअन्तर्गत ‘हिमवत्खण्ड, नेपालमाहात्म्य’मा यस भूमिलाई स्वर्गको तीर्थस्थल र देवताहरू अवतारका रूपमा अवतरण गर्ने दिव्य भूमिको रूपमा वर्णन गरिएको छ । यस तथ्यले प्रस्ट बताउँछ कि यहाँको समाज प्राचीनकालमा कति दिव्य र सुसंस्कृत थिएछ भनेर ।

नेपाली भाषा सभ्यताको बिजोग : पुर्खाहरूले विविध तत्त्वहरूद्वारा हजारौंहजार वर्षको शारीरिक र मानसिक मेहनत खर्चेर आविष्कार गरेको एउटा उच्चतम् वैज्ञानिक जीवनशैली र आचरण हो– सभ्यता । यो मानव जीवनको उत्कृष्ट, बहुमूल्य र आकर्षक गहना हो । जो, भाषाको पुष्पबोटमा फुलेर सुवासित हुन्छ । यसर्थ भाषा–सभ्यताको शिरमा निकै सुहाएको ताज हो । अनि, भिन्न भाषा, संस्कृति र अनुकरणीय परम्पराहरूको अनुपम सभ्यता हो, नेपाल ।

यसको साक्षी हो– हिमवत्खण्डको ‘नेपाल माहात्मय’ । भाषा राज्यको पहिचान हो । सभ्यताको पहिरन हो । परन्तु दार्शनिक ‘आयन राण्ड’ले भने झैं, सभ्यता समाजको एकान्ततातर्फ लम्किरहेको छ । सामूहिक सभ्यताबाट सभ्यता एक्लिँदै गएको छ । नेपालको सन्दर्भमा सत्तामुखी राज्यको उदासीनता र निष्क्रियताका कारण यिनीहरूको गुणात्मक र परिमाणात्मक गति ओरालोतिर गुल्टाएको ढुंगोजस्तै गुल्टिँदै गएको छ ।

हाम्रा राष्ट्रिय सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूबाट यस कुराको जानकारी पाउन सकिन्छ । स्कुलस्तरमा त प्रायः विद्यार्थीहरूलाई न साझा राष्ट्रभाषा नेपालीप्रति मोह छ न त जातिविशेषमा आजसम्म सुरक्षित मातृभाषाप्रति नै । विद्यार्थीहरूमा नेपाली भाषाको पठन संस्कृति लगभग अंग्रेजी भाषाको सलहले सिध्याइसकेको छ । अहिले त लगभग सरकारी मातहतका विद्यालयहरूमा पनि अंग्रेजी भाषा भित्रिसकेको छ । यदि अंग्रेजी भाषामा पढाइएन भने सरकारी स्कुलहरू विद्यार्थीविहीन हुनेमा सन्देह नै छैन । यसरी विद्यार्थीहरूमा नेपाली भाषाप्रतिको मोह र महत्त्व लोपोन्मुखको अवस्थामा छ ।

‘किराले किताबका सबै पाना चाहार्छ तर अर्थ बुझ्दैन’ भनेझैं विद्यालयमा विद्यार्थीको अवस्था छ । उनीहरू भन्छन्, ‘सर ! ‘नेपाली’ कुन कक्षादेखि पढ्नु पर्दैन ? नेपाली भाषा यो अवस्थामा कसरी पुग्यो ? राज्य किन भाषाप्रति उदासीन बन्यो ? सम्बन्धित निकायहरू किन विद्यालयमा शैक्षिक गुणस्तरको यस्तो गिर्दो अवस्थालाई टुलुटुलु हेरेर बसिरहे ? यसमा कसैको आदेश थियो वा निकायभित्रकै व्यक्तिहरूको व्यक्तिगत स्वार्थ ? राज्यको स्वार्थ राज्यको दूरगामी हितको लागि हुनुपर्ने हो । आफ्ना मौलिक सम्पदा र परम्पराको संरक्षण र विकासका लागि हुनुपर्ने हो ।

हाम्रा विद्यार्थीलाई भाषा र भाषिकाप्रतिको मोहभंग गैरसरकारी शैक्षिक संस्थाबाट नै भएको छ । विद्यालयमा नेपाली विषयको पढाइ ४५ मिनेटको हुन्छ । त्यसबाहेकका पूरै विषयको पढाइ अंग्रेजी भाषामा हुन्छ । अझै अचम्म र लाजमर्दो कुरा त के हो भने नेपाली पढाउने शिक्षकले समेत टुटेफुटेको अंग्रेजी बोल्दै विद्यार्थीलाई नेपाली बुझाउने गर्छन् । यस्तै मध्यान्तरको २५–३० मिनेटको समयमा पनि विद्यार्थीलाई नेपाली र हाम्रा अन्य मातृभाषा बोल्न मनाही गरिन्छ । यदि बोलिहाले उनीहरूलाई जरिबाना र सजाय दिइन्छ । घरमा पनि अभिभावकहरूले आफ्ना छोराछोरीले आफ्नो भाषा वा भाषिकाभन्दा अंग्रेजी नै बोलेको रुचाउँछन् ।

आफ्नो राष्ट्रिय भाषा र मातृभाषा (भाषिका) लोप हुँदै गइरहेको उनीहरूलाई पत्तै छैन । आफ्नो भाषा र संस्कृतिको महत्त्व कति महत्त्वपूर्ण हुन्छ भन्नेमा उनीहरूले पीर मान्न जानेकै छैनन् । उनीहरूले आफ्नो भाषाको महत्त्व नै बुझ्दै नबुझ्ने यो अवस्था कसले, कहाँबाट र किन सिर्जना गर्‍यो ? त्यसो त यो कुराको ज्ञान विद्यालयका सञ्चालकहरूमा पनि नभएको पाइन्छ । उनीहरूमा अन्तरविद्यालयमा आफ्नो विद्यालयले आफ्ना विद्यार्थीलाई अरू विद्यालयले भन्दा अंग्रेजी बोल्न र लेख्न बढी सिकायो वा सिकाएनमा प्रतिस्पर्धा हुन्छ । यो ठूलो खेदको विषय हो । जब भाषा हामीबाट हराउँछ, हाम्रा सम्पूर्ण अनुपम मौलिकता, जीवनशैली र परम्परा हामीले गुमाउने छौं । अनि, स्वयं हामी हामीमा हुँदैनौं ।

नेपाल ऋषिमुनिहरूको तपोबलले सिञ्चित भूमि : नेपाल तीर्थैतीर्थको तीर्थभूमि हो । यति सानो मुलुकमा यति धेरै ऐतिहासिक तीर्थस्थलहरू हुनु भनेको केवल तिनै तीर्थस्थलहरूको ऊर्जाको प्रभाव हो । यही ऊर्जाको प्रभावले यो भूमिमा महर्षि, व्यास, पराशर, पुल, वाल्मीकि, याज्ञवल्क्य, विश्वामित्र, जनक, जनकनन्दिनी सीता, भगवान् ऋषभदेव, भगवान् बुद्ध, भगवान् महावीर आदि जन्मिन सम्भव भएको हो । अनि उहाँहरूकै तपोबलद्वारा नै यो भूमि पवित्र र ऊर्जाशील भएको हो । उहाँहरू र यो पवित्र नेपालभूमिको संयुक्त ऊर्जाको परिणाम हो– महान्् आर्य संस्कृतिको आविष्कार र विकास ।

आज हामी उहाँहरूकै तपोबलको योगदान र कृपाले वेद, पुराण, उपनिषद्, रामायण र महाभारतजस्ता दुर्लभ ज्ञान र विज्ञानका ग्रन्थले सम्पन्न छौं । किन्तु आज पाश्चात्य शिक्षा–दीक्षाको मिथ्या मोहका कारण यो दिव्यभूमिमा अनेकौं विजातीय तत्वहरू भित्रिन पुगेका छन् । जसको सबैभन्दा बढी प्रभाव हाम्रा अधिकांश तथाकथित शिक्षित भनिने व्यक्तिहरूमा परेको देखिन्छ । फलतः उनीहरू आफ्नै बा र हजुरबाहरूले आर्जन गरेको वैदिक सनातन संस्कृतिका विरुद्ध शंका गर्दै साधारण जन समुदायमा गएर अनेकौं भ्रमहरू फैलाइरहेका छन् ।

आफ्नो विद्यमान धार्मिक विश्वास र सहिष्णुता गुमाएर हरेक दिन आफू, आफ्नो परिवार र आफू रहँदै बस्दै आएको समाजलाई चिन्तित बनाइरहेका छन् । अनि वैदिक वचन र महान् ऋषिमुनिहरूको अनुभवबाट प्राप्त दिव्य सुविधाबाट आफूलगायतका बाँकी सबैलाई बञ्चित गराउन कटिबद्ध भएर लागेका छन् । हिजो हामीले जुन धर्म तथा ईश्वरलाई आफ्नो समाजरूपी घरको मूल खाँबो र दलिन ठानेका थियौं, आज त्यसैको अस्तित्वलाई स्वीकार्दा हामीलाई संकोच अर्थात् लाज लाग्नु भनेको हामीहरू आफैं नांगिनु हो ।

यसरी निर्लज्जसँग आफूले आफैंलाई नंग्याउनु भनेको हाम्रो ठूलो कमजोरी र विडम्बनाको कुरा हो । यही कमजोरीका कारण भोलि हामीले हाम्रो यो महान् वैदिक सनातन संस्कृतिलाई बाँदरको हातमा सुम्पनु पर्नेछ । फलतः गल्र्याम्गुर्लुम हुनेछ– हाम्रो पहिचान र अस्तित्वको धरोहर । हामी भत्किने छौं र आफ्नै संस्कृतिद्वारा सरापिने छौं । हामीलाई जन्मभूमि र सनातन वैदिक संस्कृतिको सराप लाग्नेछ र लागिरहने छ । अनि यो लापरबाहीले सिर्जाएक‍ो यसको दुष्परिणाम बिनाकारण हाम्रा निर्दोष पुस्ताहरूले भोग्नु पर्नेछ ।

को हो जीवनलाई चलाइरहने चालक ? जसले चलाउँदा–चलाउँदा चल्लाहरू माउ बनिसक्छन्, परन्तु माउहरूले चालै पाउँदैनन् आफूहरूभित्र त्यो चालक को थियो भन्नेबारे । ‘प्रत्यक्ष नै प्रमाण हो’ भन्ने नास्तिकहरूलाई कसरी बुझाउनु ? नदेखिने सूक्ष्म अणु र परमाणुहरूको संग्रहबाट यो अपरिमित ब्रह्माण्ड बनेको हो भनेर । प्रकृति र परम्परागत ज्ञानबाट टाढा भाग्ने भगुवाहरूलाई ‘स्मल इज ब्युटिफुल’को रहस्य कसरी सम्झाउनु ? अनि के भन्नू, अन्तमा कहीँ पानी नपाएर छट्पटाउँदै बालुवामा प्राणत्याग गर्ने ती आफ्नै मौलिक जीवनशैलीलाई विश्वास गर्न नसक्ने प्यासले व्याकुल मरुभूमिका माया मरीचिकाहरूलाई ? तिन‌ैको अज्ञान र दुव्र्यवहारको परिणाम आजको यो स्थिति हो ।

नेपाल विविधै विविधताको इन्द्रेनीको मुलुक : निःसन्देहः नेपाल, विभिन्न भाषाभाषी, रहनसहन, धर्म–संस्कृतिका मानिसहरूको मौलिक जीवनशैलीले सम्पन्न इन्द्रेणी– मुलुक हो । यो सत्यलाई विश्वास गर्न हामीलाई कुनै गाह्रो समस्या छैन । हाम्रा आआफ्नै मौलिक जीवनशैलीका कारण हामीले हामी बसेको समाजमा एउटा समुदायका जातिलाई अर्को समुदायका जातिसँग सजिलै छुट्ट्याउन सक्छौं । विश्व मानव संस्कृतिमा हाम्रो संस्कृतिको वैज्ञानिक पक्ष सबल भएरै हो । यहाँका हामी हरेक जातिहरूसँग आआफ्नै मौलिक पहिचान हुन सकेको ! र त समाजमा म यो जाति वा सभ्यताको हुँ भनेर चिनाउन हामीसँग १३१ ओटा छाती फुलाएर गर्व गर्न सकिने अलगअलग परिचय छन् ।

विविध विविधता हुनु यो भूमिवासी हामी सबैको अहोभाग्यको पक्ष हो । र, यसलाई ‘४ जात ३६ वर्णको साझा फूलबारी’को पवित्र भावनाले भविष्यको दूर दूरीसम्म जोगाउनु हाम्रो कर्तव्य हो । यसमा विदेशीको इशारामा कर्तव्यच्युत भैयो भने र हामीले हाम्रो एकताको मर्म, धर्म, ऊर्जा र महत्त्वलाई बुझ्न सकेनौं भने पृथ्वीको कुनै पनि ठाउँमा रहे पनि हामी पानीका माछालाई किनाराको तातो बालुवामा फालेसरी छट्पटिनुपर्नेछ ।

जाति र पहिरन–संस्कृति : पहिरन हामी नेपालीको एक महत्त्वपूर्ण संस्कृति हो । हाम्रा अनेकौं जीवनशैलीमध्ये हाम्रो जातीय पहिचान झल्काउन पहिरनक‍ो बेग्लै मौलिक भूमिका छ । हरेक जातिका पहिरनहरू वैज्ञानिक तथा आध्यात्मिक शृंगारले सुन्दर र ऊर्जाशाली छन् । यी सबै जातीय पहिरनले मानिसका सूक्ष्म र स्थुलदेहको सर्व श्रेष्ठतामा अर्थ राख्छन् । अनि मानिसको मनुष्यत्वलाई विकसित गराउन सहयोग गर्दै अन्ततः जीवनलाई तत्त्वज्ञानको पवित्र मार्गमा निर्देशित गर्छन् । हरेक जातिमा राष्ट्रियताको अभाव छैन भने मात्रै यो दुर्लभ वा दिव्यतत्व हामीलाई सम्भव छ । तर अपशोच, आज हाम्रो लापरबाहीले र हामीमा राष्ट्रियताको अभावले, पश्चिमाहरूले चारैतर्फबाट राजनीतिक र आर्थिकवादको जालो फिँजाएर हाम्रा आध्यात्मिक र त्योसँग सम्बन्धित वैज्ञानिक उत्कृष्टताको महत्त्व र चर्चालाई कमजोर बनाउँदै लगेका छन् जसको प्रमाण दिनप्रतिदिन हाम्रो समाजमा बढ्दो हिंसा, प्रतिहिंसा र सामाजिक दुर्दशालाई लिन सकिन्छ ।

भिन्न जातिका भिन्न पहिरन नै हाम्रो जातीय सभ्यताको उत्कृष्ट चिनारी हो । र त एउटै समाजमा बसोबास गर्ने गुरुङ, मगर, तामाङ, शेर्पा, राई, लिम्बू, नेवार, थकाली आदि जातिमा पनि भिन्नभिन्नै मौलिक महत्त्वका पोसाकहरू छन् । यसर्थ भन्ने गरिन्छ– ‘राष्ट्रको सभ्यता र संस्कृतिको उत्कृष्टता त्यस राष्ट्रमा बसोबास गर्ने मानिसहरूको पहिरन र आभूषणबाट प्रकटित हुन्छ ।’ साँच्चिकै पोसाक यस्तो महत्त्वपूर्ण तत्त्व हो जसले हरेक जातिहरूको सामाजिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, धार्मिकजस्ता अमूल्य निधिलाई स्थिर राखेको हुन्छ, जुन स्थिरताले राज्यको सांस्कृतिक सम्पन्नतालाई पनि सम्पन्न राख्न सहयोग गर्छ ।

भोटो र कछाडसँग निलो पटुकी र भांग्रा अनि शिरमा लगाएको ट‍ोपी वा फेटामा सजिँदाका पुरुष मगर अनि मखमली चोली, छिट्को गुन्यू, पहेँलो वा नीलो रङको पटुकी, गलामा पहेँलो वा हरियो पोतेका साथमा मुगाको माला, शिरमा शिरफूल, कानमा माडवारी वा ढुंग्री अनि नाकमा बुलाकीका साथमा महिला मगरलाई हेरौं त आफ्नो पोसाकमा उनीहरू कति सुहाउँछन् ? मगर जातिहरूको लागि उनीहरूको यही पोसाक आदर्श पोसाक हो जो विज्ञान र अध्यात्मको संय‍ोजनबाट निर्मित भएको छ । योबाहेक उनीहरूको शरीरमा दैवीय आकर्षण, ऊर्जा र कवचत्व प्रदान गर्ने पोसाक अरू कोही हुनै सक्दैन ।

पहिरन संस्कृतिमा नेवार जाति पनि निकै सम्पन्न जाति हो । हाकुपटासी, चोली, पछ्यौरीका साथ शिरमा शिरबन्दी, लुस्वाँ, न्यापुसिखस निधारमा सुनका टीका, लुँचिस कानमा न्हातिका मारवलिचा, ढुंग्री, माकसी तुकी, विजकनी, गसी सिखस गलामा कन्थी, तायो, तिख, चन्द्रहारस हातमा पञ्चरत्नको चुल्पा, कल्या, बाई, प्युचा आदि र औंलामा प्याखं अंगु तथा खुट्टामा प्याकं कल्ली, सिंहख्वा कल्ली, जंगी सेलया कल्ली, तुती बग्गी आदि गहनागुरियामा महिला नेवारलाई अनि दौरा, सुरुवाल र स्टकोटमा पुरुष नेवारलाई हेर्‍र्याैं भने यो पोसाकमा उनीहरूको शारीरिक र मानसिक ऊर्जाको आभाको आभास बाहिर स्पष्टसँग अड्कल गर्न सकिन्छ । यी गहना र पहिरन वैज्ञानिक नेवारी पुर्खाले उनीहरूको वंशाणु स्वभावलाई अनुकूल हुनेगरी आध्यात्मिक शक्तिमा वैदिक विज्ञानको फर्मुला लगाएर निर्माण गरेको पाइन्छ ।

लगाउन त शेर्पाका महिला र पुरुष दुवैले दौरासुरुवाल नै लगाउँछन् । यसमा पुरुषले लगाउनेलाई छुवा– नागार्य र महिलाले लगाउनेलाई आङ्गी भनिन्छ । आङ्गीका साथ अविवाहित महिलाले खुट्टादेखि घुँडासम्म बाक्लो ऊनी अर्थात् छालाको दोचो लगाउँछन् र विवाहितले त्यही पहिरनमा अगाडि पाङ्देन बेर्छन् । त्यसो त शेर्पाहरू प्रायः सबैले बक्खु लगाउँछन् । दोचा, पाखी, चुरूप आदिलाई ओढ्नेको रूपमा प्रयोग गर्छन् । यसैगरी, आङ्गी, दोचा र पाङ्देनका साथ आफ्ना मौलिक गहनागुरियामा शेर्पा महिला सजिएको पाइन्छ । हाम्रा किराँती दाजुभाइ र दिदीबहिनीका पनि भिन्न किसिमका अद्वितीय महत्त्वका पहिरन र गहनागुरियाहरू छन् । अनि यस्तै आध्यात्मिक र वैज्ञानिक महत्त्वका चामत्कारिक पहिरन छन्, हाम्रा सबै भिन्न भाषाभाषीका जातजातिहरूमा । यस प्रकार हाम्रा हरेक जातीय पहिरन र आभूषण वा गरगहनामा विज्ञान र अध्यात्मको सुन्दर संयोजन छ ।

किन खुस्किँदै गए हाम्रा पहिरन ? : आजको जमाना हो – विज्ञान र प्रविधिको जमाना । अर्थात् आधुनिक जमाना । अर्थात् सम्पूर्ण मौलिक परम्परा र संस्कृति लोप हुँदै गैरहेको जमाना । विद्वानहरूले आफूलाई आधुनिक भनाएको जमाना । उनीहरूका सल्लाह हुन्छन्– समयानुसार चल्नुपर्छ, पुरातनवादी बन्नु हुँदैन । बाहिर कानले मात्रै सुन्दा सुन्नेले होकेरे भने झैं पनि सुन्छन् । परन्तु उनीहरूको कुरा सुनेर र विज्ञान र प्रविधिको आधुनिकतालाई पत्याएर न सूर्य पश्चिमबाट उदायो न त पूर्वबाट अस्तायो ! न पेट भोकाउन छाड्यो न अन्नपानीको सट्टा भोकाएको पेटले ढुंगा र माटो खान्छु भन्यो ! न समय रोकियो न त हरायो ! उनीहरूको कुरा न पञ्चतत्त्व कुनैले पत्याए न त पञ्चतत्त्वले बनेको शरीरका पञ्चेन्द्रियहरू कुनैले ठीक रहेछ भन्न सके ।

यत्ति हो कि विज्ञानले अस्तित्वमा रहेका चीजहरूलाई खोज्न र तिनीहरूको प्रयोगले हाम्रो जीवनका कठिन कार्यहरूलाई जीवनको अनुकूलतामा सहजीकरण गरिदिएको छ । अतः जीवनको प्रतिकूल बनेर प्रविधि चल्नै सक्दैन । प्रविधिलाई जीवनले निर्माण गरेको हो, न कि प्रविधिले जीवन ! र आज यो मौलिक भाषा, संस्कृतिको कमजोर अवस्था जीवनलाई प्रविधि अनुकूल चलाउन खोज्दाको परिणाम एउटा हो भने अर्को शक्ति र सत्ताको लोभ र मोह, त्यसको अहंम्ता अनि आफू र आफ्नालाई भन्दा अरू र अरूकालाई सही र मूल्यवान् मान्ने देखासिकीको परिणाम वा कठपुतली बन्दाको परिणाम !

समयको परिवर्तन भौतिक वस्तुको नजरमा मात्रै हुन्छ । आफूमा त त्यो कहिल्यै परिवर्तन हुँदैन । हामीमा घटित सारा जीवनप्रक्रिया केवल सत्यको भौतिक चमत्कार हो । अतः हाम्रा जातीय पहिरन र आभूषणहरू सत्यका प्रतीक हुन् । हामीलाई अनौठा ऊर्जाका उपहार हुन् । यी आभूषणहरू जातीय स्वभावलाई अनुकूल हुनेगरी ज्ञानमय विज्ञानको प्रयोगशालामा हाम्रा ब्रह्मज्ञानी पुर्खाहरूद्वारा आविष्कार गरिएका हुन् । यसर्थ हाम्रा यी कुनै पनि जातिका पहिरनमा कहीँ कतै पनि अश्लीलताको झिल्को देख्न पाइँदैन । हिजो हाम्रा आमा, भाउजू, दिदीबहिनी, श्रीमती, छोरी, बुहारीहरू यिनै पहिरनमा सजिँदा शरीरका सबै अंग सुहाउने गरेर छोपिएका हुन्थे । परन्तु आज न ती पहिरन अधिकांश हाम्रा महिलावृन्दका शरीरमा छन् न त उनीहरूले लगाएका लुगाले शरीरका अंग छोपिएका छन् !

यस्तै यता पुरुषमा पनि आफ्ना मौलिक पहिरनहरूतर्फ रुचि घट्दै गएको पाइन्छ । हामीहरू सनातन परम्पराको यति लामो बाटोसम्म यही पहिरन र आभूषणमा यात्रा गर्‍यौं, तर आज कसको निर्देशनमा हामीले हाम्रा यी अनेकौं महत्त्वले सम्पन्न पहिरनलाई लगाउँदालगाउँदै आफ्नै शरीरबाट फुकालेर मिल्काउन थाल्यौं । कसले लुट्दैछ, हाम्रो पोसाकीय सभ्यता ? किन लुटिँदैछौं हामी ? किन लुटाउँदैछौं हामी आफंैलाई ? आफैंलाई हराउने यस्तो युद्ध हामीलाई कसले लडाइरहेछ ? कसले भोग गरिरहेछ यसको फाइदा ? आफू हारिरहँदा पनि यति खुसी केको लोभले भइरहेका छौं हामी ? आफ्नै प्राचीनताप्रति हामीलाई किन यत्रो द्वेष ? आफ्नो विश्वास र आस्थामाथि किन यस्तो अविश्वास ? आफ्नै मौलिक घरेलु कलाकौशलका कार्यहरू गर्न हामी किन लजायौं ? किन हामी आफ्नै सनातन गरिमाको उपहासमा रमाउन थाल्यौं ? यतिखेर यी सबै प्रश्नहरूले हामीतिर फर्केर उत्तर मागिरहेछन् ।

हिजोको हाम्रो सभ्य समाजमा आज महिलाहरू पुरुषबाट र पुरुषहरू महिलाबाट दिनदहाडै बलात्कृत हुन थालेका छन् । शृंखलाबद्ध हत्या र हिंसाहरू हुन थालेका छन् । यसका दुइटा प्रमुख कारण हुन्, पहिरन विकृति र भाषा विकृति । भाषामा आएको विकृतिले सभ्य र शिष्ट संस्कृति र परम्परालाई नंग्याइदिन्छ । हामी यसैको सिकार बनेका छौं र हाम्रा निर्दोष भावी सन्तानहरूलाई पनि यो विकृतिको शिकार बनाइरहेका छौं । जर्मन र रुसलगायतका अन्य पश्चिमा मुलुकले हाम्रा सनातन वैदिक संस्कार र संस्कृतिलाई विज्ञानको उत्कृष्ट आविष्कार भन्दै अवलम्बन गर्न थालिरहेका बेलामा ‘विनाशकाले विपरीत बुद्धि’ भने झैं भइरहेको छ हामीलाई ! यदि हामीले पहिरन विकृतिलाई रोक्न सकेनौं भने यही उत्ताउलो पहिरन संकटले हाम्रा विद्यमान भाषा, संस्कृति र पुर्खाका सम्पूर्ण महान् योगदानहरूका साथ भविष्यको एउटा कालखण्डमा पुग्दा हाम्रा जातिहरू नै ल‍ोप भएर जानेछन् ।

संस्कार धेरै सामथ्र्यवान् हुन्छ जसले विवेकलाई कहिल्यै दबाउँदैन । संस्कारको भाषा हो, संस्कृति । जुन, भाषाहरूको भाषा हो । यो बिना न गणित बोल्न सक्छ, न आध्यात्मिक विज्ञान न त भौतिक विज्ञान नै । संस्कृति भावनाको सौन्दर्य हो, मोक्षको लक्ष्य हो र जीवनको पहिरन हो । यिनै वाचा पूरा गर्ने गरि प्रयोगमा ल्याइएका हुन्, हाम्रा भाषा र पोसाक ! यो कुरा हामी सबैलाई चेतना होस् । अस्तु !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.