पैनीको पुलमुनि भेटियो पुरुषको शव
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ बिहीबारेमा रहेको पैनीको अस्थायी पुलमुनि आइतबार दिउँसो १ जना पुरुष मृत फेला परेका छन्।
ज्यामिरे पैनीको पुलमुनिको खोल्सीमा ५० वर्षीय भक्तबहादुर सार्कीको शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
उनका अनुसार मानिस तर्नका लागि बाँसको प्रयोग गरेर बनाइएको अस्थायी पुलमुनि सार्की दिउँसो २ बजेतिर मृत भेटिएका हुन्। बाँसको पुल मक्किएर पुरानो भइसकेको छ।
पुलमुनि पानी बगिरहेको पैनीको खोल्सीमा घोप्टो परेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ।
मृत भेटिएका सार्कीको अनुहारमा चोटपटक रहेको छ। पुल तर्ने क्रममा खसेर ढुंगामा बजारिँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।