मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने निर्णय
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र अर्को ठाउँमा सारिने भएको छ। कानेपोखरी–६ बयरवनबाट प्रशासकीय भवनसहित केन्द्र सर्ने भएको हो।
बयरवनबाट कानेपोखरी–५ भौँसाबारी (साविकको केरौन गाविस)मा गाउँपालिकाको केन्द्र सार्ने निर्णय आइतबारको गाउँसभाले गरेको छ। गाउँसभामा गाउँपालिकाको केन्द्र सार्ने कि नसार्नेभन्ने विवाद चुलिएपछि मतदान गरिएको थियो।
सार्ने पक्षमा २७ र यथास्थानमा राख्ने पक्षमा ७ मत खस्यो। ४ मत बदर भएको थियो। गाउँपालिका अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले पालिकाको केन्द्र भौँसाबारीमा सार्ने प्रश्ताव गाउँसभामा परेका थिए।
उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो। गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीका अनुसार मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएका छन्।
अहिलेको प्रशासनिक भवन भएको ठाउँमा गाउँपालिका सञ्चालनका लागि पर्याप्त जग्गा छैन। त्यही भएर गाउँपालिका सारेर अन्यत्र लैजानुपर्ने अवस्था आएको बताइएको छ। गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै भौँसाबारीमा १ बिघा जग्गा २ करोड ५ लाख रूपैयाँमा खरिद गरेको थियो।
गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेस गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकट्ठा १० लाख २५ हजारमा खरिद गरेको हो।
त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो। गाउँसभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीको भनाइ छ।