अपांगता भएका व्यक्तिलाई खाद्यान्न सहयोग
स्याङ्जा : पुतलीबजार नगरपालिका-११ ले अपांगता भएका व्यक्तिलाई घरमै पुगेर खाद्यान्न वितरण सुरु गरेको छ।
पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले बगालथोकस्थित मुना अर्यालसहित उनका तीन दिदी बहिनीलाई खाद्य सामग्री प्रदान गर्दै अभियान सुरु गरेकी हुन्। सो घरमा मुनासहित तीनै दिदीबहिनी दृष्टिविहीन छन्।
उपप्रमुख अर्यालले भनिन्, ‘संघीय सरकारले उपलब्ध गराउँदै आएको आर्थिक सहयोगसँगै वडा कार्यालयले फरक क्षमताका व्यक्तिलाई घरघरमै पुगेर गरेको भेटघाट सहितको सहयोग अनुकरणीय छ। यो अभियान नगरभित्रका सबै वडालाई सिकाइ बन्नसक्छ।’
प्रतिव्यक्ति एक क्रेट अण्डा, चना, हर्लिक्स/च्वावनप्रास सहितको सामग्री प्रदान गरिएको हो।
वडाका पूर्ण र आंशिक गरी २७ जना अपांगता भएका व्यक्तिलाई भेटघाटसहित सहयोग गर्नका लागि अभियानको थालनी गरिएको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिए।