गौरवशाली गौतमबुद्ध

यो विमानस्थल संग आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान गर्न सक्ने क्षमता छ।

गौरवशाली गौतमबुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

दैनिक १६ हजार यात्रुहरूलाई सेवा दिने दीर्घकालीन योजनासहित भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भएको छ। यो राष्ट्रिय गौरवको आयोजनामध्ये सबैभन्दा पहिला सकिएको आयोजना हो। यो विमानस्थललाई पर्यटकीय हवाईद्वारका रूपमा लिइएको छ। लुम्बिनीमा आउने हवाई पर्यटकहरूलाई सीधै गौतमबुद्ध विमानस्थलमा ल्याउने योजना सरकारको छ। मुलुकका बौद्ध मुलुकहरूमा सीधा हवाई उडान भर्नका लागि कसरतहरू भइरहेका छन्।

विनाशकारी भूकम्प, कोरोना महामारीका कारण यो विमानस्थलको निर्माण भने केही ढिला गरी सकिएको हो। यो विमानस्थल आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान गर्न सक्ने क्षमताको रहेको छ। मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा आउने सबै विमानहरू भैरहवा विमानस्थलमा उडान अवतरण गराउन सकिन्छ।

‘फोर ई’ स्तरको यो विमानस्थलमा एयरबस–३३०, बोइङ–७७७ लगायतलाई सहज रूपमा उडान अवतरण गराउन सकिन्छ। दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य राखेको यो विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा टर्मिनल भवन मात्र केही सानो भए पनि अन्य भौतिक संरचनाहरू अत्याधुनिक र स्तरीय रहेको छ। सरकारले यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा लिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार यो विमानस्थल ‘फोर ई’ स्तरको विमानस्थल हो। वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण गरिएको छ। यो विमानस्थल निर्माणमा झन्डै ४० अर्ब लागत परेको छ। मुआब्जासहित गर्दा लागत बढेको हो।

गौतमबुद्ध विमानस्थललाई पर्यटन विमानस्थलका रूपमा चित्रण यस क्षेत्रका पर्यटन व्यवसायीहरूले गरेका छन्। ‘यो विमानस्थललाई पर्यटकीय मार्गकै रूपमा अगाडि लैजानुपर्छ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले भने।

भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण सकिएपछि मुलुकमै उत्साह छ। तर अहिलेसम्म भने फुल फेजमा चल्न नसक्दा विमानस्थलको संरचना कर्मचारीले कुरेर बस्नेमा मात्रै सीमित भएको छ। अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति प्राप्त भइसकेको छैन। अझै आवश्यक उपकरण जडानमा काम बाँकी छन्। भैरहवा विमानस्थलको प्रमुख समस्या हवाई रुट हो। यो विमानस्थलको गत जेठ २ गते उद्घाटन भएको थियो।

कुवेतको जजिरा एअरवेजले उद्घाटन उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गर्‍यो। जाडो मौसमसँगै भैरहवा विमानस्थलका सबै अन्तर्राष्ट्रिय उडानहरू ठप्प भए पनि अहिले सुचारु भएका छन्। जजिराले नै सातामा तीन वटा उडान भरेको छ। यद्यपि यो विमानस्थलमा मौसम खराबीका कारण अन्तर्राष्ट्रिय उडान भारतको लखनउ विमानस्थलमा विमान डिभाइर्ट गर्नुपर्दा समस्या कायमै छ। 

भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले नियमित उडान र हिमालयन एअरलाइन्सले चार्टर उडान भर्दै आएका छन्। अहिले नेपाल एयरलायन्सले दुई अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ। मलेसिया र भारतको राजधानी दिल्लीमा सीधा उडान भर्ने तयारी नेपालय एयरलायन्सको रहेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकबाट भर्खर सरुवा भएका गोविन्दराज दाहाल विमानस्थलमा उडान थपका लागि छलफलहरू भइरहेको बताउँछन्। जाडोको समयमा मौसमका कारण उडानहरू प्रभावित हुनेबाहेक भैरहवा विमानस्थलमा अन्य कुनै अवरोधहरू नहुने उनको भनाइ छ। अब नियमित उडानका तालिकाहरू बन्दै जाने उनले बताए।

विमानस्थलमा क्याटोगरी– १ को आईएलएस उपकरणहरूका साथै क्याटोगरी– २ का उपकरण पनि प्रयोग गरिएको छ। 

आईएलएस क्याटोगरी– १, क्याटोगरी– २, क्याटोगरी– ३ को ए, बी, सी उपकरणले पनि क्रमशः खराब मौसममा पनि विमानलाई उडान–अवतरण गर्नमा सहजता प्रदान गर्ने हो। क्याटोगरी– २ मा केही थप उपकरण जडान गरेर खराब मौसममा पनि विमानस्थल सञ्चालन गर्न सकिने विषय भए पनि आईएलएस सुचारु गर्दा भारतको भूमिमा रेन्ज पुग्ने हुँदा उक्त कार्य गरिएको छैन। 

अनुमति बिना उक्त कार्य गरिएमा विमान दुर्घटना वा कुनै समस्याको क्षतिपूर्तिको दाबी गर्न नमिल्ने दाहाल बताउँछन्। सरकारबाट अनुमतिका लागि भने गम्भीर रूपमा भारतसँग छलफल भएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा यस विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अर्बाैं ऋणमा बनेको विमानस्थल सञ्चालनमा भइरहेको दैनिक लाखौं रुपैयाँको खर्च धान्नका लागि पनि विमानको संख्या बढाउन आवश्यक देखिएको छ।

गौतमबुद्धबाट उडान भर्नका लागि २०÷२५ वटा मुलुकका विमान कम्पनीहरूले छलफल गरेका छन् । सुविधा, सुरक्षा, नाफालगायतका विषयमा उनीहरूले ग्यारेन्टी खोजिरहेका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीको छेउमा रहेकाले यहाँलाई पर्यटकीय हवाई मार्गकै रूपमा अघि बढाउने योजना सरकारले ल्याउनुपर्ने सुझाव व्यवसायीहरूको छ। नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले भैरहवा विमानस्थलले यस क्षेत्रकै आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउँछन्।

विमानस्थललाई लक्षित गरी भैरहवामा अर्बौ रुपैयाँ लगानी भइसकेको छ। ‘गौतमबुद्धमा अहिलेसम्म जजिरा र हिमालयन मात्र आएको अवस्था छ, अन्य विदेशी कम्पनी ल्याउनुपर्छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भीष्म न्यौपाने भन्छन्, ‘विदेशी कम्पनी नआएको अवस्थामा अर्बांै लगानीमा निर्माण भएको विमानस्थल र यो क्षेत्र चलायमान बनाउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले भए पनि उडान भर्नुपर्छ।’

एअर रुट सीधा नभएको, बी ३४५ टु वे हुन नसक्नु हाल वान वे मात्र भएको, नो अब्जेक्सन लेटर भारतीय नागरिकलाई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि आवश्यक पर्नेमा सो नभएकाले त्यस्ता समस्या समाधान हुनुपर्ने विमानस्थल कार्यालयको भनाइ छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुको विकल्प नहुने बताउँछन्। ‘मन्त्रालय, मन्त्री र सचिवहरूले विमानस्थल सञ्चालनका लागि विशेष जोड दिनुपर्छ, उनले भने।

‘भैरहवामा विमानस्थल सञ्चालनका लागि के के गर्नुपर्ने हो सरकारले गरिहाल्नुपर्छ। विश्वका धेरै विमानस्थलहरू निजी क्षेत्रले चलाएका छन्। यो योजना चलाउँछु भन्ने जिम्मेवारीबोध सम्बन्धित मन्त्री, सचिवमा हुनैपर्छ। उहाँहरूको क्षमता छैन भने विज्ञबाट सुझाव लिएर भए पनि काम गर्नुपर्छ, उनले भने।

वि.स. २०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट एभियसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ठेक्का पाएको थियो।

थपिँदैछन् तारे होटल

विमानस्थल निर्माण नसकिँदै लुम्बिनी आसपासका क्षेत्रमा तारे होटल निर्माण सुरु गरिएका थिए। ती होटलहरू तयारी अवस्थामा छन्। नयाँ थालिएका निर्माण भइरहेका छन्। सिद्धार्थ होटल व्यवसायी संघका सीपी श्रेष्ठका अनुसार लुम्बिनी आसपास भैरहवा, बुटवल, तिलोत्तमा क्षेत्रमा ३० अर्बभन्दा बढी लगानीमा तारे होटल बनिरहेका छन्। लुम्बिनीकै छेउमै तारे होटल तयार भएका छन्। विमानस्थलबाट आउने पर्यटकको स्वागतमा बसेका होटलले आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.