क्रिकेटरलाई बधाई

क्रिकेटरलाई बधाई
सुन्नुहोस्

सरकारी उदासीनता र लथालिंग व्यवस्थापनका बाबजुद एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेर नेपाली क्रिकेट खेलाडी पुरस्कार, बधाई र प्रशंसाको मात्रै हकदार बनेका छैनन्, उनीहरूले मुलुकमा ठूलो खुसी र आशाको सञ्चार गराएका छन्। नेपाललाई सगरमाथा, गौतमबुद्ध र साहसी गोर्खालीबाट मात्रै होइन तेजतरार क्रिकेटरहरूका नामबाट पनि विश्वमाझ परिचित हुने मौका मिलेको छ। एसियाली क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग मुकाबिला गर्ने अवसरले नेपाली क्रिकेट नयाँ उचाइमा पुगेको प्रमाणित गरेको छ। एसिया कप छनोटका रूपमा रहेको एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराएर उपाधि जित्नु नेपाली क्रिकेटको ऐतिहासिक र गर्विलो उपलब्धि हो। नेपाली क्रिकेट खेलको महŒवपूर्ण कोसेढुंगा हो।

यसअघि चैतमा यूएईविरुद्ध आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा उस्तै सानदार जित निकाल्दै विश्वकपको ग्लोबल छनोटमा पुगेर नेपाली क्रिकेटरले आफ्नो प्रतिभा रोशन गरेकै थिए। यसपालि पनि उनीहरू जसरी अब्बल सावित भए, त्यसबाट नेपाली क्रिकेटप्रति ठूलो भरोसा फेरि जागेको छ। सन्दीप लामिछाने, भीम सार्की र गुल्सन झासँगसँगै सबै खेलाडीले एकसेएक प्रदर्शन नगरेको भए यो सफलता प्राप्त हुन्थेन र प्रशिक्षक मोन्टी देसाईको ‘ह्याप्पी ड्रेसिङ रुम’को रणनीति नभएका भए नेपालले ‘ह्याप्पिनेस’ प्राप्त गर्थेन।

विजेता क्रिकेट टोलीका सदस्यहरूलाई सरकारले ६÷६ लाख रुपैयाँ राशिको छुट्टै पुरस्कार घोषणा गरेर एउटा हौसला थपेको छ। तर, उसको दायित्व त्यतिमा सीमित हुनु हुँदैन। चैतको आईसीसी विश्वकप क्रिकेट लिगका बेला पटाक्षेप भएको नेपाली क्रिकेट स्टेडियमको हविगत र रूखरूखमा झुन्डिएका दर्शकको उत्साहले सरकारको आँखा खुल्नुपर्ने थियो।

यसपालि दर्केपानी नभनी दर्शकको उस्तै उभार र खेलाडीको अब्बल कौशल देखेपछि सरकारले खेलाडीलाई कहिलेकता केही लाखले पुरस्कार दिएरमात्रै हुँदैन, क्रिकेटको पूर्वाधार निर्माणमा ठूलो लगानी गर्नुपर्छ भन्ने चेत पलाउनुपर्छ। अब पनि त्यसो हुन सकेन भने प्रतिभाशाली खेलाडी र क्रिकेटप्रेमी नेपाली दर्शकको उत्साह ओइलाउनेछ। हो, त्यसो हुन सकेन भने, चुस्त व्यवस्थापन भएन भने, क्रिकेट संघको आन्तरिक विवाद निरन्तर भइरह्यो भने खेलाडीको मात्रै कौशलताले अझै चढ्नुपर्नै खुड्किलामा काँडा बिझ्न सक्छ। विश्वकप यात्रा वा एकदिने टेस्ट म्याच मान्यताका लागि गर्नुपर्ने प्रयास निम्ति खेलाडीलाई तगारो लाग्न सक्छ। हो, यहीँनेर छ राज्यको दायित्व। राज्यले दायित्व निर्वाह गरोस्— क्रिकेटका काँडा पन्छाइदेयोस्। खेलाडीले प्रतिभा अझै निखार्दै झन् ठूलो गन्तव्य चुमून्। सफलता पाइरहून्। बधाई र शुभकामना नेपाली क्रिकेटरलाई !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.