आफ्नै पौरखले देश झिलिमिली
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको पनि डेढ वर्ष बितेको छ।
निर्माण सुरु भएको झन्डै ११ वर्षपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको हो।
अझ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुदेखिको गणना गर्ने हो भने यो आयोजना ३६ वर्षपछि पूरा भएको छ। २०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको आयोजनाको २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए।
त्यसको करिब ११ वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको थियो।
अहिले भने आयोजनाका ६ वटै युनिटबाट विद्युत् उत्पादन भइरहेको छ। वर्षायाममा ६ वटै युनिट सञ्चालन हुँदा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाको विद्युत् २२० केभीको ४७ किलोमिटर प्रसारण लाइनमार्फत न्यु खिम्ती सबस्टेसनमा जोडिँदैछ। न्यु खिम्ती सबस्टेसनमार्फत खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै तराईका जिल्लामा र १३२ केभीबाट खिम्ती लामोसाँघु हुँदै काठमाडौंसम्म पुग्नेछ।
४ सय ५६ मेगावाटको यो आयोजना देशको ठूलो आयोजना हो। ९ सय मेगावाटको अरुण तेस्रो नआउन्जेल सबैभन्दा ठूलो आयोजनाको पद तामाकोसीले नै लिइरहन्छ। यसअघि १४४ मेगावाटको कालीगण्डकी ए रहेको छ।
माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ। जुन विद्यमान विद्युत् प्रणालीको एक तिहाइ हो। आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि वर्षात्मा भारतबाट आयत हुँदै आएको विद्युत् बन्द भई बढी भएको विद्युत् निर्यातयोग्य हुनेछ।
माथिल्लो तामाकोसी सन् १९८५ मा जापान सरकारको सहयोगमा जाइकाद्वारा कोसी जलस्रोत विकास गुरुयोजनाको अध्ययनमा (क्षमता ११३ मेगावाट) पहिचान भएको हो।
त्यसपछि सन् १९९९ मा अस्ट्रियन नागरिक डा.क्रिश्चियन उल्हर लामाबगर भ्रमण गर्न आएको बेला आकर्षक खोला देखेर रोल्वालिङ खोलाको नामबाट व्यक्तिगत लगानीमा पूर्व सम्भाव्यता अध्ययन गरे। त्यसबेला यसको क्षमता १२० मेगावाट र प्रतिकिलोवाट लागत ११ अमेरिकी डलर अनुमान थियो।
दुवै अध्ययनलाई आधार बनाएर २००१ मा नेपाल विद्युत् प्राधिकरणको आफ्नै स्रोतमा अध्ययन भयो। प्राधिकरणको अध्ययनमा २५० मेगावाट क्षमता र त्यसबाट वार्षिक १ अर्ब ५७ करोड युनिट विद्युत् हुने देखियो र उत्पादन लागत ११ सय डलर नै अनुमान थियो।
२०६० देखि २०६२ मा नर्वेजियन कम्पनी नरकन्सल्ट ए एसले गरेको विस्तृत अध्ययनबाट ३०९ मेगावाट क्षमता हुने र त्यसबाट वार्षिक १ अर्ब ७३ करोड ७० लाख युनिट विद्युत् उत्पादन हुने देखियो। त्यसैमा दोस्रो चरणमा २०६५ मा भएको विस्तृत अध्ययन गरी दुईवटा युनिट थप गर्दा ४ सय ५६ मेगावाट २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने देखियो।
यसरी धेरै चरण पार गर्दै २०११ मा अर्थात् २६ वर्षपछि आयोजना निर्माणका लागि ऋण सम्झौता भयो। यही बीचमा चरीकोट दोलखा चार किलोमिटर बाइपास र दोलखा–सिंगटी ३५ किलोमिटर सब स्तरोन्नति र सिंगटी–लामाबगर २८ किलोमिटर ट्र्याक खुलेको हो।
आर्थिक वर्ष २०६७/६८ को सुरुवातमै आयोजनाको सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसन साइटमा परिचालित भएर सडक स्तरोन्नति र आवासलगायतका पूर्वाधार तयारीमा जुटेको थियो। आयोजनाको सुरु सम्झौताअनुसार पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखे पनि ६ वर्ष थप समय लाग्यो। निर्माण अवधि ११ वर्ष जोड्दा आयोजना पूरा हुन ३६ वर्ष लागेको छ।
२०७२ सालको आम विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, कोरोना कहर, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारले विभिन्न बहानामा काममा गरेको ढिलाइजस्ता कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल्वे इन्जिनियरिङले काम गर्न ढिलाइ गरेपछि कठिन मानिएको ३ सय ७३ मिटर लामो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी त्रिपक्षीय (आयोजना, टेक्सम्याको र एन्ड्रिज) सहमतिमा इलेक्ट्रोमेकानिकल (लट ३) को अस्ट्रियन ठेकेदार कम्पनी एड्रिजलाई दिइएको थियो।
एन्ड्रिजलाई तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम दिइएपछि कामले गति लिएको थियो। ३ सय १० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको काम भने टेक्सम्याकोले नै गरेको थियो। यसरी विभिन्न समस्यासँग जुध्दै आयोजनाले अहिले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ।
लामो समयसम्म आयोजना सम्पन्न नहुँदा निरन्तर लगानी बढेर ३५ अर्ब लागत अनुमान रहेको आयोजना समाप्त हुँदासम्म ब्याजसहित ८४ अर्बभन्दा बढी पुगेको छ। तर अहिलेसम्म पनि यो आयोजना नै नेपालको सबैभन्दा सस्तो आयोजनाकै रूपमा रहेको सरोकारवालाहरूको भनाइ रहेको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको ४ सय ५६ मेगावाटको कम्पनीले अब जलाशययुक्त र एक हजार मेगावाटभन्दा ठूला आयोजना निर्माण सुरु गर्नेछ। तामाकोसी आयोजना भएकै आसपास रोल्वालिङ खोला फर्काएर २२ मेगावाटको अर्को जलविद्युत् आयोजना सुरु भइसकेको छ। १०० मेगावाटको तामाकोसी पाँचौं पनि सुरु भएको छ।
लोडसेडिङ अन्त्यमा सहयोगी
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि नेपालमा लोडसेडिङ अन्त्यको लागि यो निक्कै सहयोगी बनेको छ। उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि पिक आवरमा समेत निर्वाध रूपमा विद्युत् सुचारु गर्न यो आयोजना मुख्य बनेको सरोकारवालाहरू बताउँछन्।
सुनको अन्डा दिने कुखुरा बन्न सकेन
माथिल्लो तामाकोसी आयोजनाको निर्माण सम्पन्न भएपछि दोलखालीको लागि यो आयोजना सुनको अन्डा दिने कुखुरा सावित हुने प्रचार राजनीतिक वृत्तले गरेको थियो।
तर, समग्र नेपालको विद्युत् नियमितताको हिसाबले यो आयोजना महत्त्वपूर्ण रहे पनि दोलखालीको लागि भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै बनेको छ। स्थानीयलाई सेयर दिने कामको सुरुवात यही आयोजनाबाट भए पनि स्थानीयले सोचे जति सेयर भने पाउन सकेको देखिएन।
यो आयोजनामा दोलखालीलाई तीन वर्गमा विभाजित गरी सेयर वितरण गरिएको थियो। आयोजनास्थल रहेको लामाबगरका बासिन्दालाई करिब दुई सय कित्ता सेयर दिइएको थियो भने दोस्रो तहमा पर्ने जिल्लावासीलाई ४८ कित्ता र तेस्रो तहमा पर्ने जिल्लावासीलाई ३४ कित्ता सेयर दिइएको थियो। जबकि सञ्चयकोषमा आबद्ध सरकारी कर्मचारीहरू र सर्वसाधारणले जिल्लावासीले भन्दा निक्कै धेर सेयर पाएका छन्।