यस्तो पो राजमार्ग
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने बुटवलदेखि नारायणगढसम्मको दूरी छोटिँदै छ। १ सय १३ किलोमिटरको यस रुटको सडक अब बढीमा डेढ घण्टामै आउजाउ गर्न मिल्ने गरी निर्माणाधीन अवस्थामा छ।
हाल दुई लेनको सडक अब ६ लेनको बन्दै छ। बस्ती र बजार क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनको बन्नेछ। हाल ६ घण्टाको कष्टपूर्ण यात्रा गरेर बुटवल नारायणगढ हुँदै आउजाउ हुने गर्छ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर ओहोरदोहोर गर्नुपर्ने नागरिकको सास्ती आयोजना पूरा भएसँगै रोकिनेछ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागअन्तर्गत विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको यस आयोजना मुलुकको समृद्धिको ढोका हो।
यस सडक आयोजना निर्माण पूरा भएपछि महँगोमा उद्योग व्यवसाय सञ्चालन गर्न बाध्य उद्योगी व्यवसायीहरूलाई ठूलो राहत मिल्नेछ। विभिन्न सामग्री ढुवानीका लागि व्यवसायीहरूले सास्ती खेप्नुपर्ने बाध्यता छ। जसले गर्दा उत्पादन लागत धेरै भएर कतिपय उद्यमी, व्यवसायीहरू पलायनको डिलैमा पुग्न बाध्य छन्।
नेपालको पश्चिम क्षेत्रमा मात्रै नभएर यस आयोजनाले सिंगो मुलुकलाई नै आर्थिक समृद्धिको पाइलामा अघि बढ्न मद्दत पुग्ने यस क्षेत्रका उद्योगी व्यवसायीहरू बताउँछन्। ‘नारायणगढ बुटवल सडक स्तरोन्नतिले हामी उत्साहित छौं’, ‘बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले भने, ‘यो हाम्रा लागि ठूलो अवसर हो। व्यापार व्यवसाय अझ फस्टाउनका लागि सडक निर्माण छिटो पूरा हुनुपर्छ।’
बाटो बन्नमा केही ढिलाइ भएको बताउँदै उनले राज्य संयन्त्रलाई विशेष चासो दिएर निर्माण पूरा गर्नतर्फ उनले आग्रह गरे। मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रूपन्देही क्षेत्रमा सञ्चालित उद्योग, व्यवसायहरूले धानेको बताउँदै कसजूले बुटवल नारायणगढ सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउँदा सिंगो देशले नै फाइदा लिन सक्ने सम्भावनाहरू रहेको केलाए।
यसै सडकलाई केन्द्रमा राखेर रूपन्देही क्षेत्रमा धेरै लगानीकर्ताहरू भित्रिएको उनको भनाइ छ। सडक निर्माण छिटो नबन्दा उद्योगी व्यवसायीहरूको उत्पादन लागत बढी हुने गरेको उनले बताए।
‘एक दिन त सडक निर्माण पूरा हुन्छ नै’, उनले भने, ‘जब निर्माणको काम सकिन्छ, त्यसपछि यहाँको आर्थिक चहलपहलमा झनै वृद्धि हुन्छ। हाम्रा उद्योगी व्यवसायीहरू पलायन हुनु पर्दैन।’ कसजूका अनुसार बुटवल क्षेत्रमा मात्र साना ठूला गरी ३ हजार ५ सय बढी उद्योगी व्यवसायीहरू हाल क्रियाशील छन्।
नारायणघाट–बुटवल सडक योजनालाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम थालिएको छ। नवलपरासीको दाउन्नेदेखि नारायणगढसम्मको ६५ किलोमिटर पूर्वी खण्ड र बुटवलदेखि दाउन्नेसम्मको ४८ किलोमिटर योजनालाई पश्चिम खण्डको रूपमा विभाजन गरेर काम भएको हो।
पूर्वी खण्डको हालसम्म २० प्रतिशत वित्तीय र ३१ प्रतिशत भौतिक प्रगति भएको नारायणढ–बुटवल (पूर्वी खण्ड) सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर धीरज ढकालले जानकारी गराए।
उनका अनुसार हालसम्म यस खण्डमा १ सय ७ वटा कल्भर्ट, २२ वटा साना पक्की पुलमध्ये १४ वटा दुवैतिर निर्माण भइसकेका छन्। १२ वटा ठूला पक्की पुलमध्ये ११ वटाको फाउन्डेसन तयार भइसकेको छ।
४६ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छन्। ३३ किलोमिटर नालीमध्ये २७ किलोमिटर पूरा भइसकेको छ। ढकालका अनुसार यस खण्डमा हालसम्म चार किलोमिटर सडक एकतर्फी रूपमा मात्र कालोपत्र भइसकेको छ। सात किलोमिटर कालोपत्रको अन्तिम चरणमा छ।
२०७५ मंसिरमा सम्झौता भएको यस योजना २०७९ को भदौमा सम्पन्न गर्नुपर्ने सम्झौता छ। समयमै काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर ढकालले जानकारी दिए। एक वर्ष थपिएको म्याद पनि सकिन अब चार महिना मात्र बाँकी छ।
सम्झौता अवधि र थपिएको अवधिमा पनि नसकिएको यस योजना पुरा हुन अझै वर्षौं समय लाग्ने निश्चित देखिए पनि सडक विस्तारले समग्र क्षेत्र उत्साहित छ।
‘सडक निर्माण आयोजना क्षेत्रमा ३६ हजार रूख कटान गर्नुपर्यो’, ढकालले प्रतिक्रिया दिँदै भने, ‘यही बीचमा कोरोनाको चपेटा भयो। बिजुलीका पोलहरू स्थानान्तरण समयमै भएनन्। खानेपानी, इन्टरनेटलगायतका काम पनि सम्बन्धित कार्यालयले समयमा नगर्दा सडक निर्माणले सोचेअनुसार गति लिन सकेन्।’
उनले समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको जानकारी गराए। यस खण्डको काम पूरा गर्नका लागि भ्याटसहित ९ अर्ब १३ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना) सँग सम्झौता भएको छ। दुवै खण्डको योजनाका लागि सोही ठेकेदार कम्पनीले सम्झौता गरेको छ।
पूर्वी खण्डमा हालसम्म भौतिक प्रगति २९ दशमलव ९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत मात्र भएको आयोजनाका इन्जिनियर शिवु खत्रीले जानकारी गराए। एकतर्फी दुई लेनको साढे ५ किलोमिटर मात्र सडक पहिलो चरणमा कालोपत्र भएको उनले सुनाए।
यस खण्डमा २ सय ४७ वटा कल्भर्टमध्ये १ सय १७ वटा बनिसकेका छन्। २१ वटा साना पुलमध्ये १४ वटा, ९ वटा ठूला पक्की पुलमध्ये ३ वटा निर्माण पूरा भइसकेको खत्रीले बताए। दुवैतर्फ गरेर ३९ किलोमिटर नालीमध्ये हालसम्म २० किलोमिटर मात्र निर्माण सकिएको छ।
यस खण्डका लागि भ्याटसहित ७ अर्ब ८६ करोड ३२ लाख ५२ हजार ७ सय ६८ रुपैयाँ बजेट निर्माण कम्पनीले सम्झौता गरेको छ।
यस सडक आयोजनाले बुटवललगायत पश्चिम क्षेत्रमा रहेका होटल व्यवसायीहरू उत्साहित भएको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष एवं बुटवलका पुराना स्थापित होटल व्यवसायी माधव नेपालले प्रतिक्रिया दिए। ‘पूर्वपश्चिम राजमार्गको बुटवल मध्यभागमा पर्छ’, नेपालले भने, ‘यहाँ पछिल्ला केही वर्षमै अर्बौं लगानीका ठूला होटलहरू खुलेका छन्।
भोलिको सम्भावना देखेर व्यवसायीहरूले आज लगानी गरिरहेका छन्। जसको एउटा कारण बुटवल नारायणगढको ६ लेन सडक पनि हो।’ नेपालको अर्थतन्त्रलाई माथि उकास्नका लागि होटल र पर्यटन क्षेत्र नै भएकाले यसको प्रवर्द्धन र विस्तारका लागि भौतिक पूर्वाधार निर्माणले महत्त्वपूर्ण भूमिका खेल्ने नेपालले सुनाए।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, निर्माणाधीन अवस्थामा रहेका दुईदुई वटा केबुलकारसहित बुटवल नारायणगढ सडकलाई एकआपसमा जोडेर यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न सकिने प्रशस्त सम्भावना रहेको उनले सुनाए।
पूर्वी नेपाल र पश्चिम नेपालमा रहेका सयौँ पर्यटकीय गन्तव्यमा पुग्नका लागि पनि यस सडक आयोजनाको धेरै योगदान रहने नेपालको भनाइ छ। बुटवल हुँदै नारायणघाट सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहार गर्ने गर्छन्।