जहाँ बिहानैबाट पाइन्छ सरकारी सेवा

वैशाख १० अघि कार्यालयमा हुने सेवाग्राहीको लाइनले राधेराधेका बाटामा गाडीको जाम लाग्थ्यो। बिहानै कार्यालय खुलेपछि त्यो समस्या हटेको अनलाइन फारम भर्ने व्यवसायी मिलन श्रेष्ठले बताए।
भक्तपुर : भक्तपुरको राधेराधेस्थित सवारीचालक अनुमति पत्र कार्यालयका कर्मचारी सुमन अधिकारीलाई ७ नबज्दै कार्यालय जान हतारो हुन थाल्छ। किनभने उनी साढे ८ बजेदेखि नै कार्यालयमा गएर काम गर्छन्। कार्यालयमा दैनिक २५ सय बढी सेवाग्राहीको भिड हुन्छ। कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन वैशाख १० गतेदेखि सवारीचालक अनुमति पत्र कार्यालय भक्तपुरले बिहान साढे ८ बजेदेखि नै सेवा दिन्छन्। यसरी सेवा दिने कार्यालयमा बागमती प्रदेशमा पहिलो कार्यालय रहेको बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले बताए। यो कार्यालयले बिहानबाटै सेवा दिन थालेपछि अरु कार्यालयमाथि पनि सेवा सुचारु गर्न दबाब थपिएको उनले बताए। उनले भने, ‘सार्वजनिक बिदाका दिन पनि हामीले सेवा दिन थालेका छौं।’
सवारीचालक अनुमतिपत्र कार्यालय भक्तपुरमा ४७ जना कर्मचारी छन्। तीमध्ये ११ जना कर्मचारी रोटेसनमा बिहान साढे ८ बजे कार्यालय आएर सेवा दिन्छन्। यो व्यवस्था लागू भएपछि बिहानै सेवा लिन आइपुग्ने सेवाग्राही दंग छन् भने कर्मचारीलाई काम गर्न पनि सहज भएको छ। आइतबारदेखि बुधबारसम्म यो कार्यालयले बिहान साढे ८ बजेदेखि सेवा दिइरहेको छ। बिहीबार र शुक्रबार भने अरु सरकारी कार्यालय जस्तै बिहान १० बजे नै कार्यालयको ढोका खुल्छ। हप्तामा चार दिन बिहानैदेखि दिइने सेवाले अन्य दुई दिन पनि कार्यालय सञ्चालनमा उल्लेख्य सहयोग पुगेको राजस्व फाँटका कर्मचारी गौतम पौडेलले बताए।
काभ्रेको पनौतीका ३४ वर्षीय रामकुमार सापकोटा मोटरसाइकलको ट्रायल पास गरे। उनले लाइसेन्सका लागि कार्यालय पुगेको दश मिनेटमै राजस्व तिरेर हिँडे। पहिला यो काम गर्न घण्टौं लाम लाग्नुपर्ने बाध्यता थियो। ‘सेवा राम्रो छ। पहिला जस्तो घण्टौं लाइन लाग्नै पर्दैन। कर्मचारीले बिहानैदेखि काम गर्छन्। त्यसले सेवाग्राहीको भिड हटेको छ’, उनले भने, ‘कर्मचारीले चाह्यो भने सरकारी सुविधा राम्रो बन्न सक्छ। त्यसैको यो उदाहरण हो।’ सरकारी कार्यालयमा भएका स्रोतसाधनको भरपुर उपयोग गर्दा सरकारी सेवालाई प्रभावकारी र नतिजामूलक बनाउनसक्ने उनले सुनाए।
वैशाख १० अघि कार्यालयमा हुने सेवाग्राहीको लाइनले राधेराधेका बाटामा गाडीको जाम लाग्थ्यो। बिहानै कार्यालय खुलेपछि त्यो समस्या हटेको अनलाइन फारम भर्ने व्यवसायी मिलन श्रेष्ठले बताए।
‘पहिला–पहिला ६ बजेदेखि नै मानिसहरू कार्यालयमा लाइन बस्न आइपुग्थे। १० बजे मात्रै कार्यालय खुल्थ्यो। अनि मात्रै पालो आउँथ्यो’, उनले भने, ‘पालो आए पनि लाइनमा ठेलमठेल हुन्थ्यो। होहल्ला हुन्थ्यो। कहिलेकाहीँ त झगडा नै पथ्र्यो। अहिले साढे ८बजे कार्यालय खुल्छ। धमाधम काम गराएर सेवाग्राहीहरू घर फर्किनुहुन्छ।’
कार्यालयका प्रशासन फाँटका अधिकृत तथा सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार आइतबारदेखि बुधबारसम्म बिहानै कार्यालय खोलेर लाइसेन्सको लिखित परीक्षा, आवेदन फारम दर्ता, मेडिकल, राजस्व बुझ्ने, लाइसेन्स वितरण जस्ता कामहरू गर्ने गरिएको छ। यी सेवामा सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्छ। बिहानै सेवाग्राहीले काम गराएर फर्किएपछि दिउँसो २ बजेपछि कार्यालयमा खासै भिड हुँदैन। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकाका सेवाग्राही भक्तपुरको सवारीचालक अनुमतिपत्र कार्यालयमा सेवा लिन आउने गरेका छन्।
कार्यालयमा भिड हटेपछि कर्मचारीहरूलाई पनि काम गर्न सहज भएको कर्मचारी पवन बजगाईंले बताए। ‘पहिला ४–५ घण्टा सेवाग्राहीले लाइन बसेर सेवा लिन्थे। यसले उहाँहरूलाई मात्रै होइन हामीलाई पनि काम गर्नै समस्या हुन्थ्यो’, उनले भने, ‘भिड हटेपछि आनन्दले काम गर्न पाइन्छ। सेवाग्राही पनि खुसी भएको देखेको छु, हामीलाई पनि तनाव हुँदैन।’
कहिलेकाहीँ सर्भरमा आउने समस्याले सेवाग्राही आक्रोसित बनाउने गरेको सूचना अधिकारी शिवाकोटीले बताए। चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म सर्भर डाउन हुँदा सेवाग्राहीबाट कर्मचारीहरू नै समस्यामा परेका थिए। ‘सर्भरमा समस्या आउँदा त हामीले चाहेर पनि काम गर्न सक्दैनौं। यो कुरा सेवाग्राहीले बुझिदिनु पर्छ’, उनले भने। कार्यालयमा भिड हटेपछि बिचौलियाको फूर्तिफार्ति सेलाएको छ। सेवाग्राहीको लाइन हुँदा छिटो काम गराइदिने भन्दै बिचौलियाले उनीहरूलाई ठगेर भाग्थे। अहिले लाइनै लाग्दैन। बिचौलिया आफैं आउन छाडेको कर्मचारीहरू बताउँछन्।
एक घण्टादेखि ३ दिनसम्म लगाएर सबै प्रक्रिया पूरा गरेर सेवाग्राहीले ट्रायल पास गर्दा पनि स्मार्ट लाइसेन्स लिन एक वर्ष लाग्ने गरेको छ। यातायात विभागले तुरुन्तै लाइसेन्स प्रिन्ट गरेर कार्यालयमा नपठाउँदा समस्या हुने गरेको सूचना अधिकारी शिवाकोटीले बताए। डिजिटल युगको सुरुवात हुँदा पनि लाइसेन्ससम्बन्धी सबै प्रकारको कामका लागि सरकारले कार्यालयमै आएर दस्तुर बुझाउनुपर्ने अवस्था रहेको छ। सूचना अधिकारी शिवाकोटीले भने, ‘यातायात विभागले अनलाइनबाट कर बुझाउने सिस्टमको विकास गर्नुपर्छ। यो भयो भने कार्यालयबाट सेवा दिन अझै सजिलो छ।’ उनले थपे, ‘अहिले नक्कली परीक्षार्थीको पनि बिगबिगी छ, सरकारले ई–हाजिरीको व्यवस्था गरिदिए, त्यो समस्याबाट पनि मुक्त भइन्थ्यो।’
कार्यालयले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २० करोड ७३ लाख ७६ हजार रकम संकलन गरेको छ। गत आर्थिक वर्षमा १९ करोड ७१ लाख ८२ हजार कर संकलन गरेको थियो। सेवा व्यवस्थित भएपछि टाढाटाढाबाट सेवाग्राही कार्यालयमा आउने गरेको कर्मचारीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
