कोरला सडकले सुगम बन्दै मुस्ताङ
कुनै बेला हिमालपारिको दुर्गम थियो– मुस्ताङ। यहाँ न त सडक थियो, न त बिजुली नै। इन्टरनेट त परको कुरा भयो। भौगोलिक विकटता र विकल्प नहुँदा मुस्ताङका बासिन्दा त्यतिबेला जिल्ला छोडेर रोजगारीका लागि बेसी झर्थे। कोही विदेश पलायन हुन्थे।
जिल्लाको कुल भूगोलको एक प्रतिशत पनि खेतीयोग्य जमिन छैन। सडक नहुँदा आन्तरिक पर्यटक आउने कुरै भएन। यद्यपि विदेशी पर्यटक भने मुस्ताङ घुम्न आउँथे। तर, यतिले मात्र मुस्ताङको जीवनस्तर उकास्न पर्याप्त थिएन।
सडक, बिजुली, इन्टरनेट नहुँदा शिक्षा, स्वास्थ्य र रोजगारको ढोका सबै बन्द थिए। तर, अहिले ५० को दशकअघिको विकट हिमालपारिको मुस्ताङ रहेन, समृद्ध मुस्ताङको बाटोतर्फ अग्रसर हुन थालेको छ।
२०५९ सालमा नेपाली सेनाले म्याग्दी र मुस्ताङको सडक ट्र्याक खोलेपछि मुस्ताङी जनताले सडक आउजाउमा राहत पाउन थाले। कच्ची सडक भए पनि केही आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ दर्शन गर्न आउन थाले।
तर, मुस्ताङका गाउँगाउँमा अहिलेको जस्तो सडक पुगेको थिएन। संघीयतापछि संघ, प्रदेश र स्थानीय तहबाट धमाधम ग्रामीण सडक विस्तार गरिन थालियो। जसले गर्दा मुस्ताङका किसानले आफ्नो कृषि उत्पादनलाई बजारीकण गर्न केही सहज भयो।
भारतीय नाकाबन्दीपछि तत्कालीन सरकारले उत्तरतर्फका नाकाहरू पनि खोल्ने दीर्घकालीन लक्ष्य अनुरूप २०७४ सालमा राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना सुरु भयो। बेनी-जोमसोम ७६ किमि कालोपत्रे र जोमसोम-कोरला ग्राभेल सडकका लागि झन्डै साढे ६ अर्ब बजेट विनियोजन गरियो।
बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा सडक स्तरोन्नति कार्य सुरु भयो। राष्ट्रिय गौरवको सडक आयोजना सुरु भएको पाँच वर्ष बितिसकेको छ। यस अवधिमा जोमसोम-कोरला ग्राभेल सडकको भौतिक प्रगति ९५ प्रतिशत र बेनी-जोमसोम कालोपत्रे सडकको भौतिक प्रगति ७५ प्रतिशत छ।
यसका अलावा पछिल्लो दुई वर्ष यता तीन वटा योजना थपिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए। उनका अनुसार मालढुंगा -बेनी १३ किमि सडक स्तरोन्नति, बेनी -गलेश्वर ३ किमि कालोपत्रे सडक र जोमसोम-कागबेनी १३ किमि कालोपत्रे सडकको योजना थपिएको हो।
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरव (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुमानित लागत ७ अर्ब ५२ करोडमा ६ अर्ब बजेट खर्च भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए। १०२ किमि कालोपत्रे सडक ११० किमि ग्राभेल सडक र १५ वटा सडक पुलमा उक्त बजेट खर्च हुने जनाए। पुलतर्फ ५ वटा सम्पन्न भइसकेका छन् भने १० वटा निर्माणाधीन छन्।
हालसम्म बेनी-जोमसोम सडकमा ३० किमि कालोपत्रे भइसकेको छ । आयोजना प्रमुख प्रजापतिले बेनी-जोमसोम-कोरला सडक आयोजना २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य रहेको जनाए। यसमा मन्त्रालयले जोमसोम-कोरला सडक योजना थप गरे एक वर्ष थप समय लाग्ने उनको भनाइ छ।
पछिल्लो समय राष्ट्रिय गौरवको सडक विस्तार भएसँगै मुस्ताङी जनताको जीवन स्तरमा सुधार हुँदैछ। रोजगार, व्यवसाय र विदेश पलायन हुँने क्रममा न्यूनीकरण भइरहेको छ। सडक यातायातको पहुँच नहुँदा मुस्ताङबाट हप्तौंहप्ता पैदल यात्रा गर्दै पोखरा पुग्नु पर्थ्यो।
घोडा खच्चड र मानिसले महँगो ढुवानी शुल्क तिरेर खाद्यान्न र निर्माण सामग्री ल्याउने गरिन्थ्यो। मुस्ताङमा उत्पादित स्याउलगायत कृषि उत्पादन बिक्री गर्न समस्या पर्थ्यो। जसले गर्दा कृषकले आम्दानी लिन सक्ने अवस्था थिएन। छिटफुट विदेशी पर्यटकबाहेक आन्तरिक पर्यटकको आगमन हुने थिएन।
सामान्य स्वास्थ्य उपचार गर्न हप्तौं पैदल हिँडेर बिरामीलाई सुगमको अस्पतालमा लैजान पर्थ्यो। कर्मचारीसमेत सेवा गर्न सडककै आउन रुचाउँदैनथे। सडकले गर्दा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा निकै कठिनाइ पर्ने गर्थ्यो।
सडक सञ्जालको विकास तथा स्तरोन्नतिले मुस्ताङको आर्थिक मुहार फेरिन थालेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले उल्लेख गरे। ‘सडकको विकासले मुस्ताङमा बर्सेनि लाखौंलाख आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पर्यटनकै कारण यहाँको स्थानीय पर्यटन व्यवसायीहरू संख्यात्मक रूपमा वृद्धि हुन थालेको छ’, अध्यक्ष तुलाचनले भने, ‘विदेश पलायन भएकाहरूले पनि जिल्लामै केही गर्न सकिन्छ भन्ने ठानेर यहाँ आएर व्यवसाय गर्न थालेका छन्।
यो मुस्ताङका लागि एकदमै राम्रो पक्ष हो।’ उनले सडक यातायातले पर्यटक बढे पनि व्यावसायिक लाभ लिनका लागि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।
यसैगरी उपल्लो मुस्ताङमा सडक सञ्जाल नहुँदा केही विदेशी पर्यटक पुग्ने गरे पनि नेपाली पर्यटक नआउने गरेको लोमान्थाङस्थित हिमालयन गेस्ट हाउसका प्रोपाइटर गोम्वो गुरुङले उल्लेख गरे। उनले सडक सहज भएसँगै हिउँदयाम बाहेक दैनिक २ सयदेखि ३ सयको संख्यामा नेपाली आन्तरिक पर्यटक आउने गरेको बताए।
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज भएसँगै धार्मिक तीर्थालुको संख्या अधिक बढेको छ। सडकका कारण सबैको ध्यान मुस्ताङतर्फ मोडिएको छ। बेनीबाट जोमसोम पैदल हिँडेर दुई दिन लाग्नेमा अहिले चार घण्टामै जोमसोम आउन सकिन्छ।
यसैगरी सडक नहुँदा जोमसोमबाट लोमान्थाङ जान पैदल यात्रामा चार दिन लाग्ने गरेकोमा अहिले ५ घण्टामै लोमान्थाङ र कोरलानाकासम्म पुग्न सकिन्छ। जोमसोम-कोरला ग्राभेल सडकको ६ खण्ड सकिँदा कोरलानाकासम्मै यात्रुवाहक बस र ट्याक्सी जान सक्ने भएको छ।
सडककै कारण पर्यटकहरू प्याकेजमै सवारी रिजर्भ गरी मुस्ताङ आउने गर्छन्। पर्यटकीय विकाससँगै जिल्लाका होटल तथा रेस्टुरेन्टका अलवा ग्रामीण होमस्टेमा बस्ने पर्यटकको आकर्षण बढ्न थालेको ठिनी थकाली सामुदायिक होमस्टेकी सचिव जुमा थकालीले बताइन्।