विश्व बजारमा नेपाली स्याउ

विश्व बजारमा नेपाली स्याउ
सुन्नुहोस्

मनाङ सदरमुकाम चामेभन्दा ७ किलोमिटर टाढा २९ सय मिटरको उचाइमा छ, भ्राताङ। र त्यो गाउँभन्दा माथि आकाश छुने सपना बुनेर स्थापना भएको छ, एउटा कृषि फार्म। वरीपरी सेता हिमाल। लहराजस्ता बोटमा लटरम्म फलेका स्याउले भ्राताङ गाउँ निकै सुन्दर बनाएको छ। 

स्याउ खानमा जति स्वादिलो छ, त्यसैमा सपना देख्न कहाँ सजिलो छ र! खेती गर्न त्यत्तिकै कठिन। परम्परागत स्याउको बिरूवामा फल लाग्नै छ वर्ष लाग्छ। बोटले राम्ररी फल दिन दस वर्ष। बेच्न काठमाडौंसम्म ल्याउने चुनौती। चीन र भारतबाट ठूलो परिमाणमा आउने स्याउसँग प्रतिस्पर्धा गर्न अर्को चुनौती। 

र, पनि बजारमा आइरहको छ, हिमालयन फ्रेस ब्रान्ड। त्यही ‘हिमालयन फ्रेस’ को ब्रान्डमा कैद छ, वार्षिक एक अर्ब रुपैयाँ कारोबार गर्ने एग्रो मनाङ प्रालिको सपना!

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा करिव ४ सय ५० रोपनीमा स्याउ खेती भैरहेको छ। एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको हो। यहाँ गाला, गोल्डेन र फुजी गरी ३ थरिका स्याउ फलेको छ। स्याउ टिप्नमात्रै १ देखि डेढमहिना समय लाग्छ। यसवर्ष ४ सय ५० मेट्रिक टन बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ। 

गतवर्ष चारसय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो। स्याउबाट वार्षिक ५ करोडमाथि आम्दानी हुन्छ। पूर्वसांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट स्याउको बेर्ना ल्याएर स्याउ खेती थालेका हुन्। स्याउ फलाउने र यसको बजारीकरणमा छोराहरूले साथ दिएका छन्। 

एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत ठूला–ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ। ‘हाइडेन्सिटी’ प्रविधिबाट फलाइएको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ।

समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको ७ वर्ष भयो। स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर्स (चिस्यान केन्द्र) निर्माण गरिएको छ। उनले मनाङमा स्याउ फार्म मात्र चलाएका छैनन्, फर्ममै जोडेर होटल र कोल्डस्टोरेजसमेत निर्माण गरेका छन्। 

‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं,’ सञ्चालक युवराज गुरुङले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं, त्यसैले होटल पनि सँगसँगै चलाएका छौं।’ यहाँबाट जुस, ड्राइ एप्पल, ब्राण्डी, वाइन पनि उत्पादन हुन थालेको छ।  

काठमाडौंको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सञ्चालन गरेका गुरुङले नेपाल सरकार र एसियाली विकास बैंकबाट सहयोग पाएका थिए। उनले २ करोड २४ लाख अनुदान सहयोग पाएको बताए। उनी भन्छन्, ‘अनुदानका लागि फर्म सुरु गरेको होइन। अनुदानले प्रोत्साहन गरेको छ, तर हामी अझै लगानी बढाउँदै जानेछौं।’ 

‘अहिले पनि नेपालमा बाहिरी देशबाट १३ सय करोड रुपैयाँको स्याउ आयत हुन्छ। करोडौं रकम बाहिर गएको छ’, पूर्वसांसद पोल्देन छेपाङ गुरुङले भने, ‘हिमाली क्षेत्रहरूमा यसैगरी फर्म सञ्चालन गर्न सके आयत रोकेर निर्यात गराउन सकिन्छ।’ उनले एकै ठाउँमा यति धेरै जमिनमा सञ्चालन गरिएको फार्म साउथ एसियाकै ठूलो भएको दाबी गरे। ‘यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको हो’, एग्रो मनाङका निर्देशक गुरुङले भने, ‘ठूलो क्षेत्रमा रहेको स्याउ फार्म साउथ एसियामै ठूलो हो।’

नेदरल्यान्डसम्म पुगेर स्याउको अध्ययन गरेका गुरुङका छोरा युवराजले फार्मलाई सहयोग गरिरहेका छन्। उनले उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजनामा रहेको बताए। ‘हामीले मात्र हैन, अब अरूले पनि यस्तै स्याउ फार्म चलाउनुपर्छ। अनिमात्र उत्पादन बढाउन सकिन्छ,’ युवराजले भने, ‘हामी विश्वबजारमा स्याउ निर्यात गर्ने योजनामा छौं, त्यसका लागि तेस्रो मुलुकको बजारको अध्ययन भइरहेको छ।’ 

परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ। ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ। सत्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन पूर्वसांसद पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो। बिरुवाहरू इटाली र सर्भियाबाट ल्याइएको थियो। ‘हाम्रो ठाउँ (भ्राताङ)मा थप जग्गा पनि छैन, लगभग ७ सय ३५ रोपनीको फार्ममा ४ सय ५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ’, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङ भन्छन्, ‘अहिलेसम्म ३० करोड रुपैयाँ लगानी भएको छ, हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौं।’

उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख रुपैयाँ अनुदान दिएको थियो। प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ। बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए। फार्ममा रहेका ६२ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन्। 

केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ। ‘योपटक ४५० टन उत्पादन होला, मूल्यचाहिँ गुणस्तरअनुसार लिने हो’, व्यवस्थापन विषय पढेका ३८ वर्षीय युवराजले भने, ‘बजारको समस्या छैन। कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ।

विश्व बजारको सपना...

विश्व बजारमा निर्यातको सपना पालेका युवराजले २ हजार ८ सय ५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्रान्डिङ’ गरिरहेका छन्। मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनी बताउँछन्।

यो स्याउ फार्म एसियाकै ठूलो हो। फार्ममा प्रत्यक्ष ३०/३२ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २४/२५ जनाले पनि काम पाउने युवराजको भनाइ छ। फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ। 

गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा सुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो। युवराजको जत्रो सपना छ, त्यो मनाङको स्याउ फार्मले मात्र धान्दैन। मनाङबाहिर कम्तीमा एउटा जिल्लामा स्याउ खेती विस्तार गर्ने युवराजको योजना छ। 

त्यसका लागि जग्गा हेर्न उनी धेरैपटक मुस्ताङ, रसुवा लगायत जिल्ला पुगेका छन्। इटालीबाट ल्याएका पुड्का स्याउका बोटले उनको सपना चुल्याउँदै लगेको छ। एक अर्बको स्याउ जो बेच्नुछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.