
काठमाडौं : सप्तरी कञ्चनपुर-५ पिपराकी ५८ वर्षीया सोना देवी सरदार एक महिनादेखि काठमाडौंमा छिन्। मिटरब्याजी साहुको पीडा सहन नसकेर न्याय खोज्दै आएकाहरूसँगै उनी काठमाडौं आइन्। सँगै आए सोही ठाउँका सियावती देवी सरदार र सुनिता देवी सरदार पनि। सबैको समस्या एउटै छ- ‘घर बसे मिटरब्याजी साहु र प्रहरीको पीडा, भागेर जंगल गए हात्तीसहित वन्यजन्तुको।’
पैसा फिर्ता नदिएको भन्दै मिटरब्याजी साहुले अदालतमा मुद्दा हालेपछि पक्राउ पर्ने डरले घरमा हुँदा पनि भागेर जंगल जानुपर्ने उनीहरूको बाध्यता थियो। यसै कारण अहिले आन्दोलन गर्न काठमाडौं आएपछि उनीहरू पुनः फर्कन सकेका छैनन्। भन्छन्, ‘सरकारले मिटरब्याजीलाई कस्न कानुन त बनायो। तर, यसअघि फर्जी कागज बनाएर हामीमाथि लगाएको मुद्दा खारेज भएको छैन। घर गए प्रहरी र लघुवित्तवालाले समाउँछन्। यो समस्या खै हल भएको ?’
यसअघि मिटरब्याजी साहुले छलेर लगाएको मुद्दासमेत खारेज हुनुपर्ने उनीहरूको अडान कायमै छ। ‘यही अवस्थामा घर गए फेरि भागेर जंगल जानुको विकल्प छैन। यो कानुन त पर्याप्त भएन नि!’ उनीहरू त प्रतिनिधि उदाहरण मात्रै हुन्। यहाँका सबै महिलाको पीडा एउटै छ। गाउँमा पनि दिउँसो घर बस्न सक्दैनन्।
मिटरब्याजी र लघुवित्तको डरले जंगल बस्नुपर्छ। यसरी जिएको वर्षौं भयो। त्यही पीडा सहन नसकेर हिँडेरै न्याय खोज्दै काठमाडौं आए। सरकारले मागलाई सम्बोधन गर्न पनि खोज्यो। कानुन बनेर कार्यान्वयनमा आयो। तर, उनीहरूको माग अझै पूरा भएको छैन। घर फर्किए पुरानै दैनिकीमा जीउनुपर्ने बाध्यता छ उनीहरूको।
अनि जान्थे जंगल...
मिटरब्याजी साहुबाट लिएको ऋणलाई घुमाएर ब्याज तिर्दातिर्दै कतिको उठिबास लागेको छ। जति तिरे पनि नसकिने भएपछि साहुबाट भाग्नुको विकल्प उनीहरूसँग रहेन। कतिले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिए। तर, त्यो पनि तिर्न नसकेपछि भागी-भागी हिँड्नुपर्ने बाध्य रहेको सुनाउँछिन् पिपराकै सियावती देवी र सुनिता देवी सरदार।
एकै स्वरमा भन्छन्, ‘अब हामीले भागेर कहाँ जाने ?’ गाउँमा भागेर जंगल जाँदा हात्ती आक्रमणमा ३ जनाले ज्यान गुमाए भने खोलाले बगाएर एक जनाको निधन भयो। ‘गरिबको जाने ठाउँ नहुने रहेछ। यहाँभन्दा पीडा कति सहनु ?,’ गहभरी आँसु पार्दै सियावती देवी दुखेसो पोख्छिन्।
भागेर दिनभर जंगलमा बस्यो। जंगलबाट अबेर साँझ गाउँ फर्किंदा पनि उनीहरू घरमा बस्न पाउँदैनन्। छिमेकीको घरमा नै धेरैले रात बिताउँछन्, किनभने राति पनि साहुकै डर छ। मुद्दा हालेकाले कुनै पनि बेला प्रहरीले समाउने त्रास कायमै छ। उनीहरूको दिनको सहारा जंगल बन्दा रातको सहारा छिमेकी बनिरहेका छन्। खानेकुरा बोकेर जंगल पस्ने क्रम अझै नरोकिएको उनीहरू सुनाउँछन्।
‘खोलाको धमिलो पानी खायो। जंगलमा नै वन्यजन्तुसँग डराउँदै बस्यो। अरू त विकल्प नै छैन,’ सुनिता देवी सरदार गाउँका महिलाको पीडा सुनाउँछिन्। उनको पीडासँगै कुरा थप्छिन् सोनावती सरदार। भन्छिन्, ‘कहिलेसम्म हामी गरिब तथा निर्धाहरू मिटरब्याजी साहुको पासोमा परेर मरिरहने ? कहिलेसम्म हाम्रो उठिबास भइरहने ? हामीलाई झुक्याएर साहुले बनाएको नक्कली तमसुकले कहिलेसम्म सताइरहन्छ ? सरकारलाई म प्रश्न गर्न चाहन्छु।’
३० हजार ऋणले जंगलको बास
सोनादेवी सरदार मिटरब्याजी र लघुवित्तको दोहोर चेपुवामा परेकी छिन्। उनले तीन वर्षअघि गाउँका साहु गणेश श्रेष्ठसँग ३० हजार ऋण लिएकी थिइन्। पटक-पटक गरी १ लाख ५ हजार रुपैयाँ बुझाइन्। तर, ऋण चुक्ता भइनसकेको भन्दै साहु गोठको लैनु भैंसी तान्न आए। उनले यो समस्या सल्टाउन लघुवित्तबाट ऋण लिइन।
अब त चुक्ता भयो भन्ने पनि सोचिन्। तर, सोचे जस्तो भएन। केही दिनमा नै साहु गणेशले ७५ हजार तिर्न बाँकी नै रहेको र नतिरेको भन्दै सप्तरी अदालतमा मुद्दा हाले।
फैसला साहुकै पक्षमा आयो। सात दिनभित्र बुझाउन उनलाई अदालतले भन्यो। उनी उच्च अदालत जनकपुर पुगिन्। त्यहाँ पनि उनको पक्षमा अदालतको फैसला आएन। मुद्दामा लाग्दा थप पैसा सकियो। लघुवित्त र अदालतको फैसलापछि प्रहरीले घेर्न थाले। अनि उनको सहार बन्यो जंगल। दिनभर जंगल, राति छिमेकीको घर हुँदै अहिले काठमाडौंमा न्याय खोज्दै छिन् उनी।
यो गाउँका अधिकांश महिलाको समस्या यस्तै छ। यो क्रम विगत २ वर्षदेखि चलिरहेको सरदार बताउँछिन्। अहिले पनि यहीँ समस्याका कारण महिलाहरू घर पछाडिको ढोकाबाट निस्किएर जंगलमा लक्न पुग्छन्।
पहिला लघुवित्तहरूले गाउँमा फकाएर महिलाहरूलाई समूहमा बस्न लगाए। ऋण दिए। त्यो ऋण तिर्न नसक्दा लघुवित्तको कर्मचारीले घरमा भएको सामान नै उठाउन थाले।
कसैले लघुवित्तलाई साहुकोमा ऋण लिएर तिरे, कसैले साहुलाई लघुवित्तसँग लिएर। यो दोहोरो चेपुवामा गाउँनै परेको छ। लघुवित्तका कारण धेरै जना साहुकोमा पुगेकाले मिटरब्याजी पनि बढेर समस्या चुनिएको हो। यसकै कारण कतिको घर जग्गा उठ्यो। कतिको परिवार भाँडियो त, कतिको जंगल बास भयो। यसकै कारण विभिन्न घटना हुँदा ज्यान गुमाउने पनि बढ्दै छन्। अनि, जंगल जाने पनि।
ऋण असुल गर्न आएको दिन त कहिलेकाहीँ उनीहरू रातिको १० सम्म पनि जंगलबाट घर फर्किँदैनन्। ‘हात्तीले लखेट्न थाल्यो भने साँझ नपर्दै भाग्छौं। हर समय हात्तीसँग जंगलमा जमकाभेट हुन्छ’, जीवनको दुःख सुनाउँदै सरदार थप्छिन्, ‘वनसुगर, हरिण, हात्ती, अर्नासँग कतिपटक भेट भइसक्यो। हामी जंगलको झ्यांगमा लुकिछिपी अहिलेसम्म ज्यान जोगाइरहेका छौं। कतिपटक जनावरसँग लुकेर बाँच्यौं। त्यसको गन्ती नै छैन।’ कोही २ महिनादेखि जंगलमा लुकिरहेका छन् भने कोही त २ वर्षदेखि।
ज्यानको बाजी कहिलेसम्म लगाउने ?
सोही गाउँकी ५५ वर्षीया सियादेवी सरदारको हालत पनि उस्तै छ। उनी पनि मिटरब्याजी साहु र लघुवित्तको ऋणको फन्दामा परेकी छिन्। साहुलाई छल्न उनी पनि जंगलमा लुक्छिन्।
गाउँमा लघुवित्तको समूह गठन भयो। लघुवित्तका कर्मचारीले फकाएर समूहमा बसाए। उनले त्यहाँबाट ३० हजार मात्रै ऋण लिइन्। किस्ता तिर्न निकै कठिन भयो। सात वर्षअघि गाउँकै साहु राजु यादवसँग लघुवित्तको किस्ता तिर्न उनले ३० हजार ऋण लिइन्। ‘साहुले ६ लाख पर्ने खेत पास गरायो। मैले उसलाई १ लाख बुझाइसके। तै पनि साहुले १ लाख अझै माग्दै छन्। कहाँबाट दिउँ ?’ सिया दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउँदै आएकी थिइन्। अहिले साहुले मुद्दा हालेर प्रहरी लगाई जेल पठाउने धम्की दिएपछि घरमा उनको बस भएन।
पिपरा गाउँका अधिकांश गरिब नागरिकले दाउरा बिक्री गरेरै जीवन गुजार्छन्। कञ्चनपुर बजारमा दाउरा बिक्री गर्न उनी पनि बिहानको तीन बजे पुग्छिन्। घरबाट पाँच कोस टाढामा बजार पर्छ। वन गस्ती टोलीले दाउरा समातिदिएको दिन चुलोमा बल्दैन। भोकभोकै रात काट्न विवस हुन्छन्। यस्तो अवस्थाका उनीहरूको ऋण तिर्ने हैसियत छैन।
गरिबलाई समस्यै समस्या
‘यो जिन्दगी खै के जिन्दगी ? सधैं डर त्रासमा बाँच्ने कस्तो जिन्दगी ?’, ऋणको चेपुवामा परेकी सुनितादेवी सरदार लामो सास तान्दै जीवनलाई धिक्कार्छिन्। हजार लिएको ऋण साहुले लाखौंमा पु¥याउँछ र घर जग्गा कब्जा गर्छ। भन्छिन्, ‘गरिबलाई समस्या मात्रै छ।’ उनी यसै पीडाले साहु र प्रहरीसँग भागेर जंगल जान थालेका २ वर्ष भएको सुनाउँछिन्। ‘साहु राजु यादवसँग ७ वर्ष अघि ६० हजार ऋण लिएको थिए। १ कट्ठा जग्गा पास गरायो। उसले ८ लाखमा मेरो जग्गा बिक्री गरिसकेको छ। थप १५ लाख माग्दै छ। कहाँबाट तिरौं ? हामी गरिबमाथि त अन्याय नै भएको छ’, उनले रुँदै भनिन्, ‘मेरो जग्गामा घर बनाउन खोजे। उसले बनाउन दिएको छैन।’
उनले लघुवित्तबाट लिएको ऋणको किस्ता तिर्न राजुसँग खेत बन्धकी राखेर ऋण लिएकी थिइन्। छोरीको विवाह गर्दा ऋण थपियो। त्यही किस्ता तिर्ने चक्करमा उनी मिटरब्याजी साहुको फन्दामा परेकी हुन्। लिएको भन्दा बढी पैसा साहुले मागेपछि सुनिता समस्यामा परेकी छिन्।
‘जंगलमा हात्तीले मार्छ, कोसी तर्दा बगाउँछ’
जंगलमा लुक्न जाँदा पनि समस्यै छ। त्यहाँ दिनभरि मान्छेलाई बस्न पनि कठिन छ। ‘के गर्ने लुक्नै पर्छ। हामीसँग यसबाहेक कुनै उपाय छैन’, उनी भन्छिन्, ‘वर्षा भयो भने रूखको फेदमा लुक्छौं। स्यालाको पता ओढ्छौं। हात्तीले हाम्रा साथी पनि मारेको छ। कोसी तर्दा बगाएको पनि छ।’
पीडित सिया देवीका अनुसार पिपरा गाउँभन्दा पूर्वमा पर्छ कोसी टप्पुको मृग वन। त्यहाँ पुग्न कोसी तर्नुपर्छ। वर्षायाममा कोसीको बाढीले पनि मिटरब्याज तथा लघुवित्त पीडितको ज्यान लिने गरेको छ। वर्षात्को महिनामा झनै समस्या हुने गरेको पीडित बताउँछन्। ‘बाढी पार गर्दा एक-दुई जना पुरुष हुन्छ। हामी सबै महिला हुन्छौं। बाढीमा हाम्रो पूरा शरीर डुबेको हुन्छ। कतिले बढीको पानी पनि पिउँछन्। सर्दी, खोक्की पनि लागि हाल्छ। तै पनि हामी लुक्न जंगल जानुपर्छ,’ पीडा सुनाउँदै उनीहरू भन्छन्।
वस्तुभाउ बेचेर न्यायको लडाइँ
सोनावती, सियावती र सुनिताजस्ता पीडतहरू गोठको वस्तुभाउ र बोराको धान बिक्री गरेर न्यायको खोजीमा काठमाडौं आएको महिनादिनभन्दा बढी भयो। ‘धनमाल बिक्री गरेर बस भाडा जुटाइयो। न्याय माग्न काठमाडौं आएको छु’, पीडित सोनावती भन्छिन्, ‘हामी मर्छौं कि जिउँछौं केही ठेगान छैन।’
सियावतीले साहु र लघुवित्तका कर्मचारीको डरले जंगलमा लुक्न जाँदा दुई वर्षमा ३ जना महिलालाई हात्तीले जंगलमा मारेका सुनाइन्। गत वर्ष त एकै दिन दुई जनाको ज्यान लियो। ‘हात्ती लुकेर बसेको थियो। लखेट्दै आयो। कपाल समातेर किचेर मारिदियो’, उनले भनिन्, ‘हामी गरिब अब कहाँ बसौं ? गाउँमा साहुले जेल पठाउने धम्की दिन्छ। जंगलमा लुक्दा हात्तीले ज्यान लिन्छ।’
गरिबलाई जीवन धान्न पनि कठिन बनेको पीडित सुनिताले सुनाइन्। दाउरा लिएर आउँदा वनका कर्मचारी पक्रेर लान्छन्। दाउरा जलाइदिन्छ। उल्टै जरिवाना पनि लिन्छ।
‘न्याय नपाएसम्म घर जाँदैनौं’
पिपरावासीको छाँक जुटाउनेमध्ये कोसीटप्पुको दाउरा नै हो। दाउरा बिक्री गरेर मात्रै उनीहरूको गुजरा चल्छ। जंगल पुग्दा हात्ती, सुँगर, अर्नाले आक्रमण गर्छ। घाइते पनि बनाउँछ।
पीडितहरूलाई जाडोमा पनि जंगलमा लुक्न कठिनै हुन्छ। सोनावती भन्छिन्, ‘जंगलमा दाउराको के कमी। घुँर बालिदिन्छौं। सबै जना तापिरहेका हुन्छौं। नभएर कोही पता ओडेर पनि बस्छौं। तर, अब यसरी कति दिन जंगलमा लुकेर बसौं। त्यसैले अब हाम्रा मुद्दा खारेज नभएसम्म घर जाँदैनौं।’
प्रतिक्रिया दिनुहोस !
