संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने
कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बेलुका ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो।
बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार छलफलपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो।
यसअघि वैशाख ७ गते संवैधानिक परिषद् बैठक बसेको थियो। सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे कुनै निर्णय हुन सकेन। बैठकमा एमाले अध्यक्ष ओलीले संदीय सुनुवाइ विशेष समिति गठनपछि मात्रै प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुनुपर्ने अडान राखेका थिए।
संवैधानिक परिषद् बैठकले सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।
सर्वोच्च अदालत १ फागुन २०७८ देखि प्रधानन्यायाधीविहीन छ। कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ। तर,हालसम्म सार्वजनिक सुनुवाइ विशेष समिति गठन हुन सकेको छैन। प्रमुख दलहरूबीच समितिको भागबण्डामा नमिल्दा प्रतिनिधिसभा अन्तर्गतको संसदीय समिति गठन हुन सकेको छैन।