बन्दीपुरमै ग्रेटवाल
प्रकृति र संस्कृतिको अनुपम थलो हो, बन्दीपुर। पहाडकी रानी उपनामले चर्चित बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण केन्द्र बनेको छ। समुद्री सहतदेखि १,०३० मिटर उचाइमा अवस्थित यो ठाउँ पर्यटकीय आवागमनको दृष्टिले पनि उच्च शिखरमा छ।
सिंगो विश्वलाई लोभ्याउने हिमालको सिरानी हाली छिम्केश्वरी डाँडाको काखमा रित्तो टुँडिखेल बिछ्याएर बन्दीपुरले पाहुनाको स्वागत गरिरहेको छ। आधुनिक विकासले बन्दीपुरे मौलिकतालाई प्रभाव पारेको भए पनि इतिहासबाट पाएको मायाले बन्दीपुर मौलिकतामा धपक्क बलेको छ, बन्दीपुर। ग्रामीण पर्यटनको एक नमुना र रोमाञ्चक गन्तव्यका रूपमा यो जुर्मुराएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरलाई अझै सिँगार्न ‘मुकुन्देश्वरी पर्खाल’को अवधारणा ल्याइयो। झट्ट हेर्दा, चीनको ‘ग्रेटवाल’ जस्तो देखिने भएकाले यो पर्खाल मिनी ग्रेटवालको नामले चर्चित छ। २.६ किमि लम्बाइ रहेको मुकुन्देश्वरी पर्खालले प्रारम्भिक चरणमै बाह्य तथा आन्तरिक पर्यटकको ध्यान खिचेको छ।
निर्माणको सुरुवाती चरणमै ग्रेटवालको आकार लिएको मुकुन्दसेन पर्खालले बन्दीपुर पुग्ने जोकोहीलाई नजर लगाउने बनाएको छ। बन्दीपुर पुग्नेहरू सायदै मिनी ग्रेटवाल नपुग्ने कमै होलान्। बिदाको समयमा झन् यहाँ भीड नै लाग्ने गर्छ। पर्यटकहरूले सामूहिक वा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउँछन्।
आधा काम नहुँदै मिनी ग्रेटवालप्रति पर्यटकको आकर्षणले बन्दीपुरको पर्यटन व्यवसायमा थप टेवा पुगेको छ। स्थानीय तहको पहिलो निर्वाचनपश्चात् भएका उल्लेख्य कामहरूमध्ये पर्यटन प्रवर्द्धनका लागि भनेर ल्याइएको यो अवधारणालाई एउटा गतिलो सुरुवात मान्न सकिन्छ। यसले चौतर्फी चर्चा र वाहवाही कमाएको छ।
डाँडाकाँडा, भीरपाखा र कहीँ कतै थुम्का परेको भौगोलिक बनावट लिएर स्थापित बन्दीपुरको सुन्दरतामा यस पर्खालले सौन्दर्य भरेको देखिन्छ। मिनी ग्रेटवाल बन्दीपुर आउने पाहुनाका लागि अब अर्को प्रमुख आकर्षण गन्तव्य हो।
मिनी ग्रेटवाल बनाउन गाउँपालिकाले गुरुयोजना बनाएको थियो। निर्माण सम्पन्न गर्न कुल १९ करोड ४४ लाख १३ हजार ४ सय २० रुपैयाँ लागत अनुमान गरिएको छ। पहिलो चरणमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३ करोड ५० लाख विनियोजित भएको थियो भने गाउँपालिकाले आन्तरिक स्रोतबाट १ करोड ५० लाख लगानी गरेको प्राविधिक शाखा प्रमुख इन्जिनियर सन्तोष थापाले जानकारी दिए।
शाखा प्रमुख थापाका अनुसार योजना सम्पन्न गर्न धर्म एन्ड कश्यप जेभी कलंकी काठमाडौंसँग ३ करोड ६९ लाख ३४ हजार ५ सय ३० रुपैयाँमा सम्झौता भएको छ। दुई पक्षबीच २०७८ भदौ १२ गते सम्झौता भएको हो। सम्झौताअनुसार ठेक्का पाएको निर्माण कम्पनीले गत फागुन ३० गतेभित्र योजना सम्पन्न गर्नुपर्ने थियो।
तर, हालसम्म भौतिक प्रगति १६ प्रतिशत र आर्थिक प्रगति १३ प्रतिशत मात्र भएको इन्जिनियर थापा बताउँछन्। निर्माण कम्पनीको लापरबाहीका कारण भदौ महिनायता काम हुन नसकेको हो।
उनका अनुसार ग्रेटवालमा पैदलमार्गका लागि दुवै पर्खालमा स्थानीय बन्दीपुरे ढुंगा छाप्ने, ढुंगाकै सिँढी निर्माण गर्ने, बन्दीपुर लेखिएको गेट तयार गर्ने, घुम्न आउनेहरू बस्ने ठाउँ, क्यान्टिन, बाथरुम, पानी ट्यांकी निर्माण गरिनेछ। रातमा समेत पैदल हिँड्न मिल्ने गरी तीन सयवटा बत्ती राखिनेछ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मिनी ग्रेटवाल देशकै नौलो र नमुना योजना भएको बताए। उनले यो निर्माण सम्पन्न भइसकेपछि पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्ने दाबी गरे। ‘यो चाइनाको ग्रेटवालको झल्को दिने खालको छ। दुवैतर्फ पर्खाल छ। त्यसमा बन्दीपुरे ढुंगा छापेर सिँढीको हिसाबले अगाडि बढाउँदै लगेपछि यसले एउटा छुट्टै रौनकता थप्नेछ।’
अध्यक्ष थापाले आफ्नो पाँचवर्षे कार्यकालमा थुप्रै कामहरूमध्ये ग्रेटवालको निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। तर निर्माण कम्पनीले काममा लापरबाही गरिदिँदा ठेक्का रद्द गरी नयाँ तरिकाले अगाडि बढ्ने योजना बनाएका छन्। गएको फागुनमा सक्नुपर्ने कामको १३ प्रतिशत मात्र प्रगति भएकाले कम्पनीलाई कालोसूचीमा राख्ने बताए।
उनले बन्दीपुर बजारको डीपीआर गरेर सोहीअनुसारको प्राकृतिक खालको देखिने र पुरानो सम्पदा नमेटिने गरी सबै पार्क, धारा, चौतारा र घरहरूको संरचनालाई मौलिकतामा परिणत गर्ने उनले बताए। हाल मिनी ग्रेटवालको प्रारम्भिक चरणको काम भइरहेको छ।
पर्खालको दुवैतर्फ गारो लगाउने कामले निरन्तरता पाएको हो। कोरोना कहर र चुनावी गतिविधिले गर्दा स्थिर बनेको कार्य अहिले तीव्र गतिमा चलिरहेको छ। ग्रेटवालको काम सुरु हुँदै गर्दा बन्दीपुरका पर्यटन व्यवसायीहरूमा पनि उत्साह थपिएको छ। ग्रेटवालको अवधारणाले बन्दीपुरको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बन्दीपुर पर्यटन विकास वोर्डका अध्यक्ष बैंस गुरुङले बताए।
यता, बन्दीपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले मिनी ग्रेटवालको निर्माणलाई लिएर आफूहरू उत्साहित भएको बताइन्। उनले भनिन्, ‘हाम्रो होमस्टेमा आउनुहुने पाहुनाहरूले मिनी ग्रेटवालको विषयमा निकै चासो र जिज्ञासाहरू राख्नुहुन्छ। कहिले बन्छ, अब कस्तो बन्छ ? भनेर प्रश्न गर्नुहुन्छ।’
मिनी ग्रेटवाल समयमै सकेको खण्डमा पर्यटकको आवागमनसँगै आर्थिक कारोबार पनि बढ्ने अपेक्षा उनले लिइन्। स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएपछि पूर्णसिंह थापालाई बन्दीपुरको मौलिकतालाई बचाउने, इतिहासको उजागर गर्ने र पाहुनाको बसाइ लम्ब्याउनु पर्ने प्रमुख चुनौती थियो। अन्य विकास निर्माणका कामहरू नियमित नै थिए। तर, पर्यटनका क्षेत्रमा नयाँ केही गर्नुपर्छ भन्ने विषयले अध्यक्ष थापालाई पिरोलिरहन्थ्यो।
‘नयाँ केही गरौं भनेपछि संसारमा अहिले के चलेको छ भन्ने विषयमा अध्ययन गर्न सुरु गरेँ’, उनले भने।
चीनको ग्रेटवालको इतिहासबारे उनलाई राम्रोसँग थाहा थियो। बन्दीपुर बजारसँग जोडेर केही गर्न पाए पर्यटकको बसाइ पनि लम्बिएला भन्ने उनलाई लाग्यो। त्यसैले इतिहासलाई उजागर गर्न बन्दीपुरलाई मुकुन्दश्वरी डाँडासम्म जोड्ने निधो अनुरूप मुकुन्दसेन पर्खालको सोच आयो।
विश्वभर ग्रेटवालको चर्चा र बन्दीपुरको भौगोलिक स्वरूप पनि उस्तै किसिमको भएकाले ‘मुकुन्दसेन पर्खाल’ बनाउने अवधारणालाई जोड दिइएको उनले बताए। यो पर्खालले वि.सं. १५८१ मा बन्दीपुर आएका राजा मणिमुकन्द सेनको इतिहास उजागर गरी जीवन्त राख्ने र बन्दीपुरको पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने उनको विश्वास छ।