तामाखानीको ताप

रुकुम पूर्वको भूमे गाउँपालिका–३ को झुम्लाबाङ र ५ को सेराबाङमा दर्जनौं तामाखानीहरू छन्। झुम्लाबाङमा मात्रै १ सयभन्दा बढी तामाखानीहरू रहेको र यसको प्रयोगले देशलाई विकसित र समृद्ध बनाउन सकिने स्थानीयहरू बताउँछन्।
यस्ता खानीबाट तामाको धातु निकाल्न सुरुमा ढुंगा निकालिन्छ त्यसमा सेतो, रातो र कालोढुंगा निकालेर अनुसन्धान गरी जो ढुंगामा तामा छ त्यसैतिर खन्दै जाने गरिन्छ। धाउ भएको ढुंगा निकालेर आरनमा पगाल्ने गरिन्छ। माटोको आफरबाट मात्रै धेरै परिश्रमपछि तामाको धातु बन्ने गर्छ। यस ठाउँमा २०१५ देखि खानी खन्न बन्द भएको बताइएको छ।
तर, खानीभित्र अझै पनि तामाको धाउ रहेको दाबी गरिएको छ। पहिले जस्तो प्रसस्त तामा नपाएपछि अन्य पेसामा लाग्दा खन्ने कार्य बन्द हुँदै गएको हो। अर्को कुरा यस्तो ठाउँमा तामाको धाउ हुन्छ भन्ने पत्ता लगाउने पुराना मान्छेहरू विस्थापित भएसँगै पुस्तान्तरण नभएको पनि हो।
स्थानीय ७४ वर्षीय स्थानीय ज्येष्ठ नागरिक तिलु सुनारका अनुसार झुम्लाबाङको मात्रै अनुमानित १९७५ भन्दा अघिदेखि खानी खन्न सुरु गरिएको थियो। सदरमुकाम रहेको रुकुमकोटदेखि निकै टाढाको दूरीमा झुम्लाबाङ गाउँ रहेको छ। यस गाउँको चारैतिर तामाका खानी नै खानी छन्। गाउँका अनगन्ती कुनाकाप्चामा तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन्।
यहाँको तामाखानीलाई त्यतिबेला मुख्य रोजगार र पुँजीको स्रोत मानिन्थ्थो। पछि तामा निकाल्ने मानिसहरू विस्थापित भएसँगै तामाखानीको प्रयोग गर्न छोडिएको अर्का स्थानीय ज्येष्ठ नागरिक ६९ वर्षीय ओमबहादुर श्रेष्ठ बताउँछन्।
झुम्लाबाङ गाउँको सिरान चाल्नेता भन्ने ठाउँमा तत्कालीन बाइसे चौबीसे राजाको दरबारको अवशेष छ। उक्त राजाले नै तामाबाटै टकसार (सिक्का पैसा) काटेको इतिहास रहेको छ।
सेराबाङमा पनि उस्तै
जिल्लाको भूमे गाउँपालिका–५ को सेराबाङमा पनी आजभन्दा करिब २०५१ सालसम्म खानीको प्रयोग भएको पाइन्छ। वडाको खानिबास, हाताबाङ र बिरालनाठेलगायत ५० भन्दा बढी खानीयुक्त प्वाल / दुलाहरू छन्।
तामाखानीबाट तामाको धाउ उत्खनन् गरी जीवनयापन गर्न गाह्रो हुने भएकाले पछिल्लो पुस्ता वैदेशिक पलायन र जनयुद्धको प्रभावले पनी खानी बन्द हुने अवस्था आएको सोही वडाका अध्यक्ष टेकप्रसाद बुढामगरले जानकारी दिएका छन्। हिजोको दिनमा मानिसहरूका लागि यो मुख्य पेसा थियो।
करिब २ सय मिटरभन्दा भित्र दियालो/राको बालेर घन, छिनो लगायतका साधनहरू लगी खानीमा पस्ने र त्यसलाई पगालेर धातु बनाउनका लागि आइडिया दिने पुरानो पुस्ता नभएको बुढाले बताउँछन्। उनका अनुसार करिब २०४८/०४९ मा भारतको टाटा बिराला कम्पनीले उत्खननको सुरुवात गरेको थियो र त्यँहाका स्थानीय र तत्कालीन सरकारले रोकेको थियो। अहिले उक्त कम्पनीले यहाँको तामाखानि छ भनेर केही डकुमेन्ट्री बनाएको पाइएको छ।
तामाखानीलाई स्थानीय सरकारले संरक्षण मात्र गर्ने अधिकार भएकाले खानी उत्खनन र व्यवस्थापनका लागि संघीय सरकार अघि बढ्नुपर्ने स्थानीयवासीको माग छ।
भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै तामाखानी लगाएतका खानीहरू स्थानीय स्तरको ऐतिहासिक पहिचान गरी पर्यटनको विकास र आयमुखी स्वरोजगारमा समेत यसले सहयोग गर्ने गर्छ भने अर्कातिर स्थानीय अर्थतन्त्रको दायरामा पनी यसले फराकिलो रूप दिन्छ।
यसलाई अनुसन्धान र संरक्षण गर्नका लागि बजेट नै बिनियोजन भइसकेको अवस्थामा भूगर्भविद्हरूलाई लिएर छिट्टै अनुसन्धान गरी माथिल्लो निकायसम्म यसको उत्खनन् संरक्षण र सम्वर्द्धन गर्नमा आफूहरू लागिपरिरहेको बताएका छन्।
जिल्लाका विभिन्न ठाउँहरूमा अनुसन्धान गरेपछि तामा लगायत धेरै खानीहरू पत्ता लाग्ने अनुमान गर्न सकिन्छ। यसलाई नयाँ प्रविधिमार्फत विकास गर्दै लैजान सकेमा स्थानीय स्रोत साधन परिचालन गरी केही मात्रामा स्वरोजगारको सिर्जना गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
