भोजपुरमा पनि गाईमा लम्पी रोगको प्रकोप

भोजपुरमा पनि गाईमा लम्पी रोगको प्रकोप
सुन्नुहोस्

खेतीको सिजन सुरु भएका बेला गाईवस्तु रोगबाट ग्रसित भई थलिन थालेका छन्। संक्रमणविरुद्धको खोप पर्याप्त नहुँदा सयौं ग्रामीण बस्तीमा पशुचौपाया मर्न थालेका छन्।

भोजपुर : घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन्। बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या भएको छ।

खेतीको सिजन सुरु भएका बेला गाईवस्तु रोगबाट ग्रसित भई थलिन थालेका छन्। संक्रमणविरुद्धको खोप पर्याप्त नहुँदा सयौं ग्रामीण बस्तीमा पशुचौपाया मर्न थालेका छन्।

‘बेंसी खेतमा बाँझो जोत्ने बेला भएको छ, बालीनाली लगाउने समय छ, गोठमा जोत्ने गोरुहरू लम्पी रोगबाट थलिएका छन्, उचित उपचार छैन, यसपाली कसरी खेती उतार्ने खै?’ भोजपुर नगरपालिका ५, बोखिमका नवराज राईले भने। खेती गर्ने मुखैमा पशुचौपाया बिरामी हुन थालेपछि किसानलाई पशु चिकित्सकसँग परामर्श र उपचार गर्न भ्याइनभ्याइ छ। खेती उतार्ने गाईवस्तु नै एकपछि अर्को गर्दै मर्न लागेपछि किसानको बिजोग भएको छ। ‘गोठमा गाईवस्तुहरू बिरामी छन्, खेतीभन्दा पनि यतिबेला गाईवस्तुमा देखिएको संक्रमणले चिन्ता थपिदिएको छ, पशु डाक्टरलाई भेट्दै दिन जान्छ’, अर्का किसान कविराज राईले भने, ‘गाईवस्तु नै मरेपछि कसरी खेती उतार्नु, कसरी बालीनाली लगाउनु ?’

टेम्केमैयुङ, भोजपुर, पौवादुङमा, रामप्रसादराईलगायत पालिकाका ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको हो। हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशुचौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले बताए। 

‘यो रोगको प्रकोप गर्मी बढेसँगै विभिन्न माध्यमबाट एक पशुदेखि अर्कोमा सर्ने गरेको तथ्यांकले देखाएको छ, यसको नियन्त्रणका लागि गाउँपालिकाका प्रभावित क्षेत्रमा भ्याक्सिनेसनमा जोड दिएका छौं’, उनले भने।

रोग संक्रमणपछि पशुचौपायाको आँखामा कचेरा निक्लने, सिंगान बग्ने, बिबिरा सुन्निने, पाक्ने, फुटने, फिज धेरै निकाल्ने जस्ता लक्षण देखिने पशु चिकित्सक डा. रामकृष्ण पौडेल बताउँछन्। उनका अनुसार गोठको सरसफाइ गर्ने, संक्रमित गाईभैंसीको ढुवानी, आवातजावत र प्रत्यक्ष सम्पर्कबाट जोगाउनुपर्ने देखिन्छ। यसको रोकथामका लागि स्थानीय तहले एन्टिबायोटिक्स औषधि, घाउमा लगाइने फिनेल, चार्मिल, पोटासियम पर्मानेन्टलगायत औषधि उपलब्ध गराउन थालेका छन्।

टेम्केमैयुङ गाउँपालिकाले वडा नं ३, ५, २, १ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा भ्याक्सिन ल्याएर वितरण गरेको छ। ‘प्रकोप अत्याधिक बढेसँगै अनुदानमै भ्याक्सिन माग गरेर केहि मात्रामा वितरण गरेका छौं, पर्याप्त भ्याक्सिन ल्याउने काम भइरहेको छ, सक्दो पहल गरिरहेका छौं’, गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.