सभ्य समाजमा कहिले ?

सभ्य समाजमा कहिले ?

कुलत भनेको आफ्नो इमान बेचेर पद र प्रतिष्ठाको ख्याल नगरी तथानाम कार्य गर्दै हिँड्नु पनि हो। विभिन्न काण्ड मच्चाउनु, घोटाला र भ्रष्टाचार गर्नु त झन् ठूलो कुलत र अपराध हो।

हाम्रो समाज र राजनीतिमा बेथिति पनि कतिसम्म ?

लाग्छ, न यहाँ विधि छ, न थिति। ... भन्दा देख्नेलाई लाज। एउटा काण्डपछि अर्को। हुँदाहुँदा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा। कस्तो कायरता र कपटपूर्ण क्रियाकलाप हो यो उत्तरदायी पदमा विराजमान विद्वान् भनाउँदा नेताहरूको ? इज्जत र इमान नील भएपछि रहने भनेको आवरणको खोलमात्र हो। विश्व समुदायका अगाडि निर्वस्त्र हुनु हो। नेपालीको सान र मानलाई फोहोरको डंगुरमा लगेर मिलाउनु हो। के त्यही गर्न चुनेका हुन्छौं त नेतालाई ?

प्रश्नहरू जन्मिन्छन्। कस्तो समाजमा हुर्कियौं ? कस्तो चेतना विकसित भयो हाम्रो ? कुन ‘स्कुलिङ’बाट आयौं ? कसरी बिग्रियौं ? हाम्रो समाज त संस्कारी छ हैन र ? आफूभन्दा सानालाई माया गर्ने अनि ठूलालाई आदर गर्ने। सत्य बोल्ने। चोर, फटाहा नहुने, त्यस्ताको संगत नगर्ने। अभिभावक, मान्यजन र गुरुहरूले भनेको मान्ने। यस्तै ‘स्कुलिङ’बाट आएका होइनौं र हामी ? त्यही संस्कारमा हुर्कनुपर्ने हामी किन र कसरी फटाहा, जाली, भ्रष्टाचारी भयौं ? देश र समाजका लागि राम्रो काम गर्छु भन्दै हिँड्नेहरू नै किन यसरी कुलत ?

कुलत भनेको आफ्नो इमान बेचेर पद र प्रतिष्ठाको ख्याल नगरी तथानाम कार्य गर्दै हिँड्नु पनि हो। विभिन्न काण्ड मच्चाउनु, घोटाला र भ्रष्टाचार गर्नु त झन् ठूलो कुलत र अपराध हो। नेपालको राजनीतिमा देखिने यस्ता काण्ड कुलत झैं बारम्बार दोहोरिनु भनेको देश र जनतामाथिको द्रोह हो। नेपाली राजनीतिमा यो कस्तो कुलत बस्यो बस्यो ? एउटा गीत छ– ‘के लत बस्यो मलाई कहिल्यै सुधार हुन्न।’ हो, यस्तै किन भयो नेपालको राजनीति ? यसरी कहिल्यै सुधार नहुने लतले नेपालको राजनीतिलाई लाजनीति बनाएको छ। कुरा राजनीति र काण्डका मात्र होइन, हरेक तह र तप्काभित्र वा भनौं जुनसुकै क्षेत्रभित्र कुलत हावी छ।

अब आचरण र व्यवहार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको भलो हुने ‘बिगर पिक्चर’ कसरी देख्ने ? किनकि प्रत्यक्ष परास्त नगरी वा कुलतलाई जरैबाट उखेलिएर नफाली समाज र देशको भलो हुने देखिन्न। जताततै नातावाद र कृपावाद छ हाम्रो देशमा। माफिया र सिन्डिकेटहरूले तहसनहस पारेका छन्, समाज। यही समाज जहाँ राम्रो गर्न खोज्नेलाई पछारिन्छ। सज्जन, विद्वान् र असलहरूलाई पछार्नेहरूले खर्लप्प निलेको छ देश। गहिराइमा सबैतिर भेद छ– जाति, वर्ण, लिंग, भाषा आदि। आफ्नो स्वार्थका लागि एकले अर्कालाई प्रयोग र दुरुपयोग गर्छन् यहाँ।

बाहिरी आवरणमात्र सिँगार्ने होइन, भित्री आचरण, स्वभाव र बानीब्यहोरालाई पनि सिँगारौं।

यस्तै कुलतमा फसेको छ, समाज र देश। यस्तो संस्कारले यतिबेला राजनीति गर्नेहरू फसेका छैनन्। कुलतमा आधारित अभ्यासले देशका धेरै तह र तप्का बिग्रिएका छन्, कलंकित छन्। कुलतबाट बचेका हामी नागरिक पनि असल र इमान्दार नबन्ने हो भने देशको भविष्य के होला ? हामीले नै चुनेर जनप्रतिनिधि बनाउने व्यक्ति अब पनि सही छनोट गर्न सकेनौं भने ? के होला ? यति धेरै स्खलित भइसक्यौं कि लाग्छ, अब हामीसँग इमानदारिता र इमानको अंशसमेत बाँकी छैन। खोक्रो आदर्श र ढोंगी आवरणको न कुनै अर्थ छ, न अस्तित्व। बेइमानहरूको बिगबिगी बढिरह्यो भने वितृष्णा र बेवारिसे बन्छ समाज। जब खासगरी सत्तामा पुग्नेहरूको नियत व्यक्तिपरक लाभका लागि हुन्छ, तब त्यो नियतले व्यक्तिको हृदयमा खुसीको भ्रम त छर्छ, तर कालान्तरमा आत्मग्लानी सिवाय केही दिँदैन। अहिले आत्मरतिमा रमाउनु भनेको पछि आत्मालापमा पछुताउनु हो।

हामी बिग्रिएनौं मात्र, बिक्यौं पनि। आखिर किन ? केका लागि ? एकपटक होइन, पटकपटक। किन व्यक्तिगत लाभको पछिमात्र हिड्यौं ? हामी कहाँ चुक्यौ ? किन खोजेनौं कमजोरी ?

मपाइँत्वको महारथी गुथ्दै मृगतृष्णाको मितेरी लगाएर कतिञ्जेल अल्मलिइरहने हो अझै ? यस्ता व्यक्तिहरूले अरूलाई कस्तो शिक्षा देलान् ? युवा पुस्ताले कुन मियोको वरिपरि घुम्ने ? कुन धरातलमा टेकेर उभिने ? जे भयो भयो। विगतलाई बिर्सिंदै भविष्यको राजमार्ग कोरौं अब। जुनजुन कर्ममा छौं, सबैले एकचोटी आत्मालोचना गरौं। कम्तीमा सन्तानको भविष्य सम्झौं। कि नगरौं। गर्ने हो भने तन र मन लगाएर गरौं। धन लगाउनै पर्छ भन्ने होइन। हुनेहरूले लगाए भयो तर स्वार्थ हटाएर देऔं।

इमान्दार भएर जीवनको नाटक मञ्चन गर्न जानेनौं र त दुःख पायौं, पाइरह्यौं। गलत अभिनयकै कारण देशले अन्तर्राष्ट्रिय दृष्टिमै नराम्ररी घृणित हुन परिरहेछ। डरलाग्दो अवस्थाबाट गुज्रनुअघि नै हामीले हामी हुनुको अस्तित्व र पहिचान बचाऔं। हामी बुद्धको देशका नागरिक हौं। अझ हामी सगरमाथाको देशका मान्छे। सयौं भाषा, जाति, धर्म, वर्ण र लिंगबीचको साझा फूलबारीमा अटाएका सुसभ्य, बौद्धिक र चेतनशील प्राणी पनि। तर पनि आफैंलाई कुलतमा फसायौं भने हामीबाट जन्मिने सन्तानले कस्तो रूप लेला ? राजनीतिलगायतको क्षेत्रको अवस्था कस्तो बन्ला ? त्यसैले अब कम्तीमा मूलनीति राजनीतिलाई सभ्य र सङ्लो बनाउने कि ? जिम्मा हाम्रै हातमा छ।

विद्वान् प्राणनाथजी भन्छन्, ‘चराहरू ऐना देखेर ठुङ्न थाल्छन्। कुकुरहरू ऐना देखेर भुक्न थाल्छन् तर मानिस चैं ऐना देखेर आफ्नैलाई सिँगार्न थाल्छन् किनकि ऊ चेतनशील प्राणी हो।’ यस्तो चेतनशील प्राणी हामीले नै हो आफू अनि देश सपार्ने। बाहिरी आवरणमात्र सिँगार्ने होइन, भित्री आचरण, स्वभाव र बानीब्यहोरालाई पनि सिँगारौं। ताकि क्रमशः हरेक क्षेत्र, तह र तप्का मर्यादित बनुन्। अनिमात्र सुन्दर र सभ्य समाज सम्भव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.