संकटाविरुद्धको जितसँगै पुलिसले छोड्यो रेलिगेसन क्षेत्र
काठमाडौं : संकटा क्लबविरुद्ध शुक्रबार १–२ गोलको नतिजामा जित हासिल गरेसँगै नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको आठौं मिनेटमा मोसेस ग्याबाहले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए।
जारी सिजन खराब लयबाट गुज्रिरहेको पुलिसले धेरै समय अग्रता जोगाउन सकेन। निशान खड्काले फ्रि–किकमार्फत २३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै संकटालाई बरबरीमा फर्काएका थिए।
तर, निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा मोहम्मद आशिकले गोल गर्दै पुलिसको पक्षमा १–२ को जित सुनिश्चित गरे।
जितसँगै १७ खेलबाट १९ अंक जोडेको पुलिस लिग तालिकाको ११औं स्थानमा उक्लिएको छ। समान खेलबाट २० अंक जोडेको संकटा १०औं स्थानमा छ।