‘ऋण तिर्न असफल कहिल्यै भएनौं’
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो विकासको लक्ष्य हासिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने एवं समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका छन्। उनले देशमा लगानीयोग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय आवश्यक रहेको बताए।
लगानी बोर्ड नेपालले आयोजना गरेको नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ।’ नेपाल विश्व व्यापार संगठनको सदस्य रहेको भन्दै उनले नेपालले तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएको बताए। ‘हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ,’ उनले भने।
नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न नसकेकोमा दुःख उनले व्यक्त गरे। डा. महतले भने, ‘नेपालले इतिहासमा न त ऋण चुक्ता गर्न असफल भएको छ, न त कुनै अन्तर्राष्ट्रिय कम्पनीलाई नाफा फिर्ता गर्ने सुविधाबाट वञ्चित गरेको छ। हाम्रो ऋण तिर्ने क्षमता इतिहासदेखि नै अत्यन्तै सकारात्मक छ।’ यो सकारात्मक विषयलाई नेपालले अन्तर्राष्ट्रिय वित्तीय बजारमा उजागर गर्न आवश्यक रहेको उनले औंल्याए।
महतले सार्वजनिक ऋण र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात दिगो रहने गरी काम गर्ने बताउँदै भने, ‘सहज स्थितिमा बाह्य ऋण दायित्वले नेपाललाई कुनै तनावको स्थिति थिएन।’ मन्त्री महतले नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसांख्यकीय लाभांश भएको युवा जनसंख्या र कोभिडपछि हामीले देखेको डिजिटल परिवर्तन रहेको बताए। ‘नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसांख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ,’ उनले भने ।
यो पनि पढ्नुहोस