कोरियोग्राफीमै छ करियरको ग्राफ

कोरियोग्राफीमै छ करियरको ग्राफ

कोरियोग्राफी गरेर करियरको ग्राफ उभो लगाउने थोरैमध्येमा पर्छन्, अश्विनीकान्त झा। नेपालमा हुने फेसन सो र ब्युटी पेजेन्टमा कोरियोग्राफर खोज्दा उनकै नाम अग्रपंक्ति आउँछ। सर्लाहीमा जन्मिएर डाक्टर बन्ने सपना बोकेका उनी अहिले सोचेभन्दा फरक क्षेत्रमा जमेका छन्। मोडल बन्दै कोरियोग्राफीमा हामफालेका उनी यो क्षेत्रमा मज्जाले पौडन सके। मिसेस नेपाल इन्टरनेसनल, मिसेस नेपाल टुरिजम, मोडल अफ द इयरलगायतमा दक्ष झा नेपाललाई यो क्षेत्रका लागि उर्वरभूमि ठान्छन्। उनै झासँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी : 

कोरियोग्राफी क्षेत्रलाई कसरी लिनुभएको छ ?
मुलुकअनुसार यसमा काम गर्नेको बुझाइ पनि फरक होला। वास्तवमा भन्दा यो त कला सिकाउने कला हो। नाच्न होस् या हिँड्न सिकाउने 

क्षेत्र हो यो। मेरा लागि त भविष्य हो अनि जिउने माध्यम पनि। अझैभन्दा म खुसी हुने क्षेत्र र यो क्षेत्रमा भविष्य खोज्नेहरूका लागि एक खुड्किलो हो भन्छु करियोग्राफी।

तपाईंको सपना के थियो। अहिलेको क्षेत्रसँग मिल्छ वा फरक क्षेत्रमा जोडिनुभयो ?
 

बाल्यकालमा सबैको सपना असल मान्छे बन्ने हुन्छ। म त सर्लाहीको कबलासीको मान्छे। डाक्टर बन्ने सपना थियो। परिवारको पनि त्यही चाहना। तर, बाटो फरक बन्यो। मोडल बन्ने सोच पलायो। मोडलिङ गर्न विभिन्न फेसन सोमा भाग लियो भने सजिलो हुन्छ भन्ने थाहा पाएँ। भारतमा केही समय बस्ने क्रममा फेसन सोबारे धेरै बुझ्न पाएँ। गुरुहरूसँग तालिम लिने अवसर पाएँ। भारतमा फेसन सोको बजार ठूलो देखें। अब आफ्नै देशमा किन नगर्ने भनेर लागेको छु।

त्यो समय नेपालमा फेसन सो कत्तिको हुन्थे ? कसरी अवसर देख्नुभयो यहाँ ?

नेपालमा टेलिभिजन कम थिए। त्यसमा नागरिकको पहुँच पनि कम। सामाजिक सञ्जालको चलन थिएन। नेपाल टेलिभिजन, नेपाल वान आदि टेलिभिजन भएकाले गीतसंगीतले त कम ठाउँ पाउँथे। फेसन सोको त परको कुरा। तर, समय परिवर्तन हुँदै छ भन्ने मैले भारतमा तालिम लिइरहँदा बुझेको थिएँ। नेपालमा यस्ता काम कम भएकाले मेरो अहोभाग्य पनि भन्नुपर्छ त्यो मौकाको फाइदा उठाउन पाएँ। सुरुआतमा यहाँ फेसन सोका काम गर्न केही समस्या थियो। समाजले पचाउँदैन भनिन्थ्यो। तर, बानी हुँदै गयो।

नेपालमा हुने हरेक ब्युटी प्याजेन्टमा तपाईंलाई देखिन्छ। आश्विनीकान्त र ब्युटी प्याजेन्ट एकअर्काका पूरक जस्तै भएका हुन् ?
आयोजकले रुचाउनु भएको छ। यो मेरो सौभाग्य। प्रतियोगितामा सहभागीलाई पनि मैले दिने तालिम सायद राम्रो लाग्छ। अपडेटेड भएर अन्तर्राष्ट्रिय स्तरका विषय त्यहाँ लागू गर्छु। नयाँ दिन खोज्छु। मैले पनि बाहिर तालिम लिएर आएँ।

हरेक प्रस्तुतिलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोसिसमा हुन्छु। हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याजेन्टहरूमा उपस्थित भएर गरिएका कामलाई उत्तिकै प्राथमिकता दिन्छु। मेहनत र लगाव अनि कामको प्राथमिकताले नै हो जस्तो लाग्छ, सबैले मन पराइदिनु भएको। स्टेजमा उत्कृष्ट प्रस्तुति आउँछ। त्यसैले परिपूरक भएका होलाऔं।

पछिल्लो समय नेपालमा फेसन र ब्युटी प्याजेन्टको अवस्था कस्तो छ ?
यो क्षेत्रमा झन्डै ५० करोडभन्दा माथिको वार्षिक कारोबार छ। यो भनेको कुनै पनि क्षेत्रलाई स्थायित्व दिन पर्याप्त हो। आगामी दिनमा अझ राम्रो हुनेछ। किनकि यसकै लागि टेलिभिजन र अनलाइन टेलिभिजन खुलेका छन्। यो पनि एउटा प्रतिभा हो भन्ने बुझ्नेहरू बढेका छन्।

पछिल्लो समय बालबालिकादेखि प्रौढसम्म यसप्रति क्रेज बढ्दै छ। देशव्यापीरूपमा ठूलो स्थान पाएका छौं। गर्न भने अझै धेरै बाँकी छ। सबै निजी स्तरमा भएका छन्, सरकारले केही सोचेको छैन। बेलाबेलामा हुने विवाद र अपव्याख्याले पनि समस्या त पारेको छ नै।

ब्युटी प्याजेन्ट किन विवादरहित हुन सकेन ?
म फेसन कोरियोग्राफर र ब्युटी प्याजेन्ट ट्रेनर हुँ। यो क्षेत्रमा भएको प्रगति देश र विदेशको नियालेको छु। जुनै क्षेत्रमा पनि सकारात्मक र नकरात्मक त बराबर हुन्छ भनिन्छ नि। एउटा सिक्काको दुई पाटा हुन्छन्। मैले देखेको पाटो हेड हुन सक्छ अर्कोले देखेको टेल हुन सक्छ। त्यहाँ जित एउटाको भएको हुन्छ र हार्नेहरू धेरै हुन्छन्।

हरेकलाई केही न केही असन्तुष्टि हुन्छ। त्यो असन्तुष्टिमा जब हार्ने बेन्च सबै एक भइदिएपछि आरोप लगाउन सजिलो छ। यो वास्तविकता हो। यसको मतलब सबै प्याजेन्ट आयोजक ठीक छन् भन्न खोजेको होइन। यो विशुद्ध व्यक्तिको बौद्धिकता क्षमता जाँच्ने पाटो हो। तर, यसलाई केही व्यक्तिले व्यापार बनाउँदा यस्ता समस्या आएका छन्। हामीले प्रतियोगिता गराउने संस्था कस्तो हो त्यो बुझेर मात्रै भाग लिनुपर्छ। गलत कुराको आवाज उठाउनु पर्छ। त्यसैले सबै खराब हो भन्न मिल्दैन र सबै ठीक छ भन्न पनि सकिन्न।

यो पनि कलाको प्रतिस्पर्धा नै हो। यस्ता प्रतिस्पर्धामा आजकल भोटले निर्णय पनि लिइन्छ। यसो गरिरहँदा कलाभन्दा पैसाले छान्ने भयो नि उत्कृष्ट त हैन ? यस्तो अवस्थामा कलाको सम्मान भएको देख्नुहुन्छ ?

यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। तर, ब्युटी प्याजेन्ट र फेसन सोमा त्यस्तो हुँदैन। यहाँ उत्कृष्ट त जजले नै हो छान्ने। त्यस अघिका लोकप्रिय प्रतिस्पर्धीलगायतका केही कुरामा मात्रै भोट हुने हो। तर, जुन मैले हात हालेको क्षेत्रमा विशुद्ध कला हेरिन्छ। होला कुनै सोमा आयोजकलाई आर्थिक व्यवस्थापन गर्न यस्ता भोटिङ सिस्टम पनि राखिएको हुन्छ। तर, त्यो निश्चित ठाउँमा पुगेपछि मात्रै गर्नुपर्छ।

नेपाल आएपछि जे गर्छु भन्ने सोच्नु भएको थियो, त्यो भयो ?

सुरुमा काठमाडौं आउँदा डाक्टर बन्ने भन्ने थियो। त्यसपछि समयक्रममा कुनै बेला गायक बन्ने मोह चल्यो। यस्तै एक्टर बन्ने भूत सवार भयो। समयसँगै मोडलिङबाट कोरियोग्राफीमा आएँ। यसमा आएपछि लाग्यो, मेरो क्षेत्र यही हो। यसमा राम्रो गर्न सक्छु भन्ने लाग्यो र पूर्णरूपमा यही क्षेत्रमा होमिएँ। लाग्छ, यो क्षेत्रमा सफल भएको छु। नाम, सम्मान र प्रतिष्ठासँगै अर्थोपार्जन गरें। धेरै–थोर राज्यबाट सम्मान पनि पाएको छु। तर, गर्नुपर्ने काम अझै छन्।

एउटा कार्यक्रमको कोरियोग्राफी अर्कोमा नदोहोरियोस् भन्न के फरक गर्नुहुन्छ ?

कोरियोग्राफी गर्दा याम्प कसरी आकर्षक बनाउँ भन्ने सधैं सोचिरहेको हुन्छु। कोरियोग्राफी शैली एकै भयो भने आफैंलाई चित्त बुझ्दैन। त्यसैले आफूभन्दा सिनियरको कोरियोग्राफीबाट सिक्ने गर्छु। अचेल त इन्टरनेटको जमाना छ। विदेशमा हुने फेसन सोहरूमा के भइरहेको छ त्यो पनि हेर्छु। कार्यक्रमपिच्छे केही न केही फरक दिने कोसिसमा छु।

यस किसिमको कलालाई राज्यले कति र कसरी बुझेको छ ?

कुनै पनि कला भएका व्यक्ति राज्यका सम्पत्ति हुन्। यहाँ केही गर्न सकिएन भनेर पलायन हुने अवस्थामा पनि कलाकारिता क्षेत्रका धेरै साथी पुग्नु भयो। केही त पलायन पनि हुनु भएको छ। अहिले पनि मुलुकको राजनीतिक अवस्था तरल नै छ। कुनै पनि क्षेत्रको विकासमा सरकारले ध्यान दिएको देखिँदैन। त्यसैको चपेटामा पनि कलाकारिता क्षेत्र परेको छ।

यो क्षेत्रको कुनै पाटो एउटा मन्त्रालयसँग जोटिन्छ भने कुनै अर्कोसँग। त्यसैले एकनासको विकास र कलाकारको हौसलाका लागि सरकारले कामै गर्न सकेको छैन। गम्भीर हुन जरुरी छ। कलाले नै हो विश्वमा चिनिने। त्यसैले कलाको सम्मान र विकास गरे नेपाललाई विश्वले हेर्ने दृष्टिकोण अझै फराकिलो हुन्छ।

धेरैलाई तालिम दिनुभएको छ। यो क्षेत्रमा आएका र आउन चाहनेलाई के सुझाव छ ?

फेसन सो र ब्युटी प्याजेन्टमा काम गरिरहेका छौं। ब्युटी प्याजेन्टमा ट्रेनरले व्यक्तिलाई प्रोडक्टका रूपमा हेर्छ। त्यो व्यक्तिमा पूर्ण निखार ल्याउनु पर्‍यो। त्यो व्यक्तिको आत्मविश्वास, स्टेजको प्रस्तुति, प्रश्नको उत्तरदिने शैली, भाषा, शब्दमा काम गर्छौं।

​​​​​​​अडिसनमा आउँदा र फाइनलमा के कति फरक पर्छ, त्यही रूपान्तरणका लागि काम गर्छौ। सम्पूर्ण व्यक्तित्व विकास गर्ने लक्ष्य हुन्छ। यसैगरी, फेसन सोमा डिजाइनरको रचना या कुनै प्रोडक्टलाई मोडलमार्फत उत्कृष्ट ढंगले र्‍याम्प वा दर्शकमाझ प्रस्तुत गर्छौं। यी दुई क्षेत्रमा फरक छ। कुनै पनि क्षेत्रमा सफलताका लागि कडा परिश्रम र आफ्नो कामप्रतिको लगाव र इमानदारिता जरुरी छ। पढेर, बुझेर धैर्यका साथ आउनुभयो भने यस क्षेत्रमा भविष्य उज्ज्वल छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.