रसियाले झण्डै २० अर्बको सहयोग गर्ने प्रस्ताव पठाएको जानकारी
प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संयुक्त बैठकबारे छलफल
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र तिमिल्सिनाबीच संसद् प्रभावकारी बनाउने विषयमा छलफल भएको तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने र सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको छ।
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। त्यस अगाडि नै सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ।
रसियाले नेपाललाई झण्डै २० अर्बको सहयोग गर्ने प्रस्ताव पठाएको प्रधानमन्त्रीलाई जानकारी
यसैगरी भेटमा तिमिल्सिनाले रसियाले नेपाललाई १२ वटा क्षेत्रमा झण्डै २० अर्बको सहयोग गर्ने प्रस्ताव पठाएको प्रधानमन्त्रीलाई जानकारी दिए। पोखरा-रिडी सडक, रसियासँग सोझो हवाई सेवा सुरू गर्ने, रासायनिक मल र गहुँ आयात गर्ने, नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने, कान्ति बाल अस्पताल स्तरोन्नती लगायतका विषयमा कुराकानी भएको उल्लेख गरे। शर्माका अनुसार अघिल्लो साताको भएको भ्रमणमा छलफल भएका विषयलाई नेपाल सरकारको तर्फबाट प्रक्रिया अगाडि बढाउन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।