रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउने संभावना
काठमाडौं : रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बहस सकिएको छ। सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस आज सकिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बहस पैरवी सकिएको र आजै फैसला आउने संभावना रहेको अन्नपूर्णलाई जानकारी दिए।
न्यायाधीश आनन्दमहोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस सकिएको हो। इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ।
यसअघि सोमबार सो मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो।
सरकारले वैशाख २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई छुटाउनेगरी कानुन बनाउन केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको थियो।
मुद्दा २०७७ साल फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो। ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए।