मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
विराटनगर : कोसी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुधबार वार्षिक प्रतिवेदन बुझाएको छ।
मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन बुझाएका हुन्। आचार्यले प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम वार्षिक प्रतिवेदन बुझाएका छन्।
जनशक्ति कम हुँदा कार्यसम्पादनमा समस्या भएको बताउँदै आचार्यले कार्यालयमा सहन्यायाधिवक्तासहित २९ जनाको दरबन्दी आवश्यक रहेको उल्लेख गरेका छन्। जनशक्ति अभावको सामना गर्दै यतिको काम हुनु आफैँमा तारिफयोग्य रहेको प्रदेश प्रमुख खापुङले बताएका छन्।