विराटनगरमा चक्कु प्रहारबाट एक जना घाइते
विराटनगर : विराटनगरमा बिहीबार दिनदहाडै एक युवकमाथि चक्कु प्रहार भएको छ। विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि चक्कु प्रहार भएको हो।
रायलाई विराटनगर-१० ट्राफिक चोकनजिक दिउँसो ३:२० बजेतिर चक्कु हानिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न विराटनगर-१२ का २८ वर्षीय दीपेन्द्र कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। घटनापछि भाग्दै गरेका कामत चक्कुसहित समातिएका हुन्।
कोसी अस्पतालमा उपचार हुन नसकेपछि घाइते रायलाई थप उपचारका लागि विराट नर्सिङ होममा ल्याइएको छ। राय र कामतबीचको विवाद थाहा हुन बाँकी रहेको डीएसपी दाहालले बताए। यद्यपि, आफूमाथि छुरा प्रहार गर्ने कामतलाई यसअघि नचिनेको रायले बताएका छन्।
राय अदुवा र लसुनको होलसेल व्यापार गर्छन्। बैंकमा पैसा जम्मा गर्न आएका बेला आफूमाथि कामतले चक्कु हानेको उनले बताए। ‘म बैंकमा पुग्दा त्यहाँभित्र उनी (कामत) विवाद गर्दै रहेछन्। बैंकबाट बाहिर निस्किसकेपछि मसँग पनि विवाद गर्न थाले,’ उनले प्रहरीलाई भने, ‘त्यत्तिकैमा ममाथि चक्कु प्रहार भयो। ती व्यक्तिको मसँग चिनजान थिएन।’ उनका अनुसार अनुहार ताकेर चक्कु प्रहार गरिएको थियो।
अनुहारलाई जोगाउन छेक्ने क्रममा चक्कुले काटेर रायको देब्रे हातमा गहिरो चोट लागेको छ। प्रहरीका अनुसार देब्रे हातको हतकेला, दुईवटा औँला र नाडीमा चोट छ। अवस्था खतरामुक्त रहेको अस्पताललाई उद्रित गर्दै प्रहरीले जनाएको छ।