मोरङको चिसाङ खोलामा ठूला औजार प्रयोग गरेर अनियन्त्रित दोहन

मोरङको चिसाङ खोलामा ठूला औजार प्रयोग गरेर अनियन्त्रित दोहन
सुन्नुहोस्

विराटनगर : नदीजन्य पदार्थ (ढुंगा, बालुवा र गिट्टी)को उत्खननलाई लिएर पटक पटक विवादमा पर्दै आएका व्यवसायी भीम पौडेलले उत्तरी मोरङको चिसाङ खोलामा रजाइँ गरिरहेका छन्। 

विवादास्पद व्यवसायी पौडेलले खोलालाई आफ्नो नियन्त्रणमा लिँदै नियमविपरीत एक्साभेटर, जेसीबी लगायतका ठूला औजार प्रयोग गरेर अनियन्त्रित दोहन गरिरहेको फेला परेको हो। नदीजन्य पदार्थ उत्खनन गर्न ठूला औजार खोलाभित्र छिराउन पाइँदैन। 

राज्य संयन्त्रकै मिलेमतोमा खोला ठेक्का लिएर जथाभावी गरिरहेका उनी पटक–पटक विवादमा परिरहेका छन्। पौडेलको अगुवाइमा हुने अवैध उत्खननले मानव बस्ती, जंगल र प्राकृतिक सम्पदालाई ठूलो असर गरिरहेको विज्ञहरू बताउँछन्। उनका अनुसार भू–क्षयय तथा कटानको जोखिम पनि बढेको छ। 

चौतर्फी विरोध भइरहे पनि पौडेलको अवैध धन्दाले निरन्तरता पाइरहेको छ। स्थानीय सरकार र वनसँगको मिलेमतोमा अवैध उत्खनन तीव्र पारेका छन्। प्रचलित कानुनको धज्जी उडाएर प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन भइरहँदा पनि छानबिन र कारबाहीको कुनै प्रक्रिया अघि बढाइएको छैन। 

न त पौडेलले मच्चाइरहेको उत्पात रोक्न कुनै कदम नै चालिएको छ। यसले स्थानीय सरकारदेखि राज्यका संयन्त्रसँग उनको मिलेमतो प्रष्ट हुने सरोकारवाला बताउँछन्। 
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका उपाध्यक्षसमेत रहेका पौडेलको लेटाङ नगरपालिका–३ स्थित चिसाङ खोलामा ओम श्री क्रसर उद्योग छ। 

मापदण्ड उल्लंघन गरेर चलिरहेको क्रसरका एक्साभेटर, जेसीबी, टिपरबाट खोलामा नियमविपरीत उत्खनन गर्ने काम भइरहेको छ। अवैध उत्खननमा प्रयोग गरिएको एउटा एक्साभेटर, एउटा जेसीबी र ३ वटा टिपर लेटाङ नगरपालिकाले बिहीबार बिहान ५ बजेतिर नियन्त्रणमा लिएको छ। 

अनटेष्ट एक्साभेटर, को १ ख २५८७ नम्बरको जेसीबी र ना ७ ख ४२७२, ना ७ ख ९६३८ तथा ना ७ ख ९६३९ नम्बरका टिपर नियन्त्रणमा लिएर कारबाही गरिएको नगरपालिकाका सूचना अधिकारी भूपेन्द्र खनालले जानकारी दिए। 

उनले जिल्ला समन्वय समितिको निर्देशन अनुसार १ लाख ५० हजार रूपैयाँ जरिवाना गरेर छाडिएको बताए। एक्साभेटरलाई ४० हजार, जेसीबीलाई ३५ तथा टिपरलाई २५ हजार रूपैयाँका दरले जरिवाना गरिएको खनालको भनाइ छ। 
‘उत्खनन गर्न प्रतिबन्ध लगाइएको ठाउँमा अवैध हिसाबले दोहन गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘विशेष सूचनाका आधारमा नगर प्रहरीको टोली पुग्दा खोलाभित्र ठूला औजार प्रयोग गरी धमाधम उत्खनन गरिरहेको फेला पर्‍यो।’ 

पौडेलको अगुवाईमा खोला दोहन भइरहेको सूचना आएपछि यसअघि पनि पटक–पटक सचेत गराइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार सम्झाईबुझाई गर्दा अटेर गरेपछि अवैध उत्खननमा प्रयोग गरिएका साधन नै नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने अवस्था आएको हो। 

नगर प्रहरीको टोली पुग्दा एक्साभेटर र जेसीबीले उत्खनन गर्दै नदीजन्य पदार्थ टिपरमा धमाधम लोड गर्ने काम भइरहेको थियो। विशेष गरेर पौडेलले आफ्नो क्रसर वरपर अत्यधिक दोहन गरेको नगरपालिका स्रोतले बतायो। स्रोतका अनुसार अवैध हिसाबले उत्खनन गरेर नदीजन्य पदार्थ उनले आफ्नो क्रसरमा पुर्‍याउँदै ‘स्टक’ गर्ने गरेका छन्। 

स्थानीयका अनुसार दैनिक ठूला औजार र दर्जनौँको संख्यामा ढुवानीका साधन प्रयोग गरेर पौडेलले खोलामा जथाभावी दोहन गरिरहेका छन्। प्रत्येक दिन बिहानका राति १ देखि लगभग बिहान ६ बजेसम्म अवैध उत्खनन गर्ने गरिएको स्थानीय बताउँछन्। 

चिसाङबाट नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का पौडेलले नै पाएका थिए। नगरपालिकाका सूचना अधिकारी खनालका अनुसार ५५ हजार ४ सय ६० घनमिटर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न पाउने गरी नगरपालिकाले ठेक्का लगाएको थियो। तोकिएको परिणाम अनुसारको काम भइसकेपछि २ साताअघि नै नगरपालिकाले उत्खननमा रोक लगाएको उनले बताए। 

तर, यसअघि ठेक्का लागेकै स्थानबाट खोला दोहनमा प्रयोग गरिएका मेसिनलाई नगरपालिकाले नियन्त्रणमा लिएको हो। 

ठेक्काको समयमा पनि पौडेलले नगरपालिका एवं जनप्रतिनिधिसँग मिलेर भारी मात्रामा उत्खनन गरेको स्थानीय बताउँछन्। ‘पौडेलले क्रसरको आडमा नदीजन्य पदार्थ उत्खनन गर्दै अवैध हिसाबले ‘स्टक’ राख्ने गरेका छन्,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘न अनुगमन हुन्छ, न त छानबिन नै गरिन्छ।’ कारबाहीको त कुरै छाडौँ। 

उनका अनुसार नदीजन्य पदार्थको ‘स्टक’ प्रमाणित नगरपालिकाले नै गरिदिने हो। खोलाबाट उत्खनन गर्न दिएको र ‘स्टक’ राखिएको परिणाम सही छ कि छैन भनेर नहेरिकन नगरपालिकाले प्रमाणित गरिदिने गरेको ती कर्मचारी बताउँछन्। 

उनका अनुसार जनप्रतिनिधि र केही कर्मचारीसँग ‘सेटिङ’ मिलाएर पौडेलले अवैध काम गर्ने गरेका छन्। पौडेलसँगको मिलेमतोमा विशेष गरेर लेटाङ–३ का वडाध्यक्ष डम्बर राईको नाम मुछिएको छ। लेनदेन गरेर राईले आफ्नो वडाभित्र दोहन गर्न पौडेललाई सहयोग गरिरहेको ती कर्मचारी बताउँछन्। 

वडाध्यक्ष राईले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘खोलाको काम अहिले बन्द छ। तटबन्धनको काम भइरहेको छ,’ उनले भने, ‘हुन त म २४ घण्टा नै चौकीदार बस्न पनि सक्दिन। खोलामा कसले कतिबेला के गर्छ मलाई थाहा हुँदैन।’ राईले वडाको कामदेखि विभिन्न लडाइँ र झगडामा कुद्दामै आफ्नो समय गइरहेकाले अन्य विषय हेर्न नपाएको पनि बताए। 

जनप्रतिनिधिसँगै पौडेलको अवैध धन्दामा साथ दिनेमा नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको पनि नाम आउने गरेको छ। एक कर्मचारीका अनुसार चिसाङ खोलामा अवैध दोहन भइरहेको विषयमा घिमिरे जानकार थिए। 

तर, साँठगाँठका कारण नियन्त्रण गर्न चासो दिएनन्। पटक–पटक सूचना पुग्दा पनि नियन्त्रणमा चासो नदिने र पौडेलको सहयोगी बनेर प्रस्तुत हुने गरेको आरोप घिमिरेमाथि लाग्दै आएको थियो।   

पौडेलले खोलामा तीव्र दोहन गरिरहेको र अवैध उत्खननले प्राकृतिक विपद निम्तिने अवस्था आएको भनेर बिहीबारको नगरपालिकाको कार्यपालिकाको बैठकसमेत कुरा उठेको छ। ‘जथाभावी दोहन हुँदा नियन्त्रणका लागि किन चासो दिइएन भनेर बैठकमा कुरा उठेको छ,’ एक जनप्रतिनिधि भन्छन्, ‘अबदेखि अवैध उत्खनन रोक्न खोलामा निगरानी बढाउने र त्यसमा संलग्नलाई कारबाही गर्ने कुरा भएको छ।’ 
उनका अनुसार टेण्ड आह्वान गर्दा तोकिएको परिणाम उत्खनन भइसकेका खोलामा अबदेखि उत्खनन बन्द गराउने निर्णय पनि कार्यपालिकाको बैठकबाट भएको छ। 
मेयर भूपेन्द्र लावतीले अवैध उत्खननलाई रोक्न नगरपालिका कडा रूपमा प्रस्तुत हुने बताए। ‘खोला दोहन नियन्त्रण गर्नुपर्छ। प्राकृतिक स्रोतमाथिको दोहन नरोके अनेक विपद निम्तिन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकाले कठोर कदम चाल्छ। यस विषयमा थप अध्ययन भइरहेको छ।’ 

उनका अनुसार पौडेलले वन क्षेत्र वा खोला ठेक्का लगाएको स्थानमा अवैध उत्खनन गरेका हुन् कि नदीजन्य पर्दाको फुटकर चोरी–तस्करी गरेभन्ने बारेमा बुझ्ने काम भइरहेको छ। 

मेयर लावतीले अवैध उत्खननमा स्थानीय सरकारको मिलेमतो हुनै नसक्ने दाबी गरे। ‘पौडेलले प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन गरेको कुरा आइरहेको छ,’ उनले भने, ‘खोला ठेक्का लागेको स्थानभन्दा बाहिर त्यस्तो काम गरेको हो कि हैनभन्ने यकिन हुन बाँकी छ।’ अवैध धन्दामा संलग्नले सरकारको आँखा छलेर काम गर्ने गरेको लावती बताउँछन्। 

पौडेलले भने खोलामा ठेक्का आह्वान भएजति उत्खनन गर्न बाँकी हुँदाहुँदै रोक लगाइएको दाबी गरे। ‘चिसाङ खोलाको ठेक्का मैले नै लिएको हो। तर, उत्खनन गर्न पाउने परिणाम उठाइसकेकै छैन,’ उनले भने, ‘नगरपालिकाले एकलौटी हिसाबले बन्द गराएर हुँदैन। दुई पक्षकै प्राविधिक बसेर हेरिसकेपछि मात्रै निर्णय लिनुपर्छ।’ नगरपालिकाले नियन्त्रणमा लिएका मेसिन आफ्नो भाइ भूपेन्द्र पौडेलको भएको उनको दाबी छ। 

‘नगरपालिकाले मेसिन नियन्त्रणमा लिएको सुनेपछि मैले पनि कुरा बुझेँ। ति सबै मेसिन मेरो भाइ भूपेन्द्रको रहेछ,’ उनले भने, ‘हामी धेरै जना दाजुभाइ छौँ। अरु पनि मजस्तै ठेक्कापट्टा गर्छन।’ आफूले खोला दोहन नगरेको पौडेल बताउँछन्। ‘खोलामा अवैध उत्खनन गर्न पाइँदैन। त्यही भएकाले नगरपालिकाले जरिवाना गरेको होला,’ पौडेल भन्छन्। 

यसअघि अनुगमन गर्दा पनि पौडेलको ओम श्री क्रसरले प्राकृतिक स्रोतमाथि सबैभन्दा बढी दोहन गरिरहेको पत्ता लागेको थियो। उक्त क्रसर खोलासँगै जोडेर सञ्चालन गरिएको छ। 

मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा पनि पौडेलको महादेव मिनरल्स इन्डष्ट्रिज नामको क्रसर उद्योग छ। राज्यकै कमजोरीका कारण दुवै क्रसरले जथाभावी र मनोमानी हिसाबले उत्खनन गरिरहेको निस्कर्ष अनुगमन समितिले निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.